विवाद होइन विश्वासको खाँचो

विवाद होइन विश्वासको खाँचो


bichar– इन्द्रबहादुर बराल
नेपाली जनताको ताजा जनादेशको मर्म र भावनालाई गम्भीर भएर समीक्षा गरे मात्र सही गन्तव्यमा पुग्न सकिन्छ । दोस्रो संविधानसभाबाट आफ्नो आस्था र विश्वासलाई आश्चर्यजनक ढङ्गले प्रस्तुत गरे नेपाली जनताले । जनताको विश्वासमाथि आफूअनुकूलको अर्थ र परिभाषा गरेको मन नपरेर नै ठीक विपरीत जनादेशको परिणाम निस्कियो । यो सत्यलाई फेरि पनि बिर्सेर विगतको तीतो अनुभवलाई पुनरावृत्ति गर्न खोजियो भने नि:सन्देह जनताको विकल्पलाई कसैले रोक्न सक्ने छैन ।
अन्तत: जनता शक्तिको मूल स्रोत हो, त्यसलाई अनावश्यक किसिमले थेग्न कुनै शक्तिले पनि सक्दैन । तसर्थ, पहिलेको तीतो अनुभवबाट अबका मीठा सपना पूरा गराउनुपर्छ । अहिलेको अर्थात् दोस्रो संविधानसभामार्फत प्राप्त जनादेश शिरोधार्य गरी विवाद होइन विश्वासका साथ अघि बढ्नुपर्छ । प्रजातन्त्रको पिता जनआन्दोलन ०४६ का सर्वोच्च कमाण्डर स्व. गणेशमान सिंहले भनेजस्तै नेताभन्दा जनता धेरै चलाख भइसकेका छन् । त्यसैले जनतालाई पाठ सिकाइराख्ने होइन, उनीहरूबाट सिक्नु पनि महानता हो, बेला पनि यही हो । महानताले नै विद्यमान यावत् गतिरोधहरूको अन्त्य गर्न सकिन्छ । हरेक सवालमा अनावश्यक तर्क प्रस्तुत गरेर बाठो बन्ने प्रवृत्तिका कारण मुलुक निकासविहीन अवस्थामा पुगेको तथ्य कसैले बिर्सन हुँदैन ।
अघिल्लो संविधानसभा सबैभन्दा ठूलो दल नेकपा माओवादीमा जनताको मतलाई मनोगत अथ्र्याइले झण्डै मुलुकलाई जातीय द्वन्द्वतर्फ धकेलेको थियो । तर, जनताको सुझबुझ र संयमताका कारण एउटा खतरनाक (विभीषिका) मात्र होइन दर्दनाक अवस्थाबाट मुलुक जोगिन सक्यो । त्यसको पुष्टि हालै सम्पन्न संविधानसभाको निर्वाचनमार्फत व्यक्त अभिमतले प्रमाणित गर्दछ । हुन त अहिले पहिलो र दोस्रो भएका दलहरू पनि गाईको दूधले पखालिएका होइनन् । त्यसैले उनीहरूबाट धेरै आशा एवम् भरोसा गरेर ढुक्क हुने ठाउँ छैन । तैपनि जिम्मेवारी दिइएकाहरूसँग नै आशा र भरोसा नगरेर कोसँग गर्ने भन्ने प्रश्न त स्वत: उब्जिन्छ । यही प्रश्नले अब नेपाली जनतालाई पिरोलिराखेको छ ।
त्यसो त राजनीतिमा सोचेजस्तो सबै कहाँ हुन्छ र ? जीवन्त पार्टीमा विवादहरू भइरहन्छन् र विवाद र बहसबाट सही दिशाबोध पनि हुने गर्दछ । भनाइ नै छ ‘वादे वादे जायते तत्व बोध’ । अर्थात्, विवादहरूको बीचबाट असल विचारहरूको जन्म हुन्छ । तर, यहाँ अधिकांश विषय विवादका निम्ति विवाद हुने गरेकाले पार्टी–पार्टी र अन्तरपार्टी विवादले सिङ्गो मुलुकको राजनीतिलाई नकारात्मक प्रभाव पारेको स्मरणले ‘बिजुलीदेखि चम्केको कुकुर अगुल्टो देख्दा क्वाइँ’ हुनु स्वाभाविकै ठर्हछ । यसर्थ नेपालका राजनीतिक दल र नेताहरूलाई गम्भीर भएर जिम्मेवारीबोधका साथ जनताको अभिमतलाई सम्मान गर्न सम्झाइराख्नुपर्ने होइन । तर, विगतको अनुभवले भने औँला उठाइराख्नुपर्ने, खबरदारी गर्नैपर्ने जस्तो देखिन्छ । अहिले कतै जितको मातजस्तो र कतै हारको हतासजस्तो देखिँदा फेरि पनि जनताको विश्वासमाथि कुठाराघात नहोला भन्न सकिँदैन ।
