भारत र नेपाल सरकारबीच रक्सौल–काठमाडौं जोड्ने रेल सञ्जालमाथि तयार पारिएको प्रारम्भिक इञ्जिनियरिङ एवं ट्राफिक सर्वेक्षणको ‘ब्रोड गेज लाइन’सम्बन्धी समझदारी पत्र आदानप्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज सो समझदारी पत्र आदानप्रदान गरेका हुन् ।
गत ०७४ चैत्र २४ मा दुई सरकारले भारत सरकारको सहयोगमार्फत नेपालमा रेल सञ्जाल विस्तार गर्दै रक्सौल र काठमाडौंलाई विद्युतीय रेलमार्गमार्फत जोड्ने समझदारीका साथ संयुक्त वक्तव्य जारी गरेका थिए । सोबमोजिम पहिलो चरणमा नेपाल सरकारको परामर्शमा भारत सरकारले एक वर्षभित्र तयारीमूलक सर्वेक्षणको कार्य सञ्चालन गर्ने सहमति भएको छ । तत्पश्चात दुवै पक्षले विस्तृत परियोजना प्रतिवेदनमा आधारित भई कार्यान्वयन तथा लगानीको मोडालिटीलाई अन्तिम रुप दिने समझदारीपत्रमा उल्लेख छ ।
भारतको कोंकण रेल्वे कर्पोरेसन लिमिटेडलाई नेपाल सरकारको परामर्शमा नयाँ रेलमार्गको प्रारम्भिक इञ्जिनियरिङ एवं ट्राफिक सर्वेक्षण गर्ने कार्यको जिम्मेवारी प्रदान गरिएको पनि बताइएको छ । रक्सौल–काठमाडौ रेलमार्गले दुवै देशका जनताबीचको सम्बन्ध र आर्थिक वृद्धि एवं विकासलाई प्रवर्धन गर्दै दुई देशको सम्बन्धलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया