कञ्चनरुप नगरपालिकाको बजेट ५० करोड

कञ्चनरुप नगरपालिकाको बजेट ५० करोड


राजविराज । कञ्चनरुप नगरपालिकाले चालू आर्थिक बर्ष २०७५/०७६ को स्विकृत बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको दोस्रो नगरसभाबाट पारित भएको रु ४९ करोड ४३ लाख ६१ हजारको बजेट सार्वजनिक गरेको हो ।

गत आर्थिक बर्ष २०७४/०७५ भन्दा १०.१ प्रतिशतले बजेट बृद्वि गर्दै नगरपालिकाले आन्तरिक आयतर्फ एक करोड दुई लाख १५ हजार र बाह्य श्रोततर्फ ४८ करोड ४१ लाख ४६ हजार बजेट रहेको जानकारी दिएको छ । कुल बजेटमा वडास्तरीय कार्यालय सञ्चालनका लागि रु २२ लाख ५० हजार र नगरपालिकातर्फ विषयगत शाखा समेत रु सात करोड ७७ लाख ५० हजार विनियोजन गरेको छ । जुन कुल बजेटको १६.१८ प्रतिशत हो ।

आर्थिक विकासतर्फ कृषि क्षेत्रको विकासका लागि रु ८५ लाख ४१ हजार सहकारी क्षेत्रका लागि रु तीन लाख, पर्यटन क्षेत्रका लागि रु पाँच लाख, उद्योग बाणिज्यलगायत विविध क्षेत्र गरी रु ३० लाख ४० हजार विनियोजन गरिएको छ । यो कुल बजेटको २.५० प्रतिशत हो ।

सामाजिक विकासतर्फ लैंगिक समानता तथा सामाजिक समावेशीकरण क्षेत्रमा रु एक करोड १४ लाख ४२ हजार, खानेपानी तथा सरसफाईका लागि रु २७ लाख ७३ हजार, स्वास्थ्य क्षेत्रको सशर्त तलव र प्रशासनिक खर्च समेत विकासका लागि रु चार करोड १८ लाख १८ हजार, शिक्षा क्षेत्रका लागि शिक्षकहरुको तलव, भत्ता प्रशासनिक खर्च समेत रु १० करोड ९९ लाख ७५ हजार र विविध क्षेत्रका लागि रु २६ लाख ३५ हजार गरी विनियोजन गरिएको छ । जुन कुल बजेटको १५.५८ प्रतिशत हो ।

नगर प्रमुख वसन्त मिश्रको अध्यक्षतामा आयोजित सार्वजनिकीकरण कार्यक्रममा पूर्व सांसदहरु हिरालाल चौधरी, डा. सुवोध पोखरेल, मुन्नी गुप्तासहित नेकपा, काँग्रेस, फोरम, राजपा, राप्रपा नेपालका प्रतिनिधीहरुले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।