दोस्रो निर्वाचनपछि संविधानसभाको पहिलो बैठक आह्वान गर्नेजस्ता अति कम महत्वका विषयलाई समेत विवादको घेरामा राखेर सार्वजनिक बहस गरिनु पनि त्यति दूरदृष्टिपूर्ण बहस मानिँदैन । त्यसैले जनता कतै यी राजनीतिक दलहरूले पुरानै अवस्थामा मुलुकलाई फर्काउने त होइनन् भन्ने चिन्ता र चासो व्यक्त गर्न थालेका छन् । नवनिर्वाचित संविधानसभाका माननीय सभासद्लाई शपथ खुवाउन कस्ता पात्र र प्रवृत्तिलाई उच्च सम्मान गरियो र त्यो बाध्यतात्मक परिस्थितिको सिर्जना कहाँबाट भयो ? अब हिजोका ती कमी–कमजोरी दोहोरिए के होला ? यसो अनुमान गरौँ त, अहिले त उमेरका कारणले ज्येष्ठ नागरिकबाट शपथ लिने काम भयो, आउँदा दिनमा पनि विघटित संविधानसभामा जस्तै गैरजिम्मेवार बन्दै अनावश्यक विवाद र बहसमा अल्झियो भने पूर्वराजाबाट शपथ लिनुपर्ने अवस्था नआउला कसरी भन्ने ? अहिलेलाई जे भयो ठीकै भयो, किनभने पात्र र प्रवृत्ति जे–जस्तो भए पनि एउटा नेपाली नागरिकको छोरोबाट लिइएको शपथलाई सहजै रूपमा पचाउन सकियोे । तर, प्रवृत्ति यथावत् रहिरहे भने अग्रगमन राजनीतिका लागि तयार बनाइएका पूर्वाधारहरू गल्र्यामगुर्लुम ढल्नेछन् र ०१७ साल पुस १ को कालो दिनको पनि हेक्का मात्र होइन माघ १९ लाई पनि सम्झनुपर्ने हुन्छ ।
भर्खरै सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनको दौरानमा खुट्टामा हेर्न नसक्नेले टाउको टेक्न पुगे । जनआन्दोलन ०६२÷०६३ को उपलब्धिमध्ये धर्मनिरपेक्षतालाई चुनौती दिँदै नेपालीको मन र मस्तिष्कमा हिन्दूधर्मसापेक्ष राष्ट्रको पक्षमा व्यापक जनमत बटुल्न सफल भए । अब कसैले चाहेर पनि हिन्दूधर्मसापेक्ष राष्ट्र नेपाल हुनबाट रोकिन कठिन छ । चुनावको बेला धर्मबारे माओवादी, काङ्गे्रस, एमालेलगायतका दलहरूले खासै महत्वका साथ चुनावी मुद्दा बनाएनन् । राप्रपा नेपालले चुनावी मुद्दा नै केवल धर्मलाई मात्र बनायो र ८१.३ प्रतिशत हिन्दू भएको देशमा त्यसको प्रभाव नपर्ने कुरै भएन । त्यसैले एक भोट गाई (धर्म)लाई अर्को भोट भाइ वा दाइलाई भन्ने नारा अकल्पनीय ढङ्गले गुञ्जिन थाल्यो । त्यस्तै आवाजलाई निस्तेज पर्ने तागत कसैले देखाउन सकेनन् र अप्रत्याशित रूपमा राप्रपा नेपालले चौथो ठूलो दल बन्ने अवसर पायो । अब पनि परिवर्तनका पक्षधर पार्टीहरू आपसी विवाद र कलहमा अल्मलिँदै जाने हो भने अबका निर्वाचनमा सत्ताच्यूत राजालाई कुनै न कुनै वहानामा पुनस्र्थापित गराउन सशक्त रूपले आवाज बुलन्द नहोला भन्न सकिन्न ।
राजनीतिमा सामान्य चासो राख्ने सबैलाई थाहा नै छ, क्रान्तिपछि प्रतिक्रान्तिका तप्काहरू अनुकूल परिस्थिति नहुँदासम्म क्रान्तिकारी तप्कासँगै टाँस्सिएर रहन्छन् । जब परिस्थिति ठीक भयो अनि परिवर्तनका सुनौला बिहानीमा कालो बादल मडारिन थाल्छ । अहिले अर्थात् संविधानसभा सदस्य निर्वाचन ०७० मा लोकतान्त्रिक गणतन्त्र नेपालको उपलब्धिका रूपमा रहेको सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षतामध्ये सङ्घीयता र गणतन्त्रलाई कम निशानामा राखेर धर्मनिरपेक्षतालाई तीव्र निशाना बनाइयो । जहाँसम्म लाग्दछ, धर्मनिरपेक्षतावादीहरू यस मालिलामा कमजोर देखिए । यदि साँच्चै धर्मको विषयमा जनमतसङ्ग्रहमा जाने हो भने धर्मनिरपेक्षतावादीहरूको सर्वनाक हार नहोला भन्न सकिँदैन । त्यसैले यी परिस्थितिको उपज स्वयम् अग्रगामी राजनीतिक छलाङ मार्नेहरू नै हुन् नभनी धरै छैन । अबका दिनमा अत्यन्त संयमपूर्वक विगतका गल्ती–कमजोरीबाट शिक्षा लिँदै पश्चगामी शक्तिलाई किनारा लगाउन नसके अग्रगामी शक्ति आफैँ छेउ लाग्न सक्छ । तसर्थ, जनताको अभिमतलाई जिम्मेवारी बोध गर्दै निर्धारित समयमा संविधान निर्माण गरी समृद्ध नेपालको सपना साकार पार्न लागौँ । त्यसको निम्ति पहिलो सर्त हो– अनावश्यक विवाद र बहसलाई थन्क्याएर विश्वासको वातावरण साथ अघि बढेमा अवश्य पनि नयाँ नेपालको सपना पूरा गर्न सक्छौँ । अन्यथा नयाँ नेपालको सपना, सपना मात्र हुनेछ र अहिलेका जिम्मेवार राजनीतिक पार्टी वा शक्तिलाई इतिहासले क्षमा गर्ने छैन ।