चीनका राष्ट्रपति सी जिनपिङले ‘उपयुक्त समय’मा नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँगको कुराकानीका अवसरमा राष्ट्रपति सीले नेपाल भ्रमण गर्न सक्ने संकेत दिएका हुन् ।
छिमेकी राष्ट्र चीनको ६ दिवसीय औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज भएको चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शिष्टाचार भेटवार्ताका क्रममा नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट चिनियाँ राष्ट्रपतिलाई पठाइएको निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए । त्यसैको प्रत्युत्तरमा राष्ट्रपति सीले उपयुक्त समय मिलाएर नेपाल भ्रमण गर्न सक्ने अभिव्यक्ति दिएका हुन् ।
बेइजिङस्थित ग्रेट हल अफ पिपलमा राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आधा घण्टा छुट्टाछुट्टै भेटवार्ता भएको र नेपाली प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताचाहिँ ४५ मिनेट जति भएको बुझिएको छ । सो अवसरमा चिनियाँ राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता, अखण्डतालाई सम्मान गर्दै सबै प्रकारको सहयोग उपलब्ध गराउने बताएका थिए ।
प्रतिक्रिया