आफूलाई क्रान्तिकारी र अग्रगामी मात्र होइन सारा परिवर्तनको बाहक आफू नै भएको र सारा नेपाली आफ्नै पक्षमा रहेको तथा यस मुलुकमा शासन गर्ने अधिकार आफ्नै मात्र भएको दाबी गर्दै आएको एमाओवादीको हैसियत यतिखेर स्पष्ट भएको छ । दोस्रो संविधानसभा निर्वाचनपछि आफ्नो वास्तविक हैसियत थाहा पाएर एमाओवादी दङ्गदास परेको छ । नेपाली जनता नेताभन्दा धेरै चलाख भएको र सबैको नाडी छामिसकेका कुरा पनि उसले यसपटक राम्रै महसुस गरेको हुनुपर्छ ।
निर्वाचन परिणामले राष्ट्रपति र प्रधानमन्त्री हुने दाउमा रहेका एमाओवादी नेताका दाउ त धूलीसात पारिदियो नै तिनकै पछि लागेर के–के न छोप्ने वा ठूलै भाग पाउने आशामा निर्वाचनको मुखमा दलबदल गर्ने र विभिन्न पेसा–व्यवसायमा आबद्ध भए पनि एमाओवादीका सिन्दुर पहिरेर प्रवेश गर्नेहरूलाई पनि राम्रै दनक दियो ।
सत्तामा रहँदा ‘निर्वाचनमा पनि सँगै जाने/ भन्दै बनाएको ‘सत्ताधारी गठबन्धन/का प्राय: सबै दलले धुलो चाटेपछि ठूलाठूला महत्वाकाङ्क्षा देखेका सबै नेतालाई आफूहरूले अपवित्र सत्ता गठबन्धन बनाएर दम्भ देखाएकोमा आत्मग्लानि भयो–भएन त्यो त थाहा भएन, यही दनकपछि कतिपय नेता तिल्मिलाएका छन् । एमाओवादीका नेता बढ्तै तिल्मिलाए र दुनियाँले स्वच्छ, स्वतन्त्र र निष्पक्ष भनेको निर्वाचनलाई धाँधली र षड्यन्त्र भएको भन्न थाले भने तिनकै पछि लागेर कतिपय मधेसवादी, जातिवादी र विखण्डनवादीहरूले पनि चर्काचर्का कुरा गर्न थाले ।
एनेकपा माओवादीका कतिपय नेताले त ‘फलानोलाई सरकारप्रमुख र फलानोलाई प्रमुख निर्वाचन आयुक्त बनाउनु नै भूल/ भएको भन्दै पटकपटक खिलराज रेग्मी र नीलकण्ठ उप्रेतीका नाममा पश्चात्ताप पनि गरे । आफ्नै महाधिवेशनबाट सरकारप्रमुख चुन्ने अनि तिनैले गराएको चुनावमा धाँधली भयो भन्ने ? कस्तो विडम्बना ? यसरी निर्वाचनमा पराजित हुँदाको दोष आफ्नो दम्भ, बडप्पन, सत्तालोलुप चरित्र तथा नागरिकप्रतिको जिम्मेवारीको बेवास्तालाई दिनुपर्नेमा आफ्नो जिम्मेवारी पूरा गरेका कारण धन्यवाद दिनुपर्नेहरूमाथि त्यस्तो दोष थोपरेर कृतघ्नता देखाउने ?
