पाँच दशकभन्दा ज्यादा अनवरत राजनीतिक यात्राका क्रममा पटक–पटक अवसर पाएर पनि कुनै पनि सरकारी लाभको पदमा नरही त्याग र निष्ठाको राजनीतिमा अलग तथा विशेष पहिचान बनाएका साधु व्यक्तित्व सुशील कोइरालाको काँधमा मुलुकको प्रमुख कार्यकारी ओहोदाको जिम्मेवारी आएको छ । नेपाल राष्ट्रको ३७औँ प्रधानमन्त्रीका रूपमा कोइरालाले शपथ लिनुभएको छ । नेपाली काङ्ग्रेसका सभापति कोइरालालाई हासिल भएको प्रधानमन्त्रीत्वसँगै राजनीतिक फाँट वा दलहरूको पकडबाट करिब–करिब फुस्किइसकेको ‘राजनीति’ पुनः दलहरूकै पोल्टामा फर्किएको अनुभूति गरिएको छ । झट्ट हेर्दा विशेषतः नेपाली काङ्ग्रेस पार्टी या सभापति कोइरालालाई विशेष सफलता मिलेजस्तो देखिए पनि खल्बलिएको पद्धतिलाई सम्हाल्दै पुनर्जागृत भएर अनन्त सङ्क्रमणको गोलचक्करबाट मुक्ति र आर्थिक समृद्धिको बाटो पहिल्याउने सवालमा मिलेर अघि बढ्न सबै दललाई साझा अवसर हासिल भएको रूपमा यस परिवेशलाई अथ्र्याउनुपर्ने हुन्छ ।
दोस्रो संविधानसभाको निर्वाचनमा सुशील कोइरालाकै आदर्श छवियुक्त नेतृत्वका कारण काङ्ग्रेसलाई पहिलो दलको हैसियत मिल्यो । कोइरालाको जीवनकै महत्वपूर्ण उपलब्धि मान्न सकिने यस सफलताले नै आज मुलुकको कार्यकारी प्रमुखको स्थान हासिल गराएको इन्कार गर्न मिल्दैन । तथापि, अत्यन्तै चुनौतीपूर्ण परिस्थितिबीच सुशील कोइरालाको काँधमा देशको अभिभारा आएको छ । समकालीन नेताहरूमा सर्वाधिक सादा र शिष्ट जीवनशैली अवलम्बन गर्दै आएका अनि सत्ता वा शक्तिको पछि नलागी सङ्गठनको काम रोजेर आफूलाई स्थापित गरेका कोइरालाबाट शान्त र समृद्ध नेपाल निर्माणका लागि आफू राजनीतिमा सक्रिय रहेको अभिव्यक्ति पछिल्लो चरणमा व्यक्त हुँदै आएका छन् । वास्तवमा आमनेपालीको मूल चाहना पनि शान्त र समृद्ध देशको नागरिकका रूपमा स्वतन्त्रतापूर्वक जीवन यापन गर्नु नै हो । संविधान बनाउनेदेखि अन्य जे–जति राजनीतिक प्रक्रिया वा काम–कारबाहीका कुरा आज भए–गरिएका छन्, यसको सारभूत अभीष्ट नै शान्त, सुरक्षित र समृद्ध देशका रूपमा नेपाललाई विश्वसामु उभ्याउनु नै हो । यो महान् कार्यलाई सार्थक तुल्याउने अभियानमा प्रधानमन्त्रीका रूपमा सुशील कोइरालाको कस्तो र कति योगदान रहन्छ, यसबाट नै उहाँको सफलता–असफलताको मापन एवम् इतिहासमा स्थान निर्धारण हुन्छ ।
प्रधानमन्त्री कोइरालाका सामु यतिखेर एक वर्षमा संविधान लेखनको वातावरण बनाउने, सुशासन दिने र मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने जस्ता अहम् चुनौती तेर्सिएका छन् । सबै दललाई सहमति र विश्वासमा लिएर एक वर्षभित्रै संविधान निर्माण गरी जारी गराउने काम जनतासमक्ष प्रतिबद्धता जनाउनुजत्तिको सहज छैन । जनतामा नयाँ आशा र अनुभूति जगाउने काम हरेक नेताका निम्ति चुनौतीयुक्त नै हुन्छ, बोलीले होइन व्यवहारतः सिद्ध गर्नुपर्ने बाध्यताले थिचिएका सुशील कोइरालाजस्ता निष्ठा र नैतिकवान नेताका लागि त यो काम झनै जोखिमयुक्त देखिन्छ । राष्ट्रभित्र र बाह्य शक्तिहरूलई पनि सन्तुलनमा राखेर कार्यभार निर्वाह गर्नुपर्ने विषम अवस्था छ । यसका लागि पहिलो र सबैभन्दा महत्वपूर्ण औजार त संविधानलेखन नै हो । प्रधानमन्त्रीका रूपमा अब निष्ठावान नेता कोइरालाको राजनीतिक परीक्षण सुरु भएको छ । बाटो अत्यन्त उबडखाबडपूर्ण भएकाले असफलता र दुर्घटनाको जोखिम उत्तिकै बढाएको छ ।
गणतन्त्रलाई संस्थागत गर्दै दिगोशान्ति र आर्थिक समृद्धिको मार्गमा फड्को मार्नका लागि आज जुन प्रकारको नेतृत्व देशले चाहिरहेको हो, यसका लागि तुलनात्मक रूपमा सुशील कोइराला नै सर्वाधिक उपयुक्त पात्र हो भन्नेमा विपक्षीले पनि बहस गर्नु आवश्यक ठान्दैन । तथापि, कोइरालाको त्याग र निष्ठाको प्रशंसाले मात्र मुलुक बन्न भने सक्दैन । दलगत या व्यक्तिगत स्वार्थबाट माथि उठेर दलहरूले देश जनताको हितमा अब काम गर्नेछन् भन्ने केही आशा र विश्वास जनतामा जागेको परिवेशमा फेरि पनि मन्त्रालयविशेष प्राप्तिका लागि प्रमुख दलहरूले जसरी विवाद र खिचलो गरे, यसले पुनर्जागृत हुन लागेको जनविश्वासमा गम्भीर आघात पर्न सक्नेतर्फ नेताहरूको ध्यान पुग्नुपर्छ । ऐतिहासिक जिम्मेवारीप्रति अझै पनि गम्भीर हुन नसक्नुको परिणति लरतरो खालको हुनेछैन भन्ने बोध खासगरी सरकारका सहयात्री काङ्ग्रेस र एमालेका नेतृत्वलाई हुनैपर्छ । मूल्य, मान्यता, आदर्श र निष्ठामा आधारित राजनीति हुनुपर्छ भन्ने कुरामा केन्द्रित हुने हो भने सुशील कोइराला यसका लागि समकालिक नेताहरूमा शीर्ष स्थानमा रहे पनि कोइरालाको एक्लो निष्ठा, त्याग वा समर्पणले मात्र आजका कठिनतम् चुनौती चिर्ने कार्य सम्भव नहुन सक्छ । यसका लागि सबै पक्षको समर्थन, सहयोग र हार्दिक साथ आवश्यक पर्छ । जे होस्, लामो समयको संसयपछि दलहरूको सरकार गठन भएकोमा बधाईका साथ काङ्ग्रेस सभापति सुशील कोइरालाको नेतृत्वको सरकारलाई वर्ष दिनमा संविधान बनाएर जारी गर्ने सफलता मिलोस्, यही हाम्रो शुभकामना ।
प्रतिक्रिया