– विनोद नेपाल
आनी छोइङ डोल्माले गाएको कर्णप्रिय गीत छ– ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ । यो गीत कर्णप्रिय मात्र नभई यसको भाव पनि गम्भीर छ । आनीको उक्त गीतको प्रसङ्ग जोडेर यहाँ उठाउन खोजिएको सन्दर्भ भने बेग्लै छ । जसले जे सोच्छ त्यसले त्यही देख्छ । राम्रो खोज्ने/देख्नेले राम्रै खोज्छ/पाउँछ, नराम्रो सोच्ने–देख्नेले नराम्रै परिणति पाउँछ ।
सन्दर्भ यही फागुन १ गते ०५२ सालमा तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र विद्रोह आरम्भ गरेको सम्झनामा हालको एमाओवादीद्वारा मनाइएको ‘जनयुद्ध दिवस’ र सो अवसरमा एकीकृत नेकपा (माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिव्यक्त गरेको धारणाको प्रसङ्ग हो । ‘दलहरूले भनेझैँ वर्ष दिनभित्र संविधान निर्माण हुने लक्षण नदेखिएको’ भन्दै त्यसका लागि दबाब दिन वृहत्तर मोर्चा बनाउन प्रस्ताव गरेका प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधान बन्नेमा आशङ्का मात्र व्यक्त गरेनन्, संविधानसभालाई ‘राष्ट्रिय पञ्चायत’ देखेको पनि बताए ।
उनले ‘पहिलो संविधानसभामा नेपाली जनताको राम्रो प्रतिनिधित्व रहेको, जनजाति, मधेसी, महिला, दलित, मुस्लिम, हिमाली सबै आ–आफ्ना भेषभूषामा रहेको, कमैया, हलियाजस्तो तल्लो वर्गका प्रतिनिधि पनि गर्वका साथ आएका’ भन्दै ‘त्यो सभा युगान्तकारी भएको छनक मिल्ने गरेको’ धारणा व्यक्त गरे । तर, अहिलेको संविधानसभामा मञ्चदेखि फ्लोरसम्म हे-यो भने यो संविधानसभा हो कि राष्ट्रिय पञ्चायत भन्ने भ्रम हुने गरेको पनि उनले बताए । ‘अहिलेको संविधानसभा यसो हे-यो भने संविधानसभा हो कि राष्ट्रिय पञ्चायत हो भनेजस्तो छ,’ उनले भने, यसो मान्छेका अनुहार, भेषभूषा र चालढाल सबै हे-यो भने कहाँ आइयो भनेजस्तो छ, हामीले खोजेको ठाउँमा आइपुग्यौँ कि अन्त कतै ?’ यसो भने पनि उनले आफूले संविधानसभाको अपमान गर्न भने नखोजेको प्रस्टीकरण पनि दिए ।
यसो भन्दै गर्दा उनले अघिल्लो संविधानसभा परिवर्तनकारीको पक्षमा भए पनि दोस्रो संविधानसभाको स्वरूप त्यसविपरीतको भएको बताए । ‘अहिले संविधानसभाको समीकरण बदलिएको, साना पार्टी ठूला भएका, ठूला साना भएको, ठूला भएका पार्टी यथास्थितिवादी र परिवर्तनविरोधी भएको, सानाचाहिँ परिवर्तनका पक्षधर भएकाले पनि जनपक्षीय संविधान बन्नेमा आशङ्का रहेको’ पनि प्रचण्डको भनाई रह्यो । उनले १४८ र ४०५ को ध्रुवीकरण हेर्दा जनजाति, दलित, मधेसी, मुस्लिम, एकातिर रहेको र यथास्थितिवादी तथा सङ्घीयताविरोधी अर्कोतिर रहेकोजस्ता धारणा व्यक्त गर्न पनि उनी चुकेनन् । तर, यसो भनिरहँदा संविधानसभा समानुपातिक र समावेशी भएको तथा सबै दलबाट आवश्यक अनुपातमा त्यस्तो प्रतिनिधित्व भएको कुरा बिर्सेको देखिन्छ जुन आफैँमा आश्चर्यको विषय छ ।
