२० मेगावाटको लाङटाङ हाइड्रोपावरले जुटायो लगानी

२० मेगावाटको लाङटाङ हाइड्रोपावरले जुटायो लगानी


रसुवाको गोसाईंकुण्ड गाउँपालिकामा निर्माण हुन लागेको लाङटाङ हाइड्रोपावरको निर्माण कार्यले गति लिने भएको छ । २० मेगावाट क्षमताको उक्त हाइड्रोपावरको लागि आवश्यक ठानिएको (प्रक्षेपित) चार अर्ब पाँच करोड रकमको सुनिश्चितता भएपछि निर्माणको काम अघि बढ्न लागेको हो ।

आरएम ग्रुपअन्तर्गतको मल्टी इनर्जी डेभलपमेन्ट प्रा.लि.द्वारा निर्माण गरिन लागिएको उक्त आयोजनाको निम्ति सनराइज बैंकको अगुवाइमा चारवटा बैंकले लगानी गर्ने भएका छन् । यससम्बन्धी जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा मल्टी इनर्जी डेभलपमेन्ट प्रा.लि.का अध्यक्ष कृष्ण आचार्य र लगानीको नेतृत्वकर्ता सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बजाचार्यले वित्तीय व्यवस्थापन सम्झौताको प्रति आदानप्रदान गरे । सो अवसरमा सनराइज बैंकका अलावा सिद्धार्थ बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक र जनता बैंकले लाङटाङ हाइड्रोपावरमा लगानी गर्न लागेको बताइयो ।

जानकारी दिइएअनुसार सो आयोजनाको प्रक्षेपित कूल लगानी चार अर्ब पाँच करोडमध्ये १ अर्ब ३२ करोड शेयरधनीहरूबाट जुटाइनेछ भने उल्लिखित बैंकरूले २ अर्ब ७३ करोड ४० लाख लगानी गर्नेछन् । लगानीको अगुवाई गरेको सनराइज बैंकले १ अर्ब २ करोड ५२ लाख, सिद्धार्थ बैंकले ७६ करोड ९० लाख, एनसिसी बैंकले ५२ करोड २३ लाख र जनता बैंकले ४२ करोड ७३ लाख रुपैयाँ ऋण उपलब्ध गराउने सम्झौता भएको अध्यक्ष आचार्यले जानकारी दिए ।
आयोजनाको सम्भाव्यता अध्ययन, विद्युत खरिद बिक्री सम्झौता, वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कनलगातका काम सम्पन्न भएपछि वित्तीय व्यवस्थापन सम्झौता भएको हो । साविकमा १० मेगावाट क्षमताको उक्त आयोजनाको अध्ययनका क्रममा पछि १० मेगावाट क्षमता थप गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आयोजनाको सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइनलगायत मुख्य संरचना निर्माणका लागि चिनियाँ कम्पनी छोङगिङ वाटर टर्वाइन वक्र्स (सीडब्लुटीडब्लु) सँग ठेक्का सम्झौतासमेत सम्पन्न भइसकेको आयोजनाले छ । ठेकेदार कम्पनीलाई सुरुमा कूल लागतको १० प्रतिशत र आयोजनाबाट विद्युत उत्पादन सुरु भएको ७ सय दिनपछि बाँकी रकम उपलब्ध गराइने सम्झौतामा उल्लेख छ ।

आगामी अढाई वर्षमा (पुस २०७७ भित्र) निर्माण कार्य सम्पन्न गरिने लक्ष्य राखिएको सो आयोजनाको काम सम्पन्न भएपछि मात्र रकम भुक्तानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्झौता गरिएको छ । यसरी काम सम्पन्न भएको २ वर्षपछि मात्र ठेकेदारलाई रकम चुक्ता गरिने गरी सम्झौता गरिएको यो नेपालकै पहिलो आयोजना भएको दाबी कम्पनीले गरेको छ ।