मुलुकमा लोकतन्त्र आएपछि लोप हँुदै गएको राष्ट्रिय पोसाक दौरासुरुवालले पहिलो संविधानसभाताका निकै अपमान खपे पनि अहिले आएर पुनः सम्मान पाउन थालेको छ । खहरेझैँ गडगडाएर आएका राजनीतिकर्मीहरूले विभिन्न झाँकीमा संविधानसभामा प्रवेश गरेपछि र प्रधानमन्त्रीले समेत कोट–पाइन्टमा शपथ लिएपछि नेपालीको राष्ट्रिय पोसाक बेबारिसे मात्र बनेको थिएन, नेपालको राष्ट्रिय पोसाक नै नभएजस्तो भएको थियो । राष्ट्रिय पोसाक कुनै पनि राष्ट्रको पहिचान र गौरव हो, राष्ट्रलाई माया गर्नेहरू राष्ट्रिय पोसाक, झन्डा, भाषालगायतका राष्ट्रियतासँग जोडिएका कुराहरूलाई सम्मान गर्छन् । विभिन्न मुलुकमा प्रायः महिला र पुरुषका लागि आफ्नै प्रकारको राष्ट्रिय पोसाक तोकिएको हुन्छ जसले उक्त देशको राष्ट्रिय पहिचानलाई इंगित गर्छ । महासभा चलिरहेको बेला संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्क पुगियो भने विभिन्न रंग र अनेक ढङ्गका पोसाक लगाएका मानिस भेटिन्छन्–देखिन्छन् । सबैलाई उस्तै अनुभूति दिने मौसममा कसैले पातला पिलपिल परेका लुगा लगाइरहेका हुन्छन् त कसैले बाक्ला न बाक्ला हेर्दै उकुसमुकुस हुने प्रकारका । कतिले टाउकोमा अनेक आकारप्रकारका फेटाजस्ता तर अरू नै केही गुथिरहेका देखिन्छन् त कतिचाहिँ पुरुषहरूले पनि टाउको छोपेका (महिलाले टाउको छोप्ने चलन धेरै ठाउँमा छ) र पाइतालासम्म पुग्ने लामा गाउनजस्तै पोसाक लगाएका । विभिन्न देशका मानिस र तिनले लगाएका राष्ट्रिय पोसाकहरूको रमितानै हुन्छ त्यहाँ । तर, हाम्रो देशमा भने राष्ट्रिय पोसाकलाई ठूलो विवादको विषय बनाइएको मात्र थिएन, राष्ट्रिय पोसाक भइदिएकै कारणले बिचरा दौरासुरुवालले केही समुदायका मानिस र तिनलाई समर्थन गर्नेहरूबाट गालीगलौजसमेत खानुपरेको थियो । यतिसम्म कि दौरासुरुवाललाई राष्ट्रिय पोसाकका रूपमा मान्यता दिने कुरा उठ्दा सर्वोच्चको फैसलालाई जलाइएको थियो । राष्ट्रिय पोसाकलाई अपमान गररे मधेसी समुदायका केही मानिसले नेपाली हुनुको पहिचानमाथि प्रहारसमेत गरेका थिए ।
हरेक पुराना कुरा र संस्कार नराम्रा हुँदैनन । विभिन्न मुलुकका इतिहासमा ठूलाठूला परिवर्तन भएका छन् । राजतन्त्र फालिएका देशहरू पनि धेरै छन् तर राजतन्त्रको अन्त्य हँुदैमा सबै राष्ट्रिय पहिचानलाई मेटाइँदैन । संसारमा धेरै मुलुकमा राजा–महाराजा थिए । उनीहरूको पुस्तेनी शासन नरहे पनि इतिहासको कालखण्डमा उनीहरूले देशका लागि गरेको योगदानको मूल्याङ्कन, आफ्नो देश बचाउन अपनाएका रणनीतिको सिकोजस्ता कुरा वर्तमानमा भइरहेकै हुन्छन् । नेपालको राष्ट्रिय पोसाक, झन्डाजस्ता कुरा राजाको पालामा परिकल्पना गरिए पनि ती राजतन्त्रका होइनन् नेपाल देशका पहिचान हुन् । जुन कुरामा प्रत्येक नेपालीको आत्मियता गाँसिएको छ, आफ्नोपन जोडिएको छ । राष्ट्रिय पोसाककै रूपमा रहेको सारीचोलो दक्षिण एसियाली महिलाले लगाए पनि दौरासुरुवाल विश्वमै ‘युनिक’ छ । नेपालको राष्ट्रिय झन्डा पनि संसारमै फरक मानिन्छ । वास्तवमा युनिक हुनु–नहुनुसँग राष्ट्रियतासँग सम्बन्धित कुराले खासै अर्थ राख्दैन पनि । हाम्रो झन्डालाई विश्वले राम्रो भन्नुको कारणचाहिँ के हो भने कतिपय देशका झन्डाहरूमा अङ्कित चिह्नहरू के हुन् भनेर अत्तोपत्तो पाउन नसकेपछि यसको अर्थ के हो भनेर सोध्नुपर्छ । तर, हाम्रो यति सजिलो छ कि चन्द्रमा र सूर्यलाई यो पृथ्वीमा जसले पनि चिन्छ र हाम्रो झन्डाको रंग र डिजाइनको संयोजन छुट्टै प्रकारको छ । हाम्रो राष्ट्रिय पोसाक पनि आकर्षक नै मानिन्छ । जस्तो भए पनि आखिर राष्ट्रिय पोसाक हो, बूढीआमा राम्री भइनन् भनेर आधुनिक भनाउँदा छोराछोरीले हेला गर्न मिल्दैनथ्यो, तर विगतमा त्यो पनि गरियो ।
