नेता बन्ने प्रतिस्पर्धामा को कति अगाडि ?

नेता बन्ने प्रतिस्पर्धामा को कति अगाडि ?


Dev-Prakash-Tripathi-2संसदीय दलको नेता बन्नका लागि नेपाली काङ्गे्रसका तीन नेताबीच उत्पन्न प्रतिस्पर्धाले नेपाली राजनीतिमा चासो राख्नेहरूको ध्यानाकर्षण गरेको छ । सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीच देखिएको प्रतिस्पर्धालाई प्रजातान्त्रिक प्रक्रिया बुझ्ने र काङ्गे्रसलाई चिन्नेहरूले स्वाभाविक रूपमा लिएको भए पनि कतिपयले नेताहरूबीचको प्रतिस्पर्धालाई विवादका रूपमा बुझ्दै अस्वाभाविक भएको अर्थ लगाएका छन् । नेपाली काङ्गे्रसमा यतिबेला प्रधानमन्त्री बन्न सक्ने हैसियत र व्यक्तित्व भएका आधा दर्जन नेता भए पनि नयाँ पुस्ताका नेताहरू तीन शीर्ष नेताहरूलाई उछिनेर अघि बढ्ने प्रतिस्पर्धामा उत्रिएका छैनन् । नेताहरू आपसी सहमतिमा अघि बढून् भन्ने चाहना नयाँ पुस्ताका नेताहरूमा देखिएको छ भने काङ्गे्रसभित्र तीन नेताहरू संरक्षकको भूमिकामा बसेर नयाँ पुस्तालाई पार्टी र सरकार सञ्चालनको जिम्मेवारी दिइनु उपयुक्त हुने धारणा पनि विकसित हुन थालेको छ ।
तीन प्रमुख नेतामध्ये शेरबहादुर देउवाले पटकपटक प्रधानमन्त्री बन्ने अवसर पाउनुभएकोले यसपटक सुशील कोइराला या रामचन्द्र पौडेलमध्ये एकलाई प्रधानमन्त्री बनाउन उहाँले सघाउनुपर्ने सोच काङ्गे्रसका एकथरीले बनाएका छन् । पटक–पटक प्रधानमन्त्री बनेर राज्य सञ्चालनको अनुभव सङ्गालेका हुनाले यो जटिल परिस्थितिमा देउवालाई नै प्रधानमन्त्री बनाइनु उपयुक्त हुने धारणा पनि काङ्गे्रसभित्र बलियै देखिन्छ । यस्तै कतिपयले सभापति कोइरालाको इमानदार एवम् स्वच्छ छविलाई उपयोग गर्दै प्रधानमन्त्रीको जिम्मेवारी उहाँलाई सुम्पनु उपयुक्त हुने अडान राखिरहेका छन् । साधारण जीवनशैली, प्रजातान्त्रिक आन्दोलनप्रतिको समर्पण र त्यागको कारण धेरैको सहानुभूति कोइरालाप्रति रहेको देखिन्छ । पार्टीको प्रमुख पदमा रहनुभएको, दुई क्षेत्रबाट निर्वाचनमा विजयी बन्नुभएको, यसअघि लाभको पदमा कहिल्यै नपुग्नुभएको र उमेर पनि अन्य नेताहरूको भन्दा बढी भएकोले कोइरालाले धेरैको सहानुभूति प्राप्त गर्नुभएको छ । उहाँबाट राष्ट्रलाई गतिशील नेतृत्व प्राप्त हुने शङ्का गर्नेहरू पनि एकपटक कोइरालालाई मौका दिँदा ठीक हुने ठान्दछन् ।
