– इन्द्रबहादुर बराल
दोस्रो संविधानसभाको पहिलो बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै छ । निर्वाचन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि अनेक विवाद–आलोचनाबीच ढिलै भए पनि संविधानसभाको बैठक बस्नुलाई सकारात्मक रूपमै लिनुपर्छ । तर, अग्रगामी राजनीतिको गफ मार्ने नेपाली राजनीतिका ‘मै हुँ’ भन्ने हस्तीहरूले समेत जुन व्यक्तिबाट संविधानसभाको सदस्यका रूपमा शपथ लिए, यो भने एक कोणबाट चर्चाकै सन्दर्भ बनेको छ ।
हुन त यस विषयलाई प्राविधिक पक्ष भनेर सामान्य रूपमा पनि लिन नसकिने होइन । समय र परिस्थितिले कोल्टो फेरेपछि हरेक उल्लट–सुल्टा स्थितिलाई सहजै ग्रहण गर्नुको विकल्प पनि रहेन । सायद त्यसै भएर होला संविधानसभाको पहिलो बैठकबाट परिवर्तनकारी शक्तिहरूले वयोवृद्ध पुराना पञ्च जो पश्चगामी शक्तिको प्रतीककै रूपमा परिचित छन्, त्यस्ता व्यक्तिबाट अग्रगामी राजनीतिको छलाङ मार्ने राजनीतिक दल र तिनका प्रतिनिधिहरूले बडो उत्साहपूर्वक देश र जनताप्रति जवाफदेही हुने शपथग्रहण गर्नु रोचक विषय हो ।
राजनीतिको आमुल परिवर्तनसँगै मानिस कति परिवर्तित हुन्छन् त्यो यसै भन्न सकिँदैन । कतिले त परिवर्तनसँग आफूलाई परिमार्जन गर्दै पनि जान सक्छन् । त्यसैले सूर्यबहादुर थापाबाट गराइने शपथग्रहणको विषयलाई खासै विवाद र बहसको मुद्दा नबनाउँदा पनि हुने हो । तर, इतिहास कोट्याउने हो भने ०३६ सालमा जनमतसङ्ग्रहमा समसामयिक सुधारसहितको पञ्चायती प्रजातन्त्र कि यथास्थितिको पञ्चायती व्यवस्था ? भन्ने रोजाइमा भएको जनमतसङ्ग्रहमा थापाजीले तत्कालीन पञ्चायती प्रधानमन्त्रीको हैसियतले खेलेको भूमिका सबैका मानसपटलमा ताजै हुनुपर्ने हो । त्यसबेला बहुमत नेपाली जनता समसामयिक सुधारसहितको बहुदलीय व्यवस्थाको पक्षमा हुँदाहुँदै पनि राज्यसत्ताको व्यापाक दुरुपयोग गरी निर्दलीय पञ्चायती व्यवस्थालाई जिताउने महारथी आज फेरि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्न निर्वाचित संविधानसभाका सदस्यहरूलाई शपथग्रहण गराउँदै हुनुहुन्छ, योभन्दा दुःखद् ठट्टा समसामयिक नेपाली राजनीतिमा अरू के हुन सक्छ ?
संविधानसभाको पहिलो बैठक राष्ट्रपति वा मन्त्रपरिषद् अध्यक्ष कसले बोलाउने भनेर विवाद र बहस गर्नेहरू, त्यस्तै राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन हुनुपर्छ या पर्दैन भनेर बहसमा घोक्रो फुलाउनेहरूले वयोवृद्ध सभासद् होइन अन्य कुनै विकल्प नखोजी शपथग्रहण गराउनुपर्ने मुद्दामा किन केन्द्रित हुन सकेनन् ? यो एउटा गम्भीर प्रश्नको जवाफ अग्रगामी राजनीतिका पक्षधरहरूले दिनुपर्ने कि नपर्ने ? दोस्रो जनआन्दोलनका उपलब्धिमध्ये धर्मनिरपेक्षता थियो र हो पनि । तर, मुलुक एउटा घोषणाबाट एकाएक एकात्मक र राजनीतिबाट गणतन्त्र, हिन्दूराज्य अर्थात् धर्मसापेक्षबाट धर्मनिरपेक्ष घोषणा हुँदा एउटा चरोमुसो सडकमा त्यसको विरुद्ध निस्कन सकेन । विस्तारै समय घर्कंदै जाँदा पुराना शक्तिहरू अर्थात् पुनस्र्थापनवादी तागतले सीधै हिन्दूधर्म सापेक्ष राष्ट्रको पक्षमा भोट माग्दै हिँड्दा धर्मनिरपेक्षताको औचित्य सावित गर्न नसक्दा अनपेक्षित विजय हासिल गरे । यदि परिवर्तनकामी शक्तिहरूले वैधानिक एवम् कानुनी बाध्यताको आवरणमा त्यस्तो प्रवृत्तिबाट शपथ लिँदै अग्रगमनको सपना बोकेको हो भने त्यो भ्रम मात्र हुन सक्छ । राष्ट्र र जनताले चाहेको परिवर्तन नयाँ संविधानमार्फत संस्थागत गर्ने विषय यस्ता कुराबाट प्रभावित हुन सक्छ ।
