– अधिवक्ता दामोदर पौडेल
संयुक्त राज्य अमेरिका अहिले विश्वको सबैभन्दा शक्तिशाली देश हो । सैन्य शक्तिमा पहिला रुस पहिलो र अमेरिका दोस्रो थिए । अमेरिकाले विश्वमा गरेका कार्यलाई बलियो समर्थन र विरोधबाट जाँचिन्छ । नेपालमा अमेरिकाले राजदूतावास बनाउँदासमेत किन त्यति ठूलो राजदूतावास बनाएको ? भन्नेसमेत सवाल उठ्ने गर्दछन् । एकथरी मानिस हरेक कार्यलाई शङ्काको घेरामा राख्न अभ्यस्त पनि हुन्छन् । यसले कतिपय अवस्थामा जनतामा भ्रम जान्छ र अमेरिका र लोकतन्त्रमाथि नै अन्याय पनि हुन पुग्दछ । अमेरिका लोकतन्त्रको माध्यमले विकसित देश मात्र होइन यो विश्वको स्थायी र अस्थायी गन्तव्यस्थल वा रोजाइ बनेको हो । अमेरिकाको विरोध नै आफ्नो धर्म मान्नेहरू पनि अधिकांश अमेरिकामा आफू जान पाए वा सन्तानलाई पठाउन पाए अपवादबाहेक सबैभन्दा ठूलो उपलब्धि मान्छन् ।
अमेरिकाको विरोध गर्नेहरूले अमेरिकाले विश्वलाई शोषण गरेको, अफगानिस्तानमा धार्मिक आतङ्कलाई प्रोत्साहित गरेको, क्युवालाई असहयोग गरेको, भियतनाममा अमेरिकाले हारेको, दक्षिण कोरियामा सेना राखेको आरोपहरू लगाउने गर्दछन् । के ती आरोप सत्य छन् ? सामान्य जनतालाई सत्यको बारेमा जानकारी दिन आवश्यक छ कि छैन ? तथा अमेरिका के हो त ? भन्ने सम्बन्धमा हामीले केही पक्षलाई ध्यान दिनैपर्छ ।
सबैभन्दा पहिलो त अमेरिकाले कमसेकम पचास वर्षयता कहिल्यै लोकतन्त्रको विपक्षमा काम गरेको छैन र लोकतन्त्रको विपक्षीलाई प्रोत्साहित गरेको छैन । यो देश जहिले पनि लोकतन्त्रको पक्षमा अडिग छ । यो धार्मिक उग्रवादी र अतिवादी तथा कम्युनिस्टहरूलाई अझै पनि मन परेको छैन र उनीहरूले फैलाएको भ्रमले गर्दा अमेरिकालाई यो जस्तो छ त्यस्तो रूपमा देख्न सकिएको छैन ।
दोस्रो विश्वयुद्धको इतिहास पल्टाउँदा पनि अमेरिकाको सुझबुझपूर्ण कार्यले विश्व तहसनहस हुनबाट बचेको देखिन्छ । कम्युनिस्टहरूले स्टालिनको जतिसुकै ढाकछोप गरेर बोले पनि मूलभूत रूपमा स्टालिन र हिटलरको योजनाको उपज दोस्रो विश्वयुद्ध थियो । यी दुई नेताहरू मिलेर जर्मनदेखि पश्चिममा हिटलरले आफ्नो उपनिवेश बनाउने र जर्मनभन्दा पूर्वका देशलाई स्टालिनले रुसमा गाभ्ने योजना बनाएका थिए । जब हिटलर पूर्वतर्फ पनि आक्रमण गर्न लागे स्टालिनले हिटलरको रणनीति बुझे र आफ्नो रणनीति असफल भएको थाहा पाए । त्यसबेला अमेरिका, रुस, बेलायतसमेत एकै धुरीमा उभिए । सायद स्टालिनले जस्तो सम्झौता बेलायत र अमेरिकाले हिटलरसँग गरेको भए रुस तहसनहस हुने थियो । तर, अमेरिकाले नश्लवादी हिटलरभन्दा कम्युनिस्ट रुस केही हदसम्म भने पनि उपयुक्त सम्झेर रुससँग मिलेर हिटलरलाई हराउने कार्य भयो । अमेरिका तटस्थ बसेको भए पनि दुनियाँमा ठूलो तहसनहस हुने थियो । अमेरिकाको यो भूमिका मानवीयताका लागि ठूलो महत्वको छ ।
