राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले नेपाली सेनाको जंगी अड्डा पुग्नुभई समसामयिक विषय तथा नेपाली सेनाको गतिविधिसम्बन्धी जानकारी लिनुभएको छ ।
राष्ट्रपतिको जंगीअड्डा आगमनका अवसरमा आयोजित विशेष कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेनाको सवलीकरण, सुदृढिकरण र सांगठनिक विकास तथा पारम्परिक मर्यादा अक्षुण्ण राख्नको लागि नेपाल सरकारबाट प्राप्त सहयोग तथा भूमिका महत्वपूर्ण रही आएको तथा नेपाली सेनाले सदैव राष्ट्रिय स्वार्थहरुलाई सर्वोपरि राखी कार्य गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रमको दौरान सम्बन्धित विभागका रथी तथा अधिृकतहरूले वर्तमान वस्तुस्थितिको जानकारी गराउनुका साथै नेपाली सेनाको जिम्मेवारी, संगठन तथा नीति नियम, अपरेशनल गतिविधि र कल्याणकारी कार्यसम्बन्धी प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियोे ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएअनुसार उक्त प्रस्तुतिकरणपश्चात आफ्नो मन्तव्य दिने क्रममा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको तथा विशिष्ट चरित्र भएको नेपाली सेनालाई आवश्यक सहयोग गर्न रक्षा मन्त्रालय तथा नेपाल सरकार सदैव सकारात्मक रहेको बताउनुभएको थियो ।
कार्यक्रमको अन्त्यमा राष्ट्रपति भण्डारीले प्रस्तुतिकरणको लागि धन्यवाद दिनुहुँदै नेपाली सेनाले हालसम्म निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले नेपाली सेनालाई उच्च मनोबल तथा हौसलाका साथ नेपाल सरकारले प्रदान गरेको जिम्मेवारीहरुलाई सदाझैँ सम्पन्न गर्न निर्देशन दिनुभएको बताएको छ ।
प्रतिक्रिया