उपसभापति रामचन्द्र पौडेल पार्टीमा एक चिन्तक र समर्पित नेताका रूपमा स्थापित हुनुहुन्छ । पार्टीमा आफ्नो बेग्लै ‘नेटवर्क/ निर्माण गर्ने मामिलामा पछि पर्नुभएका पौडेलले राज्य सञ्चालन प्रक्रियामा लामो अनुभव संगाल्नुभएको छ । मन्त्री, उपप्रधानमन्त्री, सभामुख र संसदीय दलका नेताको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नुभएका पौडेल यसअघि नै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा समेत प्रस्तुत भइसक्नुभएको छ । वैचारिक स्पष्टता र वाक क्षमतामा पौडेलले अन्य दुई नेतालाई धेरै नै पछाडि पार्नुभएको छ । परिस्थिति बुझ्न र समयमै आवश्यक निर्णय लिन पनि उहाँ सक्षम मानिनुहुन्छ । कृषकप्रधान यस मुलुकमा किसानहरूको समस्या र समाधानप्रति संवेदनशील रामचन्द्र पौडेल प्रधानमन्त्री भएमा देशले विकासको नयाँ गति प्राप्त गर्ने विश्वास पनि गरिन्छ । पराजित हुने जान्दाजान्दै पनि प्रधानमन्त्रीको उम्मेदवार भई पार्टी र प्रजातन्त्रको साख जोगाउन आफ्नै साखको पर्वाह नगरेर पौडेलले प्रजातन्त्रपे्रमीहरूको सहानुभूति प्राप्त गर्नुभएको छ । राजनीतिमा संलग्न मानिसहरूमा जनताको जिज्ञाशा र आकर्षण जीवित रहन अनिवार्य मानिन्छ । रामचन्द्र पौडेल काङ्गे्रस नेताहरूको त्यस्तो कोटिमा पर्नुहुन्छ जसकाप्रति जनसाधारणको जिज्ञाशा कायम छ र आकर्षण पनि ।
शेरबहादुर देउवा विभिन्न अवस्थामा प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गरेर अनुभवशाली नेता बन्न सफल मानिनुहुन्छ । पहिले उहाँको मित्रवत् व्यवहार र साधारण जीवनशैलीको पार्टीका युवापङ्क्तिले मुक्तकण्ठले प्रशंसा गर्ने गर्दथे । अहिले पनि देउवाको मित्रवत् एवम् सहज व्यवहार पार्टीभित्र र बाहिर प्रशंसित मानिन्छ । खासगरी सङ्घर्ष र विवादभन्दा सम्झौता र समझदारीलाई आफ्नो शैली बनाउनुहुने देउवा कठिन परिस्थितिलाई पनि सहज बनाउन सक्षम मानिनुहुन्छ । पार्टीभित्र पकड र अन्तर्राष्ट्रिय समुदायसँगको सम्पर्क–सम्बन्धले देउवाको राजनीतिलाई प्रभावी बनाइरहेको छ । देउवा प्रधानमन्त्री बन्नुभएमा कुनै चमत्कार हुने या केही नयाँ पन देखापर्ने विश्वास त गरिएको छैन, तर प्रधानमन्त्री बनेमा कठिन परिस्थितिलाई पनि सहज बनाएर अघि बढ्ने सामथ्र्य देउवाले दर्शाउनुहुने विश्वास अझै कायम छ ।
देशको राजनीतिमा काङ्गे्रस निर्णायक भूमिकामा रहेको र काङ्गे्रसमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाजस्ता उचाइदार नेताहरू क्रियाशील भइरहेको अवस्थामै देउवाले प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त गर्नुभएको थियो । देउवाको उमेरले पचपन्न पार गरेको थिएन, जतिबेला (०५२) उहाँ प्रधानमन्त्री बन्नुभएको थियो । अहिले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने बेलामा असी पुग्नै लाग्नुभएका सुशील कोइराला र सातको दशकमा जीवन यात्रा गर्दै रहनुभएका रामचन्द्र पौडेल पहिलोपटक प्रधानमन्त्री बन्ने अवसर खोजी गर्ने अवस्थामा हुनुहुन्छ । यदि मुलुकको राजनीति सहज ढङ्गले अघि बढिरहेको हुन्थ्यो भने कोइराला र पौडेलले उहिल्यै कहिले प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेको अवस्था हुनसक्थ्यो । उहाँहरूले त्यस्तो मौका नपाएका कारण काङ्गे्रसको नयाँ पुस्ता वरिष्ठ भएर पनि कनिष्ट भूमिकामा सीमित हुन परिरहेको छ । यतिबेला डा. रामशरण महत, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायतका नेताहरूलाई ‘वेटिङ प्राइममिनिस्टर/का रूपमा लिइन्छ ।