अमेरिकाको राजदूतावाससमेत ठूलो बनेकोमा रहस्य देख्नेहरूले यो पनि बुझ्नुपर्छ कि अमेरिकी नागरिकको पर्यटन गन्तव्य नेपाल पनि हो । त्यस्तै सार्कको हेड अफिस पनि नेपालमा नै छ । यी दुई कारणले गर्दा अमेरिकाले नेपाललाई महत्व दिनु अस्वाभाविक होइन । तिब्बतको सम्बन्धमा पनि अमेरिकाले घुसपैठको आधारमा तिब्बत स्वतन्त्र गर्न सकिँदैन भन्ने बुझेको छ । नेपालको त कुरै भएन । जहाँ सम्भवतः अधिकांश जनता अमेरिकामा बसाइँसराइ गर्न पाए तयार हुन्छन् र मौका परे विरोध पनि गर्दछन् । यस्तो देशका नेताहरू अमेरिकाको रणनीतिक जोड–घटाउको विषय बन्ने भन्ने नै होइन । चीन अमेरिकाको ठूलो व्यापारिक साझेदार हो । अमेरिका र चीन दुवै एक–अर्कालाई चिढाएर साझेदारीलाई अप्ठ्यारोमा पार्न चाहँदैनन् । यति मात्र बुझे पनि नेपाललाई अमेरिकाले अनावश्यक महत्व दिएको होइन स्वाभाविक रूपमा सहयोगी भएको हो भन्ने देखिन्छ ।
अमेरिका धनी हुनु र व्यापार गर्नु आफँैमा अपराध होइन । अमेरिकाले अन्य देशहरूलाई धनी हुन र व्यापार गर्न रोकेको पनि छैन । अमेरिकाभन्दा बढी स्रोत र साधन भएका नेपालसमेतका देशहरू पछाडि पर्नुको कारण खोज्नुपर्छ । धन कमाएको तथा व्यापारजस्ता कार्य गरेको मात्र होइन यसले विश्वमा सबैभन्दा बढी सहयोग गर्ने देशको हैसियत पनि राख्छ । यो सकारात्मक पक्ष हो । अमेरिका अहिले आफँै व्यापारघाटाको अवस्थामा रहँदा चीन फाइदामा छ तर कम्युनिस्टहरू त्यो बुझ्दैनन् ।
अफगानिस्तानमा अमेरिकाले तालिवानसमेतलाई त्यहाँ रुसले लादेको कम्युनिस्ट व्यवस्थाको विरुद्धमा उपयोग गरेको हो । त्यो उपयोग शत्रुको शत्रु मित्र भनेजस्तै हो । सबैले बुझ्न आवश्यक छ कि अरू उपाय नभएपछि सैनिक तानाशाह र धार्मिक अतिवादलाई हटाउन सकिएला तर कम्युनिस्ट तानाशाहीले जरा गाढेपछि बाहिरबाट हटाउन सकिँदैन । त्यही बाध्यताको प्रयोग अमेरिकाले अफगानिस्तानमा गरेको हो । यो प्रसङ्ग पनि जोड्नैपर्छ कि विश्वमा कम्युनिस्ट व्यवस्था विद्रोह र बाहिरी आक्रमणबाट कहीँ पनि हटेको होइन । रुसमा गोर्भाचोभहरूले आफैँले नै साम्यवाद ठीक छैन भन्ने महसुस गरेर आफ्नो पार्टीको अधिनायकत्व आफँैले अन्त्य गरेका हुन् र त्यसै कारणले वा त्यसको पूर्वाभासले पूर्वीयुरोपसमेतका देशबाट साम्यवादी दलहरूको सत्ताको अन्त्य भएको हो । प्रस्ट भन्न सकिन्छ कि साम्यवादी तानाशाहीभन्दा अन्य कुनै पनि तानाशाही कम अमानवीय हुने हुँदा लोकतन्त्रवादी बलियो नभएको अवस्थामा अर्को तानासाही बाध्यताको छनोट हुन सक्थ्यो त्यो बाध्यता अमेरिकालाई पनि नहुने भन्ने होइन ।