यसरी मान्छेका अनुहार, भेषभूषा र हाउभाउ हेरेर कहाँ आइयो भन्ने भ्रममा पर्ने नेताबाट कसरी के अपेक्षा राख्ने नेपाली जनताले ? कुरा क्रान्तिका गर्ने परिवर्तनका गर्ने अनि मानसिकताचाहिँ ०४६ सालअघिकै परिवेशमा घुमिरहेको छ भने तिनबाट के अपेक्षा गर्ने ? सम्भवतः सूर्यबहादुर थापा, कमल थापालगायत पञ्चायतकालीन नेताहरूलाई सामुन्ने वा दायाँबायाँ देखेर र दौरासुरुवाल लगाउनेहरूको सङ्ख्या देखेर पनि उनले यसो भनेका होलान्, तर यस अवधिमा बागमतीमा धेरै पानी बगिसकेको छ । प्रचण्ड अझै ०४६ सालअघिकै मानसिकतामा भए पनि सूर्यबहादुर त्यसभन्दा धेरै अगाडि बढिसकेका उनका गतिविधिबाट बुझ्न सकिन्छ । यसबीच धेरैले आफ्ना नीति, विचार, मान्यता आदि परिवर्तन गरेर आपूmलाई समयानुकूल परिवर्तन र परिमार्जन पनि गराइसकेका छन् । कमल थापाले चाहिँ अपवादको रूपमा अझै पनि आफूलाई राजावादीकै रूपमा उभ्याउँदै छन् र यसपटक उनको उपस्थिति पनि एमाओवादीको पछि अर्थात् चौथो दलको रूपमा रह्यो जसको कारक आफूलाई परिवर्तनकारी भन्नेहरूले परिवर्तनको नाममा देखाएको नालायकी नै हो । प्रचण्डले दौरासुरुवालको पहिरनमाथि पनि व्यङ्ग्य गर्न खोजेको देखिन्छ । आफ्नोपन झल्कने पहिरनप्रति किन यतिसाह्रो पूर्वाग्रह ? राष्ट्रियताको कुरा गर्ने तर आफ्ना पहिरनलाई अर्घेलो देख्ने ? कस्तो विडम्बना ! निश्चय नै पहिरनले मात्र राष्ट्रियता जोगाउँदैन, भावना राष्ट्रवादी हुनुपर्छ । तर, पनि विदेशीको टाइसुट उचित कि दौरासुरुवाल ?
प्रचण्ड कमरेडलाई आफूकहाँ आएँ भन्ने लागेको रहेछ । अब यसमा उनी भ्रमित हुनु जरुरी छैन । हिजो दम्भका साथ बोलेको, हिँडेको र कतिपय अवस्था र सन्दर्भमा त एकप्रकारले कब्जा नै गरेको अवस्थाबाट अहिले सङ्कुचित हुनुपरेको कारण पनि उनलाई एकप्रकारको असहजता र अप्ठ्यारो महसुस भएको हुन सक्छ । अझ अगाडि सूर्यबहादुर, पछाडि कमल थापा छन् । तर, लोकतन्त्र भनेकै यही हो । अघिल्लो निर्वाचनमा काङ्ग्रेस–एमाले दण्डित भएका थिए, अहिले एमाओवादी दण्डित भएको छ जनताको अदालतबाट । यसलाई उसले स्वीकार र आत्मसात् गर्नुपर्छ । सोही कार्यक्रममा प्रचण्ड कमरेडले आफूहरू पराजित हुनुको कारणमा पार्टी विभाजन हो भन्ने स्वीकार गरिसकेको अवस्था पनि हो र फेरि एकीकृत हुनुपर्ने धारणा पनि व्यक्त भइसकेको छ भने पराजयका लागि अरू कसैलाई दोष दिनुभन्दा आफ्नै कमी–कमजोरीको समीक्षा गर्नु र अनावश्यक टीका–टिप्पणी र अरूको आलोचना गर्नुभन्दा आफ्नो हैसियत बुझी सोहीअनुरूपको भूमिका खेल्दै संविधान निर्माणमा गम्भीर हुनु नै उचित हुनेछ ।
प्रतिक्रिया