मनकामना दर्शन गर्न गएका युवाको डुबेर मृत्यु

मनकामना दर्शन गर्न गएका युवाको डुबेर मृत्यु


मनकामना दर्शनका लागि पुगेका एक व्यक्तिको कुरिनटार (चितवन)स्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मृत्यु भएको छ । होटलमा पौडी खेल्ने क्रममा डुबेर काठमाडौं तारकेश्वर नगरपालिका–११ नेपालटारका २६ वर्षीय रामबहादुर बस्नेतको मृत्यु भएको हो ।

चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार गएराति करीब ९ बजे नुहाउने क्रममा पानीमा डुबेर बेहोस भएका उनको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा करीब ११ बजे मृत्यु भएको हो ।

बस्नेत परिवारसहित मनकामना दर्शनका लागि पुगेका र उनीहरु साँझ होटलमा बसेर पौडी खेल्न थालेका थिए । उनीहरुको आज बिहान मनकामना दर्शन गर्ने योजना रहेको परिवारलाई उद्धृत गर्दै आचार्यले जानकारी दिएका छन् ।

उता, स्याङ्जामा एक महिलाको हत्या गरी फरार रहेका एकजनालाई शुक्रबार पूर्वी नवलपरासीबाट प्रहरीले पक्राउ गरेको छ । गत जेठ २६ गते एक महिलाको हत्या गरी फरार रहेका स्याङ्जा पुतलीबजार नपा वडा नं २ चिरुवा बस्ने ४६ वर्षीय राजु भन्ने टेकबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।

स्याङ्जा पुतलीबजार नपा वडा नं २ चिरुवा बस्ने ५५ वर्षीया माइली भन्ने दिलमाया विकलाई हत्या गरी फरार रहेका विकलाई लुकीछिपी बसिरहेको अवस्थामा विशेष सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको बताइएको छ ।