जोखिमयुक्त बित्तिय कारोबार ‘ढुकुटी’ मौलाउँदै

जोखिमयुक्त बित्तिय कारोबार ‘ढुकुटी’ मौलाउँदै


विश्वास र इमानका भरमा सहमतिमा खेलिने खेल ढुकुटी पछिल्लो समय निकै मौलाउँदै गएको छ । समूह बनाएर प्रत्येक सदस्यबाट निश्चित रकम संकलन गर्दै महिनैपिच्छे एकजनाले मूल रकम लगेर गर्ने कारोबार हो, ढुकुटी । ढुकुटीको जालोमा ठूला व्यापारी घराना परिवारका व्यक्ति, सेना र प्रहरीका वरिष्ठ अधिकृत र उनीहरूका श्रीमतीमात्र नभई सवारी चालक समेत छन् ।

सहमति, इमान र विश्वासका आधारमा खेलिने ढुकुटी कारोबार हिजोआज सानादेखि ठूला व्यापारीबीच मौलाउँदो छ । टोलटोलमा महिला समुहदेखि ठूलाठूला ब्यापार व्यवसाय गर्ने ब्यापारीहरु एक आपसमा ठूलो रकमको ढुकुटीको कारोबार गर्ने गर्दछन् । जुन निकै जोखिमयुक्त बित्तिय कारोबार हो । हिजोआज प्रमुख शहरहरुमा दैनिक, साप्ताहिक, मासिक र त्रैमासिकसम्मका ढुकुटीका कारोबार हुने गरेका छन् । व्यापारीहरुले एकै किस्तामा करोडौंसम्म पनि ढुकुटीको कारोबार गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार ढुकुटीको कारोबार गर्नेहरुमा सबैभन्दा बढि काठमाडौंका व्यापारीहरु नै अगाडी रहेका छन् । बिशेषगरी असन, भोटाहिटी, ठमेल, न्यूरोड र महाबौद्धका व्यापारीहरु ढुकुटी कारोबारमा अघि रहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

ढुकुटीको जालोमा ठूला व्यापारी घराना परिवारका व्यक्ति, सेना र प्रहरीका वरिष्ठ अधिकृत र उनीहरूका श्रीमतीमात्र नभई सवारी चालक समेत छन् । ढुकुटीको कारोबार राम्रो नहँुदा खेलाउने घोप्पा र खेल्ने ग्राहकको उठीबास नै भएको प्रशस्त उदाहरणहरु हुदाँहुदै पनि ढुकुटी झन् मौलाउँदै गएको छ । कतिपय घोप्पाले ढुकुटी कै कारण व्यवहार बिग्रिएपछि ठाउँ नै छाडेर फरार हुने गरेका छन् । यतिका धेरै जोखिम हुँदाहुँदै पनि ढुकुटीको कारोबार भने बढिरहेको कार्यकारी निर्देशक थापाको भनाई छ ।

राष्ट्र बैंककाअनुसार मुलुकका मुख्य ८ सहरमा ७ अर्ब बढि रुपैयाँ बराबरको ढुकुटी कारोबार भइरहेको छ । धेरै पैसा आउने आसमा खेलिने ढुकुुटी पछिल्लो समय मृत्युको कारणसमेत बन्न थालेको छ । अबैध तबरबाट ढुकुटीको कारोबार हुँदा बैधानिक तवरले संचालन भएका बैंक तथा वित्तिय संस्थाहरुको कारोबारमा समस्या आउने गरेको छ । ढुकुटीका कारण बैंकहरुमा ब्याजदर, निक्षेप संकलन, ऋण प्रवाह लगाएतमा प्रभाव पर्न जाने राष्ट्र बैंकले जनाएको छ । महंगो र जोखिमयुक्त बित्तिय कारोबार रोक्नका लागि राष्ट्र बैंकले सबै स्थानीय तहमा बैंकको स्थापना र सबै नेपालीलाई वित्तिय चेतना फैलाउने योजना अघि सारेको छ ।