‘नेपालमा गाडीको सङ्ख्या धेरै होइन, सडक नै कम’

‘नेपालमा गाडीको सङ्ख्या धेरै होइन, सडक नै कम’


भदौ २६ गतेदेखि सूरु हुने अटोमाबाईल्स एसोसिएन अफ नेपाल (नाडा) को मेलाको तयारी पूरा भएको जानकारी दिएको छ । नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले ६ दिनसम्म चल्ने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको बताएका हुन् ।

अर्थमन्त्री डा.यूवराज खतिवडाले उद्घाटन गर्ने मेलामा ६२ हजारले अवलोकन गर्ने बताउँदै दुलालले भने, ‘मेलामा चार महिनामा हुने कारोबार ६ दिनभित्रै हुने अर्थात् पाँच अर्बको कारोबार हुने अनुमान हामीले गरेका छौँ, ७१ वटा संस्थाहरुको उपस्थितिमा १३५ वटा स्टल रहने छन् ।’

नेपालमा गाडीहरुको संख्या सडकको क्षमताभन्दा धेरै भयो भन्ने तर्क नै ठिक नभएको उनको तर्क छ । दुलालले भने, ‘आजको दिनमा पनि एक प्रतिशत नेपाली जनतामा मात्रै आफ्नै गाडीको पहुँच छ । त्यसैले गाडीको संख्या धेरै भएको होइन, सडक कम भएको हो ।’

उनले सडक पूर्वाधारको विकासमा लाग्नको लागि सरकारलाई सुझाव समेत दिएका छन् । उनले भने,‘हाम्रो देशमा स्तरीय र राम्रा सडक नै छैनन्। अहिले भएका सडकको पनि समयमै मर्मतसम्भार हुँदैन। सरकारले काठमाण्डौ उपत्यकामा गाडीको जाम देखेर क्षमताभन्दा बढी गाडी भयो भनिरहेको छ। आयात कम गर्नुपर्छ भनिरहेको छ। त्यो सरकारले जनताप्रति सकरात्मक सोच राखेको होइन। आफूले चाहेको गाडी खरिद गरेर चढ्न पाउनु जनताको अधिकारको कुरा हो।’

उनले अगाडि थपे, ‘सरकारले उद्योगमैत्री वातावरण सिर्जना गर्नुपर्छ, सडकको स्तरोन्नति गर्नुपर्छ, गाडी बेच्ने र किन्ने मात्रै हाम्रो लक्ष्य होइन, सडकको वातावरण पनि स्वच्छ हुनुपर्छ भन्ने हो, गत वर्ष मेलामा मात्रै झन्डै साढे तीन अर्ब रुपैयाँको कारोबार भएको थियो । सवारी साधनसम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले प्रत्येक बर्ष आयोजना हुने यस मेलालाई गाडीहरुको ‘कुम्भ मेला’ को रुपमा समेत लिने गरिन्छ, यसै फोरमबाट सबैलाई मेलाको अवलोकन गर्न आग्रह समेत गर्दछु ।’

सरकाले उठाउने सम्पूर्ण करमध्ये ३५ प्रतिशत नाडाले तिर्ने गरेको दाबी उनले गरे ।

त्यस्तै नाडाका महासचिव सुनिल रिजालले पनि नेपालमा गाडीहरुको संख्या सडकको क्षमता भन्दा धेरै भयो भन्ने सरकारी तर्क नै ठिक नभएको तर्क गरे । नेपालमै गाडी उत्पादन गर्नेतर्फ सरकारले सोच्नुपर्ने उनको सुझाव थियो ।

नाडा मेलामा विद्यार्थीलाई एक सय पचास र अन्यलाई दुईसय रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजकले जनाएको छ ।