हेमशंकर सिंह
राजविराज । ६ महिनाको अवधिमा सप्तरीमा २४ वटा बलात्कारको घटना भएको इन्सेक सप्तरीले जनाएको छ । सो संस्थाले राजविराजमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार २०७४ पुस १७ देखि २०७५ असार ७ गतेसम्मको अवधिमा २४ बलात्कार र ६ बलात्कार प्रयासको घटना भएको पाइएको छ ।
‘नेपाल मानवअधिकार वर्ष पुस्तक पूर्व समीक्षा गोष्ठी र जिल्लाको मानवअधिकारको अवस्था’ विषयक कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहर पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनमा बालिका बलात्कारका २१ र महिला बलात्कारका तीन गरी २४ वटा घटना भएको उल्लेख छ । बालिका बलात्कारका घटनामा दुई र तीन वर्षीया समेत गरी २२ बालिका पीडित भएका छन् ।
आरोपितमा १२–१३ वर्षका पाँच बालकदेखि ६५ वर्षीया वृद्धासमेत गरेर २८ जना रहेको प्रतिवेदनमा उल्लेख छ । आरापितमध्ये ११ जना थुनामा र चार जनालाई वारेण्ट जारी भएको छ । तीन जना पक्राउ परेका छन् भने ५ जना अझै फरार छन् ।
बलात्कारको आरोप लागेका दुई बालक संरक्षकको जिम्मामा, एक बालक बालसुधार गृहमा र एक बालकको कैद स्थगन गरिएको छ । एक बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा उनका दाजुलाई पूर्पक्षका लागि थुनामा राखिएको छ ।
यसैगरी, महिला बलात्कारका तीन र महिलामाथि यौन दुव्र्यवहारका तीन घटनामा ६ महिला पीडित छन् । बलात्कारआरोपित चारजना थुनामा र यौन दुव्र्यवहारका तीन घटनाका पाँच आरोपितमध्ये एक धरौटीमा र चारजना फरार छन् ।
यसबीचमा मानवअधिकार हनन, उल्लंघन तथा ज्यादतीका अन्य घटना पनि उल्लेख्य रुपमा वृद्धि भएको पाइएको छ । एक महिलाको लाश फेला परे पनि आरोपित फेला परेका छैनन् । आफ्नै परिवारका सदस्यद्वारा दुई पुरुषको हत्या भएको छ । हत्या आरोपित एकजना थुनामा र दोस्रो घटनाका दुई आरोपित पक्राउ परेका छन् ।
बालविवाह र बहुविवाहका आरोपित एक भारतीय नागरिक पनि थुनामा रहेको इन्सेकले जनाएको छ । बहुविवाहका दुई घटनामध्ये एकमा दुई जना धरौटीमा रिहा भएका छन अर्को घटनाका फरार आरोपित दुई जना विरुद्ध अदालतले म्यादी पुर्जी जारी गरेको छ । गर्भपतनका एक आरोपित धरौटी राखेर तारेखमा रिहा भएका छन् ।
प्रतिवेदनअनुसार विद्यालय तोडफोड गरेको आरोपमा एक जना र शिक्षक कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका दुवै धरौटीमा रिहा भएका छन् । त्यस्तै, घरेलु हिंसाका १६ मध्ये ६ घटनामा सहमति भएको इन्सेकले जनाएको छ । कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले हिंसाका घटना न्यूनीकरणका लागि नागरिक समाज र राजनीतिक दल बढी जिम्मेवार हुनुपर्ने बताए ।
‘प्रहरी-प्रशासन जिम्मेवार छ, राम्रो वातावरण निर्माका लागि नागरिक समाज र राजनीतिक दल बढी जिम्मेवार हुनुप¥यो’ भन्दै उनले साधन, स्रोत, प्रविधि, परिक्षणका अभावमा थोरै कमजोरी हुने गरेको स्वीकार गरे । शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न स्रोत, साधन र जनशक्तिले भ्याएसम्म दोषी उम्किन नपाउने उनले बताए ।
इन्सेक सदस्य एवं प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाको अध्यक्षता भएको कार्यक्रममा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य चितनारायण यादव, प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, सशस्त्र प्रहरी उपरीक्षक खेमबहादुर थापा, स्रेस्तेदार दिलकुमार बर्देवा, प्रमुख महिला विकास अधिकृत चन्द्रकला श्रेष्ठ, जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद सापकोटा, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, जिल्ला बार एशोसिएसनका अध्यक्ष रामप्रसाद चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धिरेन्द्रप्रसाद साह, एकल महिला समूहकी अध्यक्ष अनीता देवकोटालगायत सञ्चारकर्मी एवं अधिकारकर्मीहरुले सुझाव दिएका थिए ।
प्रतिक्रिया