लगानीयोग्य रकमको अभाव नभए असोज मसान्तदेखि ब्याजदर घट्ने

लगानीयोग्य रकमको अभाव नभए असोज मसान्तदेखि ब्याजदर घट्ने


नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवि नेपालले पहिलो त्रैमाससम्ममा ब्याजदर घट्ने बताएका छन् । उद्यमी व्यवसायीदेखि सर्बसाधारणसम्म ब्याजदरको विषय पेचिलो बन्दै गएको भन्दै गभर्नर नेपालले धर्य गर्न आग्रह गरेका हुन् ।

नेपाल उद्योग बाणिज्य महासंघ र आर्थिक पत्रकार समाज (सेजन) ले शुरु गरेको ‘इको टक’ कार्यक्रममा बोल्दै गभर्नर नेपालले ब्याजदर घटाएर देखाउने बताएका छन् । व्याजदरसम्बन्धी लामो समयदेखिको प्रतिक्षाको घडी सकिन लागेको भन्दै उहाँले असोजदेखि ब्याजदर घटाउने तयारी भएको जानकारी दिदै गभर्नर नेपालले सरकारले लिएको आर्थिक बृद्धिदरलाई लक्ष्यमा पु¥याउनको लागि बैंकहरुले सहयोग गर्नुपर्नेमा जोड दिदै चालु आर्थिक बर्षमा ८ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्नेमा जोड दिए ।

गभर्नर नेपालले मुलुक कृषिजन्य बस्तुहरुमा परनिर्भर भएकोप्रति चिन्ता ब्यक्त गर्दैै बैंक तथा बित्तिय संस्थाहरुलाई लगानी बढाउन समेत अनुरोध गरे । उनले गतबर्ष २८ अर्ब ९१ करोडको धान आयत, ११ अर्ब ४ करोडको तरकारी, ५ अर्ब ३७ करोडको फलफूल र १५ अर्बको काँचो भटमास आयात भएको जानकारी दिदैं उनले बाह्य मुलुकसँगको ब्यापार घाटा बढ्दो अवस्थामा रहेको दावी गरे ।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकहरुमा लगानीयोग्य रकमको अभाव नभए असोज मसान्तदेखि ब्याजदर घट्ने दावी गरेका छन् । उनले बैंकहरुले कमाउँदा पनि ब्याजदर नघटाएको विषय निराधार भएको भन्दै हल्लाको पछाडि नलाग्न व्यवसायीहरुलाई अनुरोध गरे । महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा उद्योगी तथा व्यवसायीले लिने कर्जाको ब्याजदरको भार कम हुन नसकेको भन्दै कर्जाको ब्याजदरले स्थिरता नपाउँदा व्यवसाय नै धरापमा परेको स्थिति रहेको बताइन् । उनले ब्याजदरकै कारण व्यापारमा कठिनाइ भएको भन्दै व्यवसायका लागि बैङ्कहरूले ब्याजदरमा स्थायित्व कायम गर्नेपर्नेमा जोड दिइन् । यस्तै, महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले उद्योग र बैङ्क एक आपसविना बाँच्न नसक्ने भन्दै कर्जाको ब्याजदरलाई घटाउन जरुरी रहेको बताए । उनले उद्योगले ५० करोडभन्दा बढी कर्जा लिँदा क्रेडिट रेटिङ गर्नुपर्ने प्रावधानले थप खर्च बढेको उनको भनाई थियो । एकै त्रैमासमा ४ पटकसम्म पनि ब्याजदर बढाएर बैंकहरुले समस्यामा पारेको उनको आरोप थियो ।

महासंघ र सेजनले हरेक १५-१५ दिनमा मुलुकको समसामयिक आर्थिक अवस्थाकोबारे जानकारी दिने उद्धेश्यले ‘इको टक’ कार्यक्रमको शुरुवात गरेको हो ।