नयाँ नेपाल राष्ट्रिय पोसाक लाउँदैनौँ भनेर, झन्डा परिवर्तन गरेर, सालिक फोरेर या मन्दिरका पुजारी फेरेर बन्दैन । देशमा परिवर्तन ल्याउनलाई सोच र कार्यशैलीमा फेरबदल ल्याउनुपर्छ । राष्ट्रिय पोसाकलाई गाली गरेर मुलुकमा विखण्डन ल्याउन खोज्नेलाई जनताले यसपटक नराम्ररी सबक सिकाएका छन् । कतिपयले चाहेर पनि अब राष्ट्रिय पोसाक लगाउन आवश्यक नपर्ने ठाउँमा जनताले पु-याइदिएका छन्, जुन कुरा राम्रै भएको छ । देशको पहिचानको रूपमा रहेको आफ्नो राष्ट्रिय पोसाक, राष्ट्रिय गान या झन्डाप्रति नै नतमस्तक नहुने नेपाली के नेपाली ? त्यस्ता व्यक्ति के जनप्रतिनिधि ? गत संविधानसभाको जात्राको अनुभवकै कारण हुन सक्छ, नेकपा एमालेले यसपल्ट सुरुमै दौरासुरुवाल र सारीचोलो अर्थात् राष्ट्रिय पोसाकलाई औपचारिक समारोहमा अनिवार्य गर्ने निर्णय गरेको छ । जुन कुराको स्वागत जोसुकै राष्ट्रभक्त नेपालीले गर्नुपर्छ ।
सबै नेपालीको पहिचान कायम राख्न साझा राष्ट्रिय पोसाकको आवश्यकता हुन्छ । नेपालीको पहिचान दौरासुरुवाल, टोपी र सारीचोलोसँग गाँसिए पनि यदि यो व्यावहारिक छैन र फेर्नैपर्छ जस्तो लागेको भए जनमतसङ्ग्रहमार्फत दौरासुरुवाल र सारीचोलोसहितका विकल्प दिएर राष्ट्रिय पोसाकको चयन गर्न सकिन्थ्यो । तर, त्यस्तो केही नगरी औपचारिक कार्यक्रममा मात्र होइन मन्त्री, प्रधानमन्त्रीका शपथग्रहणमा समेत आफूखुसी पोसाक लगाइयो । कतिले त राष्ट्रिय पोसाकलाई गाली नै गर्दै हिँडे । नेपालीपनसँग जोडिएको दौरासुरुवाललाई घृणा गर्ने अधिकार कसैलाई थिएन, तर गरे । झट्ट हेर्दा शरीर ढाक्ने लुगा त हो, जे लाए पनि के भो र ? जस्तो लागे पनि यसले धेरै ठूलो फरक पार्छ । यदि फरक नपार्दो हो त विभिन्न देशका राष्ट्रप्रमुखहरू औपचारिक कार्यक्रमहरूमा फरक–फरक रूपमा प्रस्तुत हुने थिएनन् । जेहोस्, हामीकहाँ फेरि राष्ट्रिय पोसाकले मान्यता पाएको छ । समयले सबै कुरा ठीक ठाउँमा ल्याउँछ भन्छन्, शायद यो सही हो कि जस्तो पनि लाग्छ । हिजो लोकतन्त्रको जोसमा ढालिएको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अहिले पुनस्र्थापित गरिएको छ । पृथ्वीजयन्तीको दिन गोरखाको सदरमुकाम राष्ट्रिय झन्डाले ढाकिएको थियो । समयले यसरी विगतमा खनिएका खाडल पुर्दै गएको छ । अहिले पनि राष्ट्रिय पोसाकलाई सबैले आत्मसात् गरिसकेको अवस्था छैन । समयक्रममा सबैले अपनाउने दिन आउँदैन चाहिँ भन्न सकिन्न । अझै पनि कतिले यसलाई आफू र आफ्नो दलको इगोसँग दाँजेर हेर्न सक्छन् र दौरासुरुवाल र सारीचोलो नलाउने घोषणा गर्न सक्छन् । राष्ट्रिय पोसाक भन्ने कुरा सधैँ लगाउनुपर्ने होइन, औपचारिक कार्यमा सहभागी हुँदा मात्र पनि राष्ट्रिय पोसाक लगाउन सकिँदैन भने त्यस्ता मानिसले मुलुकसँग सम्बन्धित कुनै पनि कार्यभार नलिएकै राम्रो । जेहोस्, ६ वर्षपछि औपचारिक समारोहहरूमा ठूलो सङ्ख्याले लाउने गरी दौरासुरुवालको पुनरागमन भएको छ । खुसीको अभाव खड्किरहेको बेला नेपाली हुनुमा गौरव गर्नेहरूका लागि यो एउटा खुसीकै कुरा हो ।
प्रतिक्रिया