– रामकुमार एलन
‘अज्ञात समूहद्वारा पार्वती कट्टेलको हत्या, बलात्कारपछि हत्या भएको प्रहरीको आशङ्का, हत्याराको पहिचान हुन बाँकी,’ टेलिभिजनमा फ्लास न्युज चलिरहेको थियो । पिचुर मुक्तानलाई अप्ठ्यारो लाग्यो । उनी कताकता पार्वती कट्टेलको नाम सुन्नेबित्तिकै जुरूक्क उठे । फेरि फ्लास न्युज हेरे । हो, पार्वती कट्टेलको हत्या भएको थियो । उनले सम्झिए, पार्वती कट्टेल । फेरि सम्झिए, पार्वती कट्टेल । तत्काल दिमागमा केही आएन । उनी टाउकोमा पिट्दै सम्झिन प्रयास गर्दै थिए ।
पार्वती कट्टेल अर्थात् सहकारी नानी । हो, पार्वती कट्टेल । उनले सम्झिए पुराना दिनहरू जसले म्हेन्दोबारे उनलाई बताएका थिए । गाउँमा गएर सर्कसमा छोरी पठाउने अभिभावकहरूलाई चेतना छरेकी थिइन् । माओवादीसँग पनि नडराई उनी गाउँ पुगेकी थिइन् । म्हेन्दोको हालतबारे उनलाई तिनै दिदीले भनेकी थिइन् ।
‘उफ्’ के हुन लाग्यो यो,’ मनमनै पिचुरले भन्यो, ‘गाउँ त झन् खत्तम हुँदै गयो ।’
०००
पिचुरका मनमा आक्रोशको पहिरो जाँदै थियो । ऊ युद्धमा सामन्तलाई गरेको कारबाही सम्झन थाल्यो । मनमा विद्रोहको ज्वाला बल्न थाल्यो । उसले सम्झ्यो– आफ्नै कमान्डर ज्वाला स्याउलीबजारमै मारिइन् । दोषीमाथि कारबाही भएन । पार्टीमा राता मण्डलेहरूले अवसर पाए । फटाहाहरू माओवादीमा लेप लागे र इमानदारहरू छेउ लागे । उसलाई कताकता आज विरक्तताले छोएको थियो । उमेरमा आमाबाबु छाडेर बन्दुक बोक्न र गाउँमा लड्नलाई योग्य, ब्यारेकमा बस्नलाई अयोग्य ? यो कस्तो राजनीति । सेनाविनाको कम्युनिस्ट हुँदैन भनेर हाम्रो आँखामा पट्टी लगाएको किन ? जातीय नारा घन्काएर समाजमा अराजकता मच्चाएको किन ? हत्याराहरू जोगिने र समाजका राम्रा मानिसहरू धमाधम मारिए किन ? ऊ रिसले चुर थियो । उसलाई आज किनकिन फायर खोल्न मन थियो । तर न ऊसँग बन्दुक छ, न उसका कुरा सुनिदिने कोही ? उसको दिमागमा एकाएक हिजोको रगतका फाल्साहरू उग्राउन थाल्यो । ऐंठन हुन थाल्यो ।
प्रहरीले पत्रकार सम्मेलन ग-यो । पत्रकार सम्मेलनमा नयाँ रहस्य आउँदै थियो । पार्वती कट्टेल र उत्तम नेपालीको हत्याराहरू पत्ता लागेछन् । उनीहरू सबै सार्वजनिक हुँदै रहेछन् । हत्यामा पार्वती कट्टेलकै पतिको हात रहेछ । अर्थात् कट्टेललाई विवाहको नाटक गरेर वेश्यालयमा बेच्ने पतिकै योजनामा उनीहरूको हत्या भएको रहेछ । पछिल्लो समय नेपालबाट अरब मुलुकमा मानव तस्करी बढिरहेको थियो । मानव बेचबिखन बढिरहेको थियो । दिनहुँ चारवटा लासका बट्टा काठमाडौं आइरहेका थिए । फर्किएकाहरू कोही प्लेनमै बच्चा पाइरहेका थिए । विदेशीका गर्भ बोकेर आउँदै थिए । विवाह गरेर गएका महिलाहरू त नेपाल आउनै मानिरहेका थिएनन् । आएकाहरूको धमाधम पतिसँग सम्बन्धविच्छेद भइरहेको थियो । समाज भ्रष्टीकरणमा भासिँदै थियो ।
