‘नाडा अटो शो’का आयोजकलाई निराश पारे अर्थमन्त्रीले !

‘नाडा अटो शो’का आयोजकलाई निराश पारे अर्थमन्त्रीले !


नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको आयोजनामा भृकुटीमण्डपमा आजदेखि शुरु भएको ‘नाडा अटो सो’का आयोजकहरुलाई अर्थमन्त्रीले खिन्न पारिदिएका छन् । साना सवारी साधनको बिक्री प्रबर्द्धनका लागि आयोजना गरिएको उक्त प्रदर्शनीमा प्रमुख अतिथिका रुपमा निम्त्याइएका अर्थमन्त्रीले व्यवसायको बढोत्तरी हुनेगरी भाषण गरिदेलान् भन्ने आाशा आयोजकहरुले राखेका थिए, तर सवारी साधन खरिद गर्न ऋण नदिने जस्ता उल्टापाल्टा कुरा बोलिदिएर ग्राहक भड्काइदिएको गुनासो एक व्यवसायीले गरेका छन् ।

सङ्घको आयोजनामा भृकुटीमण्डपमा आजदेखि शुरु भएको प्रदर्शनी शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले सरकारले सवारी साधन खरिदका लागि भनेर सहुलियत कर्जा प्रवाह गर्न नसक्ने जानकारी दिँदै सर्वसाधरणले आम्दानी गरेर सक्षम भएपछि मात्र गाडी खरिद गर्नुपर्ने बताए ।

देशमा नयाँ प्रकारका सवारी साधन आयात भइरहेको र धेरै सवारी साधन बिक्री हुँदा राजश्व सङ्कलनमा पनि वृद्धि हुने उल्लेख गर्दै उनले भने, ‘सवारी साधन अहिले पनि विलासी वस्तु हो, यसमा लाग्ने भन्सारका साथै अन्य कर छुट गर्न सकिँदैन ।’

मन्त्री खतिवडाले सकारात्मक कुरा पनि गरे । सवारी साधनलाई आवश्यक पर्ने विभिन्न पार्टस् पूर्जा स्वदेशमै उत्पादन गर्ने गोरखकाली रबर उद्योगजस्ता संस्थालाई सहयोग र सहुलियत उपलब्ध गराइने उनको भनाई थियो । लगानीसम्बन्धी कानून निर्माण अन्तिम चरणमा रहेको बताउँदै उनले दुईतिहाइ राजश्व देशको आन्तरिक स्रोतबाट सङ्कलनबाट हुन सकेमा मात्र आयातित वस्तुमा कायम रहेको करमा केही कमी गर्न सकिने जानकारी दिए ।

सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले मुलुकको समृद्धिका लागि उत्पादनशील क्षेत्रमा लगानी गरी रोजगारको क्षेत्र वृद्धि गर्नुपर्ने बताउँदै त्यसका लागि सरकारले निजी क्षेत्रसँग समन्वय गर्नुपर्नेमा जोड दिइन् भने सोही सङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले प्रत्येक वर्ष नयाँ ब्रान्डका दुईपाङ्ग्रे र चारपाङ्ग्रे ठूला सवारी साधन आयातले देशमा व्यापार घाटा बढ्दै गएकाले स्वदेशमा नै यसको उत्पादन हुनसक्ने वातावरण तयार गर्नुपर्ने सुझाव दिए ।

नेपाल अटो मोबाइल्स डिलर्स सङ्घका सदस्य निराकार श्रेष्ठले यस क्षेत्रले मुलुकको राजश्वमा करीब १७ प्रतिशत योगदान पुऱ्याएको जानकारी दिँदै यसमा लाग्दै आएको २५६ प्रतिशत करमा पुनःविचार गर्नुपर्ने माग गरे ।

तस्बिर रासस