धर्मराएको साझालाई दर्बिलो तुल्याएको डोलिन्द्रको दाबी

धर्मराएको साझालाई दर्बिलो तुल्याएको डोलिन्द्रको दाबी


साझा प्रकाशनले राष्ट्रिय सहकारी बैंकलाई तिर्नुपर्ने सवा पाँच करोडभन्दा ज्यादा ऋण चुक्ता गरेको छ । वर्षौंदेखि ऋणको बोझले थिचिँदै आएको साझाले साँवा तथा ब्याज गरी पाँच करोड ३० लाख १९ हजार २१६ भुक्तानी गरेपछि साझाको पुल्चोकस्थित भौतिक सम्पत्ति लिलामी हुनबाट जोगिएको अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए ।

सो रकम अर्थमन्त्रालयको सहयोगमा भुक्तानी गरिएको खुलासा गर्दै उनले तत्कालीन व्यवस्थापकले २०६९ फागुनमा प्रकाशनको केन्द्रीय कार्यालय रहेको जग्गा धितोमा राखी राष्ट्रिय सहकारी बैंकबाट एक वर्षको भाखा लिई चार करोड ६० लाख कर्जा लिएको तर तत्कालिन आन्तरिक अव्यवस्थाका कारण ऋण बढ्दै गएको तर्क गरे ।

संस्थाको आर्थिक असन्तुलनका कारण उक्त कर्जा तोकिएको समयावधिभित्र साँवा र ब्याज भुक्तानी गर्न नसक्दा बैंकबाट धितो लिलामी गरी कर्जा असुली गर्न पटक–पटक सूचना प्रकाशित गरिएको उनले जनाए । शर्माका अनुसार साझा प्रकाशनद्वारा बैंकको ब्याजबापत मात्र दुई करोडभन्दा बढी रकम यसअघि नै भुक्तानी गरिसकिएको थियो ।

लामो समयदेखि जेलिएको आर्थिक दायित्व तथा समस्यालाई क्रमिक रूपमा व्यवस्थापन गर्दै संस्थालाई समृद्ध र सबैको साझा चौतारीका रूपमा अगाडि बढाउन विभिन्न २६ बुँदे साझा प्रकाशन सुधार कार्ययोजना कार्यान्वयन भइरहेको भन्दै अध्यक्ष एवम् महाप्रबन्धक शर्माले आफ्नो कार्यकालमा साझाले निकै फड्को मारेको दाबी गरे ।