‘काठमाडौंमा त्यसै पनि डेरा पाउन गाह्रो थियो अहिले त झन् नयाँ–नयाँ सभासद्ले गर्दा कहीँकतै कोठा पाइएला जस्तो छैन । नयाँ बानेश्वरवरपर त झन् डेरा पाइएला भनेर कल्पनै नगरे हुन्छ ।’ केही दिनअघि कोठा भाडाको रूपमा पाउने भत्ता कम भयो भनी सभासद्हरूको प्रतिक्रियासहितको सामग्री प्रकाशित भएपछि कतिपयले यसप्रकारको चर्चा गरे । एनेकपा माओवादी अध्यक्ष प्रचण्डका लागि डेरा खोजिएको होस् या अन्य केही नेताहरूले डेरा नपाएको, काठमाडौंमा अहिले डेराको खुव चर्चा छ । नयाँ सभासद्हरूलाई त झन् कोठा खोज्ने मुख्य काम नै भएको छ भने पनि हुन्छ । ‘काठमाडांैमा यतिका धेरै घर भएर के गर्नु दुईवटा खाली कोठा पाउन गाह्रो रहेछ’ यस पङ्क्तिकारसँग नेपाली काङ्ग्रेस समानुपातिककी एक सभासद्ले केही दिनअगाडि मात्र भनेकी थिइन् । सभासद् भएपछि अरू त त्यस्तै हो डेरा पाउन गाह्रो हुने रहेछ भन्ने सभासद्हरू प्रसस्तै भेटिन्छन । नेपालमा राजनीतिकर्मीहरूलाई हेर्न दृष्टिकोण फरक हुँदै गएका कारण पनि यसप्रकारको समस्या देखिएको हो । नेता चित्रबहादुर केसीले पनि हालै एक अन्तवार्तामा सांसद भएका कारण सुरुका दिनहरूमा काठमाडौंमा डेरा नपाएको कुरा उल्लेख गर्नुभएको छ । कुनै बेला थियो– सांसद, मन्त्रीजस्ता पदहरू निकै प्रतिष्ठित मानिन्थे, मानिसहरू आफ्नो घरमा सांसद बसेको छ भन्दा गर्व मान्थे । तर, विगत केही वर्षयता राजनीतिकर्मीको घट्दो लोकप्रियताको असर अन्य विविध कुरा हुँदै डेरासम्म पुगेको छ । मन्त्री पदबाट मुक्त भएपछि पूर्वमन्त्रीहरूलाई डेरा पाउन पनि त्यस्तै समस्या भएका कुराहरू बेला–बेलामा मिडियामा आउने गरेका छन् ।
वास्तवमा यो समस्या सभासद् या राजनीतिकर्मीको मात्र होइन, आमसमस्या हो । काठमाडौंमा डेराका अनेक झन्झट र समस्याहरू छन । डेरा पाउन मात्र होइन पाइसकेपछि पनि के गर्न हुने, के गर्न नहुने सबै कुरा घरवालाको प्रवृत्तिमा निर्भर हुने गरेको छ । प्रायः बिनासम्झौता मानिसहरू डेरामा बस्छन् या राखिन्छ । डेरावाल र घरबेटी दुवै राम्रो मान्छे परे ठिकै छ, दुईमा एक मात्र नराम्रो प्रवृत्तिको परे बसेकै दिनदेखि समस्या सुरु हुन्छ । आफ्नो घरमा को मान्छे बसिरहेको छ भनेर थाहा पाउने आधारको खोजीसमेत नगरी घरमा मान्छे राख्ने र आफू कसको घरमा बस्न गइरहेको छु या बसिरहेको छु भन्नेसमेत थाहा नपाई पर्दा नलाएको कोठा देख्नेबित्तिकै ‘तपाईंकोमा कोठा खाली छ ?’ भन्दै गएर बस्ने गरिएको छ । केही समययता डेरा खोजिदिने मान्छेहरू भेटिन्छन् तर उनीहरूमार्फत जाँदा कोठा भाडामा लिने र दिने दुवैले एक महिनाको भाडा ती बिचौलियाहरूलाई दिनुपर्ने हुन्छ । तर, उनीहरूमार्फत जाँदा पनि कोठा पाउनेबाहेक अन्य सबै प्रकारको प्रक्रिया भने एउटै हो । काठमाडांैमा डेरा भनेको केवल खाली कोठा हो, सबै सामान आफूले लगेर राख्नुपर्छ । ‘फर्निसिङ’ फ्ल्याट या कोठाको अवधारणा अझै आउन सकेको छैन । जसका कारण धेरै मार्का भने विदेशीहरूलाई पर्ने गरेको देखिन्छ । केही समय बस्न आउनेहरूले सबै सामान किनेर बस्नुपर्ने हुँदा जाने बेलामा सधैँ समस्या । सामान बिक्री गर्नका लागि प्रायः उनीहरूले अनलाइनमार्फत विज्ञापन गरिरहेका हुन्छन । आफँै डेरा लिएर केही समय बस्ने प्रायः विदेशीहरूको भनाइ रहन्छ– नेपालमा अरू सबै कुरा ठीक डेरामा बस्दा सबै सामान आफँै किन्ने कुराचाहिँ बेठीक । कम्तीमा फर्निचरका सामान त किन्नु नपरे हुन्थ्यो नि हिँड्ने बेलामा सधैँ झन्झट । खानेपानीको व्यवस्थासमेत आफैँ गर्नुपर्छ भनेको सुन्दा छक्क पर्नेहरू यहाँ धेरै छन तर चुपचाप बस्नुको अर्को विकल्प छैन ।
