बहादुर आइमाई

बहादुर आइमाई


nisedh‘आइमाई पनि यस्ता हुँदारहेछन्, पूर्वाञ्चलका ड्राइभरहरूको त सातै जान्छ अहिले,’ इटहरीस्थित पाथीभारा होटेलको लबीमा कसैले यस्तो कुरा गरेको सुनेपछि यस्तो बहादुर ‘आइमाई’ को रहेछ त… भन्ने जिज्ञासा लाग्यो । कुराकानीका क्रममा थाहा भयो– उनीहरूले पूजा सिंहको कुरा गरेका रहेछन् । एसपी पूजा अहिले पूर्वाञ्चलको ट्राफिक प्रमुख छिन् । पूर्वाञ्चलको ट्राफिक व्यवस्थापनमा ठूलो परिवर्तन ल्याएपछि त्यसबाट प्रभावित हुँदै सुनसरीका व्यवसायी भोला दुलालले एक कार्यक्रममा ट्राफिकका लागि आफूले केही सहयोग गर्न सक्छु कि भन्दै तत्काल दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेछन् । दुई लाख रुपैयाँले ट्राफिक प्रहरीलाई आवश्यक ठूला सामग्रीहरू त नआउलान् तर जनस्तरबाट त्यसरी सहयोगको घोषणा भएको भने उक्त क्षेत्रमा पहिलो घटना रहेछ । मानिसहरूले चर्चा गरे, नेतृत्वले निकै फरक पार्दोरहेछ, पूर्वाञ्चलको सम्पूर्ण सुरक्षा अवस्थामा अहिले फरक आएको छ । वास्तवमा सुरक्षा भन्ने कुरा अनुभूतिको कुरा हो, यदि त्यो अनुभूति सर्वसाधारणलाई हुन्छ भने त्यसलाई सुरक्षा अवस्था राम्रो भएको स्थान मान्न सकिन्छ । ‘यो क्षेत्रका डीआईजी नवराज सिलवालले काठमाडौंबाट आएर एक्कासि संविधानसभाको चुनाव हुन्छ, पूर्वाञ्चलमा सुरक्षाको कुनै समस्या हुँदैन, सब ठीक छ भन्दा हामी छक्कै परेका थियौँ,’ राष्ट्रिय महिला आयोग र शान्ति तथा पुनर्निर्माण मन्त्रालयको कार्यक्रममा भाग लिन धनकुटाबाट सुनसरीको इटहरी आएकी एक सहभागीले भनिन्, ‘तर, चुनाव शान्तिपूर्ण नै भयो । निर्वाचनका लागि लिम्बुवान, खम्बुवान, माओवादी धेरैथरीको अवरोध अगाडि देख्दादेख्दै पनि त्यसप्रकारको अभिव्यक्ति दिँदा सरकारी मान्छेले जे पनि बोल्छन् भन्ने रूपमा स्थानीय जनताले लिएका रहेछन् तर समयक्रममा बोलेका कुराहरू पुग्दै जाँदा नेतृत्व ठूलो कुरा रहेछ जस्तो उनीहरूलाई लागेको रहेछ । वास्तवमा अनुभूति ठूलो कुरा हो, सुरक्षादेखि आत्मविश्वाससम्म हरेक कुरामा यो लागू हुन्छ ।
पूर्वाञ्चलका १६ वटा जिल्लामध्ये जहाँ–जहाँबाट नाइट बसहरू लाग्छन्, ती जिल्लाका बसपार्कहरूमा अहिले गाडी चल्नुअघि हवाईजहाजमा जस्तै यात्रुलाई गाडीको स्पिडदेखि कहाँ–कहाँ हुँदै जाने, कहाँ खाना खानेलगायतका कुराबारे जानकारी दिन थालिएको छ । यसप्रकारको जानकारी ट्राफिक प्रहरीको रोहवरमा बसका ड्राइभरले दिन्छन् । यसो गर्नुको एउटा उद्देश्य यात्रुले चालक चिनुन् भन्ने पनि रहेछ । ‘चालक चिनेपछि खाना खाने ठाउँमा उसले मादकपदार्थ सेवन ग-यो कि गरेन भन्ने कुरा यात्रुले हेर्न सक्छन् । सेवन गरेको देखे प्रहरीलाई खबर गर्न सक्छन् । रात्रिसेवा दिने बसहरूमा आधा बाटो पुगेपछि चालक बदल्नुपर्छ । चालक बदलिए कि उही छन् यात्रुले हेर्न सक्छन्,’ एसपी पूजाले भनिन्, ‘ट्राफिक जनचेतनामा वृद्धि गर्नु आवश्यक थियो, त्यसका लागि स्कुल, कलेज, हाटबजार, मेला, सर्वसाधारणहरूलाई लक्षित गरिएको छ । ट्राफिक चेतना सवारीसाधनमा हिँड्नेहरूका लागि मात्र नभएर सडक प्रयोगकर्ताहरूलाई पनि जरुरी ठानेर कार्यक्रमहरू अघि बढाइएको छ । अरूलाई सुधार्नका लागि आफैँबाट सुरुवात गर्नु थियो, त्यसैले आफ्नै प्रहरीहरूलाई सुध्रनका लागि अभिमुखीकरण गरियो । अहिले हाम्रा ट्राफिक प्रहरीहरू नरम भाषामा बोल्छन्, पुरुषलाई सर र महिलालाई म्याडम भनी सम्बोधन गर्ने गर्छन् । मापसे होस् या अन्य कारबाही जेमा परे पनि पर्नेहरूलाई गर्ने व्यवहार फरक छ । पहिला लाइसेन्स निकाल्नुस् त भनिन्थ्यो भने अहिले लाइसेन्स पाऊँ न हजुर भन्ने गरिएको छ ।’ नम्र व्यवहारले अपराध गर्नेहरूलाई स्वीकार गर्न पनि धेरै बेर नलाग्ने अनुभव ट्राफिक प्रहरीहरूको छ । एसपी पूजा र उनको टिमले राज्यलाई राजस्व पनि विगतको तुलनामा तीन गुणाभन्दा बढी उठाइदिने गरेको छ । त्यति दुःख गरेर उठाएको राजस्व कसरी प्रयोग भइरहेको छ त्यो अलग कुरा हो, तर पूर्वाञ्चलमा अहिले दिनको करिब तीन लाख सम्म राजस्व ट्राफिक प्रहरीबाट उठिरहेको छ । ०७० माघ २६ गतेको अपडेट एसपी पूजा यसरी लिइरहेकी थिइन्– कारबाही सङ्ख्या ९७७, जसमा सातवटा मापसे, उठेको राजस्व दुई लाख ३८ हजार पाँच सय ।
नेपाल प्रहरीको समग्र भौतिक तथा अन्य अवस्थाको ‘रिफ्लेक्सन’बाट ट्राफिक प्रहरी पनि मुक्त छैन । ०५३ सालमा निकासा भएको जनशक्तिले अहिले १८ वर्ष पुग्दा पनि धानिरहनुपरेको छ । पूर्वाञ्चलका १८ स्थानका लागि त्यतिबेला छुट्याइएको जनशक्तिले अहिले ६० स्थानमा काम गर्नु परिरहेको छ । १८ वर्षअघि र अहिले सवारीसाधनको चापमा कति फरक आइसक्यो, सडकहरू कतै बन्दैछन्, कति भत्कँदैछन् । त्यतिबेला फराकिला लाग्ने सडक अहिले सवारी चापले साँघुरा भइसके तर उही संरचनाले अहिलेसम्म काम गरिरहेको छ । गतिला भवन छैनन्, कतिपय स्थानमा त भवन नै छैनन् । इटहरी चोक होस् या दमक या विराटनगर ड्युटीमा रहेका ट्राफिकले ड्युटीभर पानी नखाई पिसाब च्यापेर बस्नुपर्ने अवस्था छ । महिलालाई त झन् थप समस्या छ । शौचालयदेखि महिनावारी हुँदा ड्युटीमा खटिनेसम्मका फरक समस्याहरू छन् । ठूला दुर्घटनामा रेस्क्यु गर्ने सामग्रीहरू छैनन् । सीमित स्रोतसाधनबीच पनि ट्राफिक व्यवस्थापनको व्यापक सुधारमा एसपी पूजा र उहाँको टिम लागिपरेको छ । कसैले तपाईंले राम्रो गरिरहनुभएको छ भन्नेहरूलाई उनी भन्छिन्, ‘म एकजनाले मात्र गरेर केही हुँदैन, यसमा डीआईजी (नवराज सिलवाल) साबको भिजनदेखि काममा खटिने प्रत्येक अफिसर र जवानको इमानदार भूमिकाले काम गरेको छ ।’ होटल लबीमा कुरा गर्नेहरूबाट सुनिएको ‘यी एसपी त आइमाई भए पनि लोग्नेमान्छेजस्ती’ भन्ने कमेन्टमा सहभागी हुँदै गत आइतबार यस पङ्क्तिकारले भनेकी थिएँ, ‘होइन ती एसपी साब महिला भएरै महिलाजस्ती भएकी होलिन् । बहादुर हुँदैमा पुरुषजस्तै भन्नुभन्दा महिलाजस्तै सहासी भने पनि त हुन्छ नि ।’ लबीमा जेन्डरको कक्षा लिएजस्तो गरी बोलेँ कि जस्तो पनि लाग्यो । उनीहरूले के बुझेर हो थाहा भएन, तर हो–हो भनेर सहमतिचाहिँ जनाए । भोलिपल्ट थाहा भयो तीमध्ये केहीचाहिँ यातायात व्यवसायसँग जोडिएका मानिसहरू रहेछन् । यो एउटा उदाहरणीय प्रसङ्ग हुन सक्छ, समग्रमा भन्ने हो भने सबैले आ–आफ्नो ठाउँबाट यसैगरी कामहरू गर्दै गए मुलुक बन्न धेरै समय लाग्दैन थियो कि भन्न सकिन्छ ।