बझाङमा राष्ट्रिय ग्रीडको विद्युत जोडिदैं, उपभोक्तामा खुसियाली

बझाङमा राष्ट्रिय ग्रीडको विद्युत जोडिदैं, उपभोक्तामा खुसियाली


–रीदमसिंह ठकुरी, बझाङ
असोज पहिलो साता देखि बझाङबासीले राष्ट्रिय प्रसारण लाइनको विद्युत उपभोग गर्न पाउने भएका छन् । बर्षौदेखि विद्युतको समस्या झेल्दै आएका जिल्लाबासीहरु केन्द्रीय प्रणालीको विद्युत उपभोग गर्न पाउने भएपछि खुशी भएका हुन् ।

जिल्लाका १२ स्थानीय तहका नागरिकहरु अहिलेसम्म स्थानीय लघुजलविद्युतको भरमा बस्दै आएका छन् । नेपाल विद्युत प्राधिकरणले सदरमुकाम चैनपुर र आसपासका क्षेत्रमा असोज पहिलो सातादेखि केन्द्रीय प्रणालीको विद्युत बाल्ने योजना बनाएको छ ।

बैतडीको श्रीभावरबाट शुरु भएको लाईन तथा पोल बिस्तारको काम र चैनपुरको सेलाखेतमा ट्रान्समिटर राख्ने काम समेत पुरा भईसकेको छ । प्राधिकरणले ३३ केभी लाइन बिस्तार गरी जयपृथ्वी नगरपालिकाका केही र सुर्मा गाउँपालिकाका केही वडामा मात्रै बत्ती बाल्ने तयारी गरेको नेपाल बिद्युत प्राधिकरण अत्तरियाका इन्जिनियर तिजबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार राष्ट्रिय प्रसारण लाईन सदरमुकाम नजिकै रहेको सेलाखेतमा एकसय एम्पीएरको ३३ हजार भोलटेजका दुईवटा ट्रन्समिटरमार्फत चैनपुर लगायत आसपासका क्षेत्रमा बिजुली बालिनेछ । यो सँगै जिल्लाका १८ सय घरधुरी झिलीमिली हुने भएको छ ।

२०४७ सालमा नेपाल बिद्युत प्राधिकरणले नै सदरमुकाम चैनपुरलाई लक्षित गरि दुईसय किलोवाट क्षमताको लघु जलबिद्युत निर्माण गरिदिएको थियो । २०५० सालदेखि सुर्मादेवी बिद्युत प्रालीले विद्युत वितरणको जिम्मा पाएको थियो । चैनपुरमा बिद्युतको क्षमता कम र बितरण बढी भएको र कुनैबेला पानीको अभावका कारण पनि विद्युत नियमित भने हुन सकेको थिएन् ।

बिद्युत कै कारण सदरमुकामको ब्यापार व्यावसायमा समस्या भएको चैनपुरका ब्यबसायी नगेन्द्र खड्काले बताए । ‘अब राष्ट्रिय प्रसारणको विद्युत आएपछि आशा जगाएको छ ।’ उनले भने, ‘यो हामी सबैको खुशीको विषय हो । अब अन्धकार सदरमुकाम चैनपुर पनि उज्यालो हुने भयो ।’ हाल जिल्लाका १२ स्थानीय तहमा ४६ भन्दा बढि लघुजलविद्युत रहेका छन् ।