भन्ने गरिन्छ ‘प्रतीक्षा गर्न सक्नुपर्छ समयक्रममा सबै कुरा देखिन्छ ।/ यस्तै प्रतीक्षा गर्दै जाँदा एमाओवादीको सेखी झरेको त देखियो नै पराजयको पीडामा रन्थनिएको र जथाभावी अभिव्यक्ति दिएर आफ्नो चरित्र र स्वभाव सबैसामु पस्केको, कहिले छानबिन आयोग र कहिले पुनरावलोकनको माग राख्दै ‘नभए संविधानसभामा नजाने/ जिद्दी गर्दै आएको तथा विभिन्न बहाना बनाएर लाज छोप्ने प्रयास गरे पनि एमाओवादी अन्तत: वास्तविकताको धरातलमा आएको र थुपै्र अन्योल र अलमलबीच संविधानसभामा आफूले प्राप्त गरेको स्थानमा प्रतिनिधित्व गर्दै सहभागी हुने निर्णय लिएको कुरा भने स्वागतयोग्य हो ।
अझै पनि कतिपय पराजितहरू भने बहानाबाजी गरिरहेका छन् । तर, ती पनि हिँड्ने बाटो यही नै हो । कहीँ जान सक्दैनन्, एकछिन् दङ्ल्याएर, घुक्र्याएझैँ गरेर लाज पचाउने प्रयास गरे पनि ती पनि यही बाटोमा आउने हुन् । टुटफुट र विभाजन गरेर सत्तामा हालिमुहाली गरेका मधेसी होऊन् वा आफैँलाई सर्वेसर्वा बताएर लोकतान्त्रिक शक्तिहरूमाथि नानाथरी आरोप र लाञ्छना लगाउने एमाओवादी ती अन्तत: यथार्थलाई स्वीकार गर्न बाध्य हुनैपर्छ । कपोलकल्पित र भ्रामक लाञ्छना लगाएर मात्र हुँदैन त्यसलाई प्रमाणित गर्ने र पुष्टि गर्ने आधार पनि चाहिन्छ । तर, अझै पनि नेकपा–माओवादी नामको समूह भने अर्को बाटो हिँड्ने प्रयत्न गर्दै छ । आश्चर्य त के छ भने निर्वाचनमा भाग नै नलिएको उसले निर्वाचनमा धाँधली भएको आरोप लगाइरहेको छ । त्यति मात्र होइन, निर्वाचनताकाका हिंसात्मक घटनामा संलग्न भएको बताइँदा आफू संलग्न नभएको बताउने माओवादीले माउ पार्टी एमाओवादीले संविधानसभामा जाने बाटो रोजेपछि भने त्यस्ता सबै घटनाको जिम्मेवारी पनि लिएको छ । के यही हो अग्रगमन, यही हो क्रान्तिकारिता ?
यतिञ्जेल खासगरी सोचेजत्रो आकार पाउन नसेककालाई अत्यन्त पीडा भयो । पीडा मात्र होइन चर्का कुरा गरे पनि लामजर्दो परिणामले तिनलाई के गर्नु र कसो गर्नु बनाइदियो । सम्भवत: त्यही लाजले मुलुकलाई अहिलेसम्म अल्मल्याइरहेको थियो । तर, अब सबैले बुझ्नुपर्ने कुरा यो आक्रोश, आवेग र उत्तेजना देखाउने होइन, शालीन र सभ्य तरिकाले जिम्मेवारीका साथ सहमतिका दिशामा अग्रसर हुनुपर्ने समय हो । विधिको शासन, राजनीतिक स्थायित्व र सुशासनको प्रत्याभूति आजको आवश्यकता र आमअपेक्षा हो भने यो यसैका लागि परस्परका मतान्तरलाई थाती राखेर उदारतासाथ प्रस्तुत हुनुपर्ने समय हो । यसैले दलहरू बखेडा झिक्न छाडेर निकासका लागि लचकता अपनाउन तयार हुनुपर्छ । सहमतिको जगमा संविधान, शान्ति र समृद्धिको कार्यभार पूरा गर्नु सम्पूर्ण दलको दायित्व हो । यसैले निर्वाचनमा भाग लिएका दलले चुनावी प्रतिबद्धताअनुरूप संविधान निर्माण गर्न र एक वर्षभित्र संविधान जारी गर्ने दिशामा तत्परता देखाउनुपर्छ भने बहिष्कार र तिरष्कारको नारा दिनेहरूले पनि जनमतको कदर गर्दै आफूलाई मुलुक र जनताको पक्षमा उभ्याउनुपर्छ । यसैमा सवैको हित सम्भव हुनेछ ।
प्रतिक्रिया