चन्द्रकान्त खनाल, रुपन्देही
बुटवल उपमहानगरका वासिन्दाहरुले विकासनिर्माणका कामलाई तोकिएको समयमै सक्दै टिकाउ र गुणस्तरीय बनाउन सुझाव दिएका छन् । नगरको सेवाप्रवाहलाई छिटोछरितो र प्रभावकारी बनाउन पनि नगरवासीको सुझाव छ ।
बुटवल उपमहानगरपालिकाले आफ्नो सेवा प्रवाहका बारेमा नगरवासीको सुझाव लिन आयोजना गरेको सार्वजनिक सुनुवाईमा यस्ता सुझाव आएका हुन् । उपमहानगरको परिसरमा आयोजित सो सार्वजनिक सुनुवाईमा सहभागी नगरवासीहरुले सेवाप्रवाहलाई छिटोछरितो बनाउँदै सुशासनको अनुभूति दिलाउन आग्रह गरेका हुन् ।
सार्वजनिक सुनुवाईमा उपमहानगरका १९ वटै वडाका अगुवा तथा सर्वसाधारणको सहभागिता थियो । त्यसक्रममा नगरवासीले बुटवलको खानेपानी, सडक, विद्युत र ढल–नालीलगायतका समस्यालाई दीर्घकालीन रुपमै समाधान गर्न जरुरी रहेकोमा जोड दिए । ज्येष्ठ नागरिक, महिला, एकल महिला, युवा तथा विद्यार्थी, मजदुर, उद्यमी तथा व्यवसायीहरुले विभिन्न विषयमा जिज्ञासा राखेका थिए ।
उनीहरुले जनप्रतिनिधिहरु आइसकेपछि सबैतिर उत्साह बढेपनि विकास निर्माणका काम भने अझै पनि समयमै सम्पन्न हुन नसकेको टिप्पणी गरे । केही परिवर्तनको अनुभूति हुँदै गएको तर, सेवाग्राहीको अपेक्षाअनुसारका काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको उनीहरुको गुनासो थियो ।
सहभागीहरुले वर्षात्मा धमिलो पानी आउने गरेको, केही टोलहरुमा पानी नियमित नआएको, विद्युतका पोलहरु जीर्ण रहेको, अञ्चल अस्पताल र आम्दा अस्पतालहरुमा सेवा प्रवाह कमजोर रहेको, आयुर्वेद अस्पताललाई पनि प्रभावकारी गराउन नसकिएको भन्दै ति क्षेत्रमा जवाफदेहिताको माग गरेका थिए ।
त्यस्तै, तिनाउ र दानव नदीको कटान रोक्न, सुखौरा खोलाको अतिक्रमण रोक्न, सरसफाईका काममा समुदायलाई पनि सामेल गराउन उनीहरुले सुझाव दिए । कार्यक्रममा सहभागीहरुले बुटवलको ई–रिक्सालाई व्यवस्थित बनाउन पनि सुझाव आयो । उनीहरुले आवश्यकता भन्दा धेरै ई–रिक्सा सञ्चालन हुँदा सहर अस्तव्यस्त बनेको र दुर्घटनाको जोखिम बढाएको भन्दै तत्काल व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
समृद्ध बुटवलका लागि योगदान गर्नुस् : प्रमुख
सार्वजनिक सुनुवाईमा उपमहानगरका प्रमुख शिवराज सुवेदीले ऐतिहासिक बुटवललाई समृद्ध नगरका रुपमा विकास गर्नेगरी आफुहरुले आवधिक र दीर्घकालिन महत्वका योजना बनाएको भन्दै समृद्धिको काममा योगदान गर्न नगरबासीलाई आग्रह गरे ।
नागरिकहरुको सहयोग, सहभागिता र सहकार्यमा मात्रै समृद्धिको संकल्प पूरा हुने भन्दै प्रमुख सुवेदीले जवाफदेही सरकार र कर्तव्यमुखी नगरबासीको समयन्यमा मात्र सम्भव हुने वताए । यो अवधिलाई अध्यय्न वर्षका रुपमा लिइएको र अब त्यसकै आधारमा सीप प्रदर्शन गर्नेगरी काम सुरु हुने प्रमुख सुवेदीको भनाइ थियो ।
बुटवलले २६ वटा कानुन बनाएर राजपत्रमा प्रकाशित गरेको छ भने ६ वटा कार्यविधि बनाएर काम अगाडि बढाइसकेको जानकारी दिंदै उपप्रमुख गोमादेवी आचार्यले अब बाँकी ६ वटा कार्यविधि र केही निर्देशिका बनाउने तयारीमा उपमहानगर रहेको बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीले उपमहानगरको सेवा प्रवाहलाई सुशासनयुक्त बनाइएको भन्दै कतिपय गुनासाहरुको पनि अब चाँडै सम्बोधन हुने जानकारी दिए । कर तिर्ने बानी बसाल्न र कर तिरेपछि समृद्धिमा योगदान हुन्छ भन्ने कुरा नभुल्न पनि उनले नगरबासीहरुमा आग्रह गरे ।
सो अवसरमा सेवाग्राहीका जिज्ञासाको जवाफ दिंदै लुम्बिनी अञ्चल अस्पतालका मेसु डा. कृष्ण खनाल, आम्दा अस्पतालका निर्देशक विनोद पराजुली, सडक विभागका प्रतिनिधि इन्जिनियर रामपुकार जयसवाल, टेलिकमका विजेश शर्मा तथा इलाका प्रहरी कार्यालयका बसन्त पाण्डेलगायतले सुशासनको अनुभूति दिलाउने गरी आफुहरुले काम गरिरहेको बताए । सार्वजनिक सुनुवाईको सहजिकरण पत्रकार खिमानन्द भट्टराई र विक्रम खड्काले गरेका थिए ।
प्रतिक्रिया