मानव तस्करीविरूद्ध पछिल्लो समय पार्वती कट्टेल र उत्तम नेपालीले एउटा संस्था चलाएका थिए र वैदेशिक रोजगारीका नाममा ठगिएकाहरूलाई न्याय दिलाइरहेका थिए । त्यही क्रममा मानव तस्करीका नाइके रहेछन् उनै कट्टेलका पूर्वपति । करोडौँ ठगीमा जोडिएका उनैले भाडाका गुण्डा लगाएर हत्या गर्न लगाएका रहेछन् । हत्यामा संलग्न त माओवादीकै पूर्वछापामार रहेछन् । ब्यारेकबाट अयोग्य भएर फर्किएकालाई हातमा लिएर हत्या गराउने काम भएको रहेछ । समाज भ्रष्टीकरणका कारण हत्या सामान्य भइरहेको थियो ।
‘पार्टी फुट्यो रे,’ छेगुले भने, ‘पिचुर म त वैद्यतिर जानुपर्छ जस्तो छ, सीसीएम दिने रे ।’ छेगुजस्ता असन्तुष्ट नेताहरूले नेकपा माओवादी फुटाएका छन् । वैद्य र डाक्टर उपाध्यक्ष भएको पार्टी फुटेको छ । नफुटोस् पनि कसरी ? संविधानसभाको माग गर्ने पार्टी नै सरकारमा छ । संविधान बनाउने जिम्मा उसकै हातमा छ । तर, संविधान बन्न सकेको छैन । सेनाविनाको कम्युनिस्ट हुँदैन भने पनि पार्टीका जनसेनालाई सेनाको जिम्मा लगाइएको छ । १६ हजार मारिएका माओवादीप्रति नफरत देखाइरहेका छन् । बेपत्ता पारिएकाको उस्तै गुनासो । हिजो भोट दिने काठमाडौंका सुकुम्बासीको घरमा डोजर लगाउने काम भइरहेको छ । कमलरीहरूको बलात्कार र हत्या भएको छ । हलिया उन्मूलन भएको छैन । सबैका दोषीहरू पार्टीमा छन् । मानवतस्करलाई कारबाही गर्न सक्दैन पार्टी । तस्करहरूले पार्टीलाई सहयोग गरेका छन् । कमलरीका हत्याराहरू पार्टीका सल्लाहकारका नातेदार । हलिया मुक्तिका लागि पठाइएको पैसामा पार्टीकै नेताहरूबीच बाँडचुँड । साँच्चै युद्धमा खारिएका छेगु र पिचुरहरूको पार्टीमा भूमिका थिएन । अझ नभनी नहुने त के थियो भने, दुई दशैँ भइसक्यो, वैद्यपक्षीय कार्यकर्ताले दशैँखर्च पनि पाएका छैनन् र डाक्टरपक्षीयले आलिशान महल ठड्याएका छन् । एउटै पार्टीमा यत्रो फरक ? त्यसैले यसपटक हिम्मत गरेर ‘भन्ने कुरा आ’छन्’ थेगो राख्दै पार्टी फुट्यो । कमरेड मोहन वैद्य अध्यक्ष भएका छन्, ‘अब हामी असली माओवादी भन्ने कुरा आ’छन् ।’ उनको भाषण सुनेर ताली बजाउने पनि कम छैनन् ।
संविधानसभाको नतिजा आयो । युद्ध लडेर अयोग्य दरिएका पिचुरहरूले बहिष्कार गरेको चुनावमा माउपार्टी भनेर गर्व गर्नेहरू रोइरहेका छन् । उनीहरू चुनावमा धाँधली भयो भनेर रोइरहेका थिए । एकाएक १२ वर्ष युद्ध लडेको पार्टी जनताबाट बहिष्कृत भएको थियो । नहोस् पनि कसरी सबैको सुस्केरा उस्तै थियो अर्थात् स्याउलीबजार र पिचुरको परिवारको सुस्केराजस्तै । कसैले हालेनछन् भोट पिचुर परिवारको नियति देखेर । पार्टी सत्ताबाट लखेटिएको छ । अघिल्लो संविधानसभामा आफ्नै नेतृत्वमा चुनाव गराएर नेपाली काङ्ग्रेस दोस्रो भएको थियो, यसपटक आफैँले चुनाव पनि गराउन नसकेर माओवादी तेस्रो भयो । अर्थात् युद्धमा रगत बगाउने पिचुरहरू चुनावबाहिर थिए र अवसरवादीहरूले माओवादी पार्टी अपराधीको शिर लुकाउने गौँडा भएको थियो । पिचुरको हात समातेर छेगु केही बोल्न खोज्छन् तर सक्दैनन् । पक्कै बाबु भनिरहेका छन्, ‘अनिश्चित भविष्य । आशा गर्ने ठाउँ छैन ।’