एउटा चुनावमा ठूलो हुँदैमा या अर्को चुनावमा सानो आकारको पार्टी हुँदैमा निरुत्साहित भएर प्राप्त उपलब्धिको जगेर्ना गर्दै संविधानमार्फत संस्थागत गर्नबाट चुकियो भने निश्चय पनि ती सारा प्रातःस्मरणीय सहिदहरूप्रति घोर बेइमानी गरेको ठहर्दछ र इतिहासले त्यस्ता बेइमानीलाई क्षमा गर्ने छैन । लाखौँ मानिस घरवारविहीन भए, हजारौँ अङ्गभङ्ग भए, सहिद पनि कति भए–भए । के त्यति ठूलो बलिदानीपूर्ण जनयुद्ध र त्यसले प्राप्त गरेको उपलब्धि केही पार्टी र तिनका नेतालाई प्रधानमन्त्री, मन्त्री तथा सभासद् बनाएर सुविधासम्पन्न जीवन जिउनका लागि मात्र हो त ? यदि राजनीतिक पद्धतिमार्फत आमनेपालीको जीवनपद्धतिमा सकारात्मक परिवर्तन ल्याउन चाहेको भए थापाजीबाट संविधानसभा सदस्य पदको शपथ लिन तयार हुनेहरू किन राष्ट्रपति र उपराष्ट्रपतिको परिवर्तनको कृत्रिम मुद्दा उठाइराखेका छन् ? बुझ्न नसकिने पहेली बनेको छ । सूर्यबहादुर थापा प्रवृत्ति मौका पाउनासाथ पछाडि फर्कने राजनीतिक तप्काको रूपमा परिचित र सङ्गठित संस्थाको नेता हुन् भन्ने आरोप लगाउनेहरूको आज पनि कमी छैन । त्यही संस्थाको एउटा हस्तीले अग्रगामी दिशामा लम्केका शक्तिलाई कसम खुवाउनु कति शोभनीय विषय होला ? संविधानसभाको पहिलो बैठक नै ‘प्रथम ग्रासे मच्छिकायात’ अर्थात् पहिलो गाँसमा माखा’ परेजस्तो हुँदा अगाडिका दिन त्यति सुखद र शुभ नहुन पनि सक्छन् भन्ने अनुमान गर्दा अतिशयोक्ति पक्कै नठानिएला ।
यहाँ शपथग्रहण गराउने व्यक्तिसँग कुनै दुराग्रह राखेर यस्तो भनिएको होइन, केवल आफूलाई परिवर्तनका ठेकेदार हुँ भन्ने शक्तिहरूलाई सतर्क गराउन पनि खोजिएको छ । हुन त नेताहरू भन्न चुक्दैनन्– जन्म दिने आमाले मात्र आफ्ना सन्तानलाई वास्तविक माया, ममता र स्नेह दिन्छिन् । तर, बोली र व्यवहारमा तादात्म्य नमिलेकै कारण आज यो दुर्दशा व्यहोर्न परिरहेछ । यदि नेपाली जनताको चाहनाअनुरूप विघटित संविधानसभाबाटै साझा पहिचानसहितको सङ्घीयता निर्माणको आधार बनाइदिएको भए मुलुकले अहिलेसम्म सन्तोषको सास फर्ने अवस्था आइसक्थ्यो । दुर्भाग्य तत्कालीन अवस्थाको ठूलो पार्टी नेकपा माओवादीमा राजनीतिक एवम् सैद्धान्तिक विचलनको भूत सवार हुँदा कतै दक्षिणी अफ्रिकी मुलुक रुवाण्डा र बुरुण्डीको जस्तै जातीय द्वन्द्वको दर्दनाक स्थिति आउने हो कि भन्नेसम्मको सन्त्रास फैलिन पुग्यो । सदियौँदेखि मिलेर बसेको नेपालीको जातीय संरचना कसैको इच्छा हुँदैमा भड्कँदो रहेनछ भन्ने प्रमाणित भएको छ । केही राजनीतिक पार्टी र तिनका पृष्ठपोषक तथाकथित घराना बुद्धिजीवीको लहैलहैमा नेपाली जनता लाग्दा रहेनछन् भन्ने प्रमाणित ०६९ साल जेठ १४ गते मध्यरातसम्मको गतिविधिले बताउँछ ।
राजनीतिमा धैर्यतापूर्वक बस्न सके, निरन्तर लागिपरे गौँडा कुरेर हात्तीलाई ढाप हान्न पाइन्छ भनेजस्तै झन्डै नौ दशकको उमेरमा पनि सक्रिय राजनीतिमा लागेका एक राजनीतिक हस्तीप्रति नकारात्मक टिप्पणी आवश्यक नभए पनि वर्तमान राजनीतिका केही प्रमुख पात्र र प्रवृत्तिलाई आगो बाल्न अगुल्टा ठोस्दाझैं ठोस्यो भने बिग्रँदो राजनीतिले सही बाटो समात्न बल पुग्ने विश्वास गर्न सकिन्छ ।
प्रतिक्रिया