नयाँ पुस्ताका नेताहरूमध्ये पछिल्लो समयमा डा. रामशरण महतको लोकप्रियता काङ्ग्रेसभित्र विशेष रूपमा उचालिएको छ । ०६३ को परिवर्तन र त्यसयता उहाँले निर्वाह गर्नुभएको भूमिकाले उहाँप्रति हेर्ने विपक्षीहरूको दृष्टिकोणमा समेत परिवर्तन आएको छ । स्पष्ट दृष्टिकोण र प्रजातान्त्रिक मूल्य–मान्यताप्रतिको अडानले रामशरण महतको बेग्लै पहिचान कायम गरेको छ । योजना आयोगको उपाध्यक्ष र अर्थमन्त्रीका रूपमा उहाँले पु-याउनुभएको योगदान मुलुकका निम्ति स्मरणीय मानिन्छ । अन्तर्राष्ट्रिय समुदायमा समेत राम्रो पहिचान स्थापित गर्नुभएका महतलाई भावी प्रधानमन्त्रीका रूपमा हेर्न थालिएको छ । त्यसैले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने स्थिति उत्पन्न भएमा डा. महत त्यसका सबभन्दा बलिया हकदार बन्न सम्भव मानिन्छ । शेरबहादुर देउवासँग संसदीय दलमा चुनावी प्रतिस्पर्धा गर्न सक्ने नयाँ पुस्ताका नेताका रूपमा पनि महतलाई लिइएको छ । सभापति कोइरालाले दलको नेतामा चुनावी प्रतिस्पर्धा गर्न चाहनुभएन र रामचन्द्र पौडेललाई सहयोग गर्न पनि कोइराला तयार नभएको अवस्थामा डा. महतलाई अघि सारिने सम्भावना रहने देखिन्छ । खुमबहादुर खड्का षड्यन्त्रको चक्रब्युहमा परेर पछि नधकेलिनु भएको भए आजका दिनमा उहाँलाई पनि सम्भावित प्रधानमन्त्रीका रूपमा लिइन्थ्यो । कोइराला र पौडेलजस्ता शीर्ष नेताहरू नै प्रधानमन्त्री बन्न सङ्घर्षरत रहनुपरेकोले त्यसको असर नयाँ पुस्ताका नेताहरूलाई परेको छ । अर्जुननरसिंह केसी, डा. सशांक कोइराला, डा. शेखर कोइराला, कृष्ण सिटौला र पूर्णबहादुर खड्कालगायतका नेताहरूको पालो कहिले कसरी आउने हो त्यो झन् उराठलाग्दो पाटो छ । काङ्गे्रसमा पार्टी सभापति या प्रधानमन्त्री बन्ने अवसर एक नेतालाई एकपटक मात्र उपलब्ध हुने वैधानिक व्यवस्था हुन सकेको भए नयाँ पुस्ताका नेताले उच्च भूमिका निर्वाह गर्ने अवसर सुनिश्चित गर्न सक्थे । एउटा नेताले जीवनबाटै अवकाश लिइसकेपछि मात्र नयाँले मौका पाउने ‘राजतन्त्रात्मक/ या ‘साम्यवादी/ परम्पराको सिकार विभिन्न कारणबस काङ्गे्रसले बन्नु परिरहेको छ ।