क्युवासमेतका कम्युनिस्ट राष्ट्रलाई अमेरिकाले असहयोग गरेकोभन्दा पनि अमेरिकाले कुनै पनि देशमा अत्यावश्यक सहयोग गर्ने गरेको पाइन्छ । क्युवाजस्ता देशले अमेरिकालाई शत्रु नै भन्ने गरेकामा शत्रुबाट कुन र कति सहयोगको आशा गर्ने भन्ने पक्ष अलग हो । भियतनाममा अमेरिकाले हारेको पनि भन्ने गरिन्छ । अमेरिकाले भियतनाममा हारेको होइन । अमेरिकाले भियतनाममा लोकतन्त्र चाहेको हो । जनता लोकतन्त्रविरोधीको भ्रममा परेपछि त्यसबाट पछाडि हट्नु उपयुक्त सम्झेर त्यहाँबाट हात झिकेको हो । तर, अहिले भियतनाम अमेरिकाको पछि लागिरहेको छ । पुँजीवादको विकासमा निजी सम्पत्तिको आवश्यकतालाई महत्व दिइरहेको छ । यो नै अमेरिकाको लक्ष्य पनि थियो र छ । त्यो लक्ष्य पछ्याएको भियतनामले युद्ध सकिएको लामो समयपछि आफैँले हारेको महसुस गर्नुभन्दा अमेरिकाको जित कुनै अर्को हुन सक्ला ? दक्षिण कोरियामा सेना राखेको आरोपहरूको सम्बन्धमा त धेरैलाई प्रस्टै छ कि दक्षिण कोरिया विकसित हुँदै गएको छ र नेपालीलाईसमेत रोजगारी दिएको छ । उत्तरकोरिया गरिब भिखारी तर बन्दुक राम्रोसँग चलाउने देश बनेको छ । अमेरिकाले सहयोग नगरेको भए दक्षिण कोरियाको पनि त्यही हालत हुने थियो ।
जसले लोकतन्त्र चाहेका छैनन् उनीहरूले साम्यवादले दुनियाँलाई भ्रम र दुःखबाहेक केही दिएन भन्ने बुझ्नुपर्ने हो । स्टालिनले ३० प्रतिशत गल्ती गरे, माओले यति गल्ती गरे भन्ने कम्युनिस्ट धर्मगुरुहरूले यो पनि बुझ्नुपर्ने हो कि यो गल्ती पनि रुसमा कम्युनिस्ट व्यवस्था रहेको भए देखिइने थिएन वा भन्न पाइने थिइएन वा फाइदाको लागि भनिइने थिएन । नेपालमा पनि माओवादीको सर्वसत्तावाद आएको भए प्रचण्डका छोराले तीन बिहे गरेका, सम्पत्ति नै कमाउन नेताहरू लागेका, जनता माओवादीबाट पीडित भएकासमेत धेरै घटना सुुन्न पाइने थिएन । कम्युनिस्ट तानाशाही भएका देशमा कम्युनिस्टले कहिल्यै भ्रष्टाचार गर्दैन र अपराध गर्दैन किनभने उसले राज्यको सम्पूर्ण ढुकुटी प्रयोग गर्न पाउँछ र उसले गरेका कार्यहरू अपराध नै मानिँदैनन् । केही कम्युनिस्ट नेताहरूलाई कम्युनिस्ट देशमा भ्रष्टाचारी भनिनु उनीहरू सत्ताको मूलधारबाट बाहिर पु-याउन आवश्यक भएर गरिएको प्रचारबाजी मात्र हो ।
यदि अमेरिकाले साम्यवादीको प्रचारलाई नरोकेको भए अहिले विश्व साम्यवादीकरण भइसकेको हुने सम्भावना थियो र अमेरिका पनि त्यसबाट अछुतो हुन सक्ने थिएन । त्यो परिस्कृत दास युगको जस्तो राजनीतिक प्रणाली र आर्थिक रूपमा नेताहरूको उपल्लो तह र जनताको तल्लो तहको हैसियत रहने सम्भावनालाई रोक्ने शक्तिको नेतृत्व अमेरिकाले गरेको हो । यही कारणले बहुलवाद र लोकतन्त्रविरोधीले अमेरिकालाई विरोध गरेकोमा त्यो भ्रममा सबै पर्न आवश्यक छैन । अमेरिका लोकतन्त्रको पक्षमा रहेकोमा विवाद छैन तर रणनीति र कार्य नीतिमा केही कमजोरी हुन सक्दछन् । कुनै पनि रणनीति र कार्यनीति न विकल्परहित हुन्छ न आलोचनारहित हुन्छ । आलोचनारहित हुने लक्ष्य हो र लोकतन्त्र तथा बहुलवादमा अमेरिका अत्यन्त प्रस्ट देखिन्छ ।
प्रतिक्रिया