काठमाडांैमा डेरा खोज्दाका अनेक समस्या छन । कसैलाई एक्लै बस्न नहुने, कसैलाई परिवारसँग बस्न नहुने । त्रिचन्द्र कलेजमा अध्ययनरत एकजना भाइले केही दिनअघि मैतीदेवीमा डेरा खोज्दाको अनुभव सुनाएका थिए । डेरा खोज्दै जाँदा उनलाई एउटा घरमा सोधिएछ– को–को बस्नुहुन्छ ? उनले आफू एक्लै बस्ने भनेपछि एकजना केटालाई मात्र दिने खालको कोठा नभएको भन्दै परिवार भए राम्रो हुन्थ्यो भनिएछ । अर्को घरमा जाँदा सोही प्रकारको प्रश्नमा उनले ‘परिवारै चाहिए साथीभाइ बोलाउँला नि त’ भन्ने कुरा मनमा राखी आफू परिवारसहित भएको बताएछन् । खै परिवार बसेपछि पानी खर्च हुन्छ, फोहोर बढी हुन्छ भन्दै डेरा नदिने बताइएछ । यसप्रकारको समस्या भोग्ने पनि काठमाडौंमा उनी एक्ला होइनन् । के गर्नुहुन्छ ? परिवार छ कि छैन ? काम कस्तो हो ? रात–बिरात फर्कने काम हो भने त गाह्रो हुन्छ, मान्छे आउने हुन् कि ? पहिलाको मान्छेलाई त असाध्यै धेरै पाहुना आउने भएकाले निकालिदिएको, बस्न त बस्नुस् पानीचाहिँ बढी खर्च गर्न पाइँदैन वा पानीको बन्दोबस्त तपाईं आफैँले गर्नुपर्छ लगायतका कुराहरू डेरामा बस्नेहरूका लागि सामान्य मानिन्छन । कतिपय अवस्थामा ह्युमिलिएसन भोग्नुपरेका अनेक तीता डेरा अनुभव मानिससँग छन् । डेरामा राख्ने या बस्नेका लागि कुनै नीति–नियम नभएका कारण यो सब भएको हो । प्रायः विकसित मुलुकमा डेरामा बस्नका लागि द्विपक्षीय सम्झौता गर्नुपर्छ, भारतमा पनि यो चलन छ । डेरावाल र घरवालाले पूरा गर्नुपर्ने सर्तहरू त्यही सम्झौतामा लेखिएको हुन्छ । कसैको कोठामा पाहुना आओस् कि नआओस् त्यो घरवालाको नभएर सम्बन्धित मान्छेको टाउको दुखाइको विषय हो । विवाह गरेको होस् या अविवाहित, गर्लफ्रेन्ड ब्वाइफ्रेन्ड छ कि छैन त्यो पनि मानिसको व्यक्तिगत कुरा हो त्यति ठूलो टेन्सन अरूले लिइरहनु आवश्यक छैन । व्यावसायिक व्यक्तिहरूको आम्दानीको कर उठाउन कडी कडाउ नियम भए पनि घरभाडाको करलाई अनिवार्य गरिएको छैन । राजधानीमा डेरा बसोबास अव्यवस्थित भएकै कारण यहाँ कति मानिस बस्छन् निश्चित तथ्याङ्क छैन । जनगणनामा यहाँका धेरै मानिसले आफ्नो घरमा वहालमा बस्ने मानिसहरूको नाम टिपाएनन्, फलतः राजधानीमा बसोबास गर्ने मानिसहरूको सही सङ्ख्या आउन सकेन । राजधानीमा जम्मा २५ लाख मात्र मानिसको बसोबास छ भनेर पत्याउन सकिन्न । यसरी सबै प्रकारका सवारी साधान जोड्दा सवारीसाधनभन्दा मानिसको सङ्ख्या कम आउनुको एक मात्र कारण यहाँको डेरा व्यवस्थापन नै हो । काठमाडौंमा आफ्नै घर हुनेहरूका लागि यो ठूलो समस्या हो जस्तो नलागे पनि ‘डेरा’ काठमाडौंको ठूलो समस्या हो । त्यसैले डेराको उचित व्यवस्थापनका लागि स्पष्ट नीति नै बन्नु आवश्यक छ ।
प्रतिक्रिया