काङ्गे्रसका तीन शीर्ष नेताहरू जुन ढङ्गको प्रतिस्पर्धामा छन्, काङ्गे्रसका सभासद्हरूको मनोविज्ञान जस्तो देखिँदै छ र अन्तर्राष्ट्रिय समुदायको चाहना जसरी प्रस्फुटित भएको छ, त्यसको विवेचना गर्दा नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुने सम्भावना अत्यन्त क्षीण भएको निष्कर्षमा पुग्न सकिन्छ । सुशील कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवामध्ये एक संसदीय दलको नेता बन्ने स्थिति कायम रहेको र तीन नेताहरू नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने मानसिकतामा नरहेको हुँदा यसैपटक कोही नयाँ नेताले देशको नेतृत्व गर्ने मौका प्राप्त गर्ने देखिएको छैन । तर, तीन नेताहरूबीचको प्रतिस्पर्धा अस्वस्थ बनेको या आफू नेता बन्ने विश्वास तीनैजनाले गुमाएको अवस्थामा भने नयाँ पुस्ताले देशको नेतृत्व गर्ने अवसर प्राप्त गर्न सम्भव मँन्न सकिन्छ । तीन नेताहरूमध्ये शान्त देखिए पनि सबभन्दा आक्रामक तयारीमा र अन्तर्राष्ट्रिय समर्थन तथा पद प्राप्त गर्ने र प्राप्त पद टिकाउने कलामा अगाडि रहनुभएकोले काङ्गे्रस संसदीय दलको नेता देउवाले नै हान पार्नुभयो भने कुनै आश्चर्य हुने छैन । सभासद्हरूको व्यापक समर्थन र धेरैको सहानुभूति हासिल गर्न सफल भएकोले सुशील कोइरालालाई उक्त अवसर उपलब्ध हुने सम्भावना पनि अझै प्रबल छ । तर, रामचन्द्र पौडेलको स्थिति भने अन्य दुई नेताको भन्दा केही भिन्न देखिन्छ । कोइराला र देउवा दुवै या दुईमध्ये एक नेताले समर्थन गरेको अवस्थामा पौडेल दलको नेता बन्न सहज हुनेछ । कुनै नेताका नाममा विभाजित सभासद्हरू आन्तरिक विवादबाट हैरान भई नयाँ कदम चाल्न बँध्य हुने अवस्थामा पनि त्यसको लाभ पौडेललाई हुनसक्ने देखिन्छ । पौडेलको आफ्नै बलियो ‘नेटवर्क/ नभए पनि कोइराला र देउवाका नाममा बाँडिएका सभासद्हरू रामचन्द्र पौडेलप्रति सकारात्मक दृष्टिकोण राख्ने गर्दछन् । प्रमुखमध्येका दुई नेताहरूबीचको अन्तरविरोध बढेमा त्यसबाट मुक्ति पाउन सभासद्हरूले स्वविवेकीय निर्णय लिन खोजे भने त्यसको लाभ पौडेलले प्राप्त गर्ने सम्भावना पनि त्यति नै छ । काङ्गे्रसमा नेतात्रयको अनौपचारिक अवधारणा जीवित रहे पनि हालसम्म रामचन्द्र पौडेल सुशील कोइरालापक्षीय नेताका रूपमा परिचित हुनुहुन्छ । यद्यपि पछिल्लो दिनमा उहाँले स्वतन्त्र भूमिका निर्वाहको अभ्यास गर्दै हुनुहुन्छ । पौडेलको स्वतन्त्र भूमिकाले उहाँलाई कोइराला या देउवा दुवैसँग सम्झौताको ढोका खुल्ला गर्नसक्ने स्थितिमा पु-याउँदै छ । त्यस्तो अवस्थामा पौडेल ‘निर्णायक/ बन्नुहुने र कदाचित दलको नेता बन्न नसक्ने अवस्था आयो भने पनि दलको नेता हुन पौडेलको साथ अनिवार्य हुन जानेछ । पौडेलको स्वतन्त्र भूमिका देउवाको भन्दा पनि सभापति कोइरालाको निम्ति चुनौती बनेको हुँदा परिस्थितिको संवेदनशीलतालाई बुझेर व्यवहार नगर्नुभएमा कोइरालाले ठूलै मूल्य चुकाउनुपर्नेमा शङ्का गर्न सकिँदैन ।