युद्धको भुङ्ग्रोमा सेकिएर मुलुक उँभो लाग्न नसकेजस्तै पिचुर र उसको स्याउलीबजार गाउँ १५ वर्षअघि जुन अभाव, नेतृत्वहीन, अराजकतामा रूमल्लिरहेको थियो । केही सिमेन्टका घर, टल्किने छाना र गाउँमा गाडी, प्रविधि पुगे पनि खास फरक छैन । उर्वर सपना र भर्भराउँदो जवानी बोकेर स्याउलीबजारमा भट्टी थाप्ने, बैँसको ढडियामा कसैलाई पार्ने, सन्तान उत्पादन गर्ने र जिन्दगी रसिलो पार्ने सपना बोकेर जो स्याउलीबजार झरिरहेका थिए, ती हिजो राणाजीका थिए, पछि गलैँचाका भए, अनि सर्कस गए, वेश्यालय पुगे, आज पनि वैदेशिक रोजगारीका नाममा बेचिएकै छन् । उनीहरूको श्रम होइन बैँस बेचिएको छ । स्याउलीबजारमा पनि बेचिएकै थियो, विदेशी मुलुकमा पनि बेचिएकै छ । स्याउलीबजारमा पनि विनाबाबुका सन्तान टन्नै थिए, आज घर फर्कँदा विमानमै बच्चा पाउनेहरूको पनि बाबुको पहिचान छैन । हो, स्याउलीबजारको यो कथा सुरू मात्र भइरहन्छ, सकिँदैन । सकियोस् कसरी, जब मुलुकमा राजनीतिक स्थायित्व छैन र दलहरू इमानदार छैनन् । इमानदारहरू मारिने क्रम नयाँ पनि होइन, भीमसेन थापा दरबारमै सेरिए, गाउँमा छेगुहरू सेरिएका छन् । बाँचे पनि घिडघिडो जिन्दगी लिएर पिचुर सेरिएको छ । स्याउलीबजार सुखको कल्पना गर्ने एउटा अत्यासलाग्दो जीवनको कथा हो ।
भाँचिएको मन, च्यातिएको मन र उजाडिएको मन बहलाउन स्याउलीबजारमा एक डबका जाँड र साहुनीको क्षणिक मुस्कान त पाइन्छ तर लिकमा नहिँडेको राजनीति र राजनीतिले नबसाएको संस्कारका कारण भ्रष्टीकरणको कोपभाजनमा परेको समाजका कारण स्याउलीबजार कहिल्यै सुख, समृद्धि, प्रगति र उन्नतिको पात्र हुनै सक्दैन । स्याउलीबजार हिजो पनि दुई बोतल छ्याङ, एक कसौँडी आलु र सिद्रा माछा बोकेर ग्राहक कुथ्र्यो, आज पनि त्योभन्दा ठूलो सपना उसले देख्न सकेको छैन । सकोस् पनि कसरी, भोलिपल्ट आउँदा छाप्रोमा आगो झोसिएको हुन सक्छ । रात बास बस्दा गोली चल्न सक्छ । स्याउलीबजारमा आउनेहरू बढेका छन्, मानौँ पार्टी प्रवेश गर्नेहरूको लर्कोजस्तो । स्याउलीबजारबाट निराश भएर पलायन हुने पनि कम छैनन्, मानौँ छेगु र पिचुरको नियतिजस्तो । हो, स्याउलीबजारको नियतिको यो सुरूवात मात्रै हो, समापन सहज छैन । सहज बनाउने गतिला पात्रको जन्म नै भएको छैन । हिजो मैलो फरिया लगाउने आसमाया थिइन् स्याउलीबजारमा । आज टी–सर्ट र कट्टु लगाएर बियर–मासु सर्भ गर्ने आसना छिन् । केही पहिरन, लवाइखवाइ र परिस्कृत परिकार होलान् । नियति उही, वास्तविकता उही । सपना उही । दृश्य उही । उही स्याउलीबजार । उही सुस्केरा अर्थात् स्याउली सिम्फोनी । निम्छराको जीवन बर्बाद पार्ने राजनीतिक खेलाडीलाई थकाइ मार्ने थलोबाहेक केही भएन मुलुकमा । मुलुक नै यतिमा सीमित भएपछि परिवर्तनको जामा ओढेर पिचुरको तातो रगतजति उम्लिए पनि थिच्छ उसलाई अयोग्यको बिल्लाले, पारिवारिक बोझले र अपराधीहरूको जत्थाले । उसको सुस्केरा अगतिलो सङ्गीत बनेर समाज उग्राइरहेको छ अर्थात् स्याउली सिम्फोनी यस्तै पिचुरहरूको दुःख बिसाउने चौतारी मात्र हो ।
प्रतिक्रिया