– वीरेन्द्रमणि पौडेल
नेपाल प्रहरी सङ्गठनमा हालै मात्र एउटा अपत्यारिलो घटना पत्याउनैपर्ने बाध्यताका साथ सार्वजनिक भयो । विकास अधिकारी नाम गरेका प्रहरी सहायक निरीक्षकलाई प्रहरी सङ्गठनले कमाण्डो तालिमका लागि विदेश पठाउने निर्णय ग-यो । त्यसप्रकारको तालिममा जान पाउने व्यक्तिलाई प्रहरी सङ्गठनभित्र निकै भाग्यमानी ठानिन्छ, तर अचम्मै भयो । ती प्रहरी सहायक निरीक्षक अधिकारीले तालिममा नजाने बताएर सबैलाई अक्क न बक्क पारिदिए ।
भएको के रहेछ भने ती असईले अमेरिकी भिसा पाउनका लागि प्रक्रिया अगाडि बढाएका रहेछन् र अन्तिमपटकको मौखिक परीक्षाका लागि उनी आफैँ उपस्थित हुनुपर्ने अवस्था रहेछ । उनले जागिरै माया मारेर त्यो मौखिक परीक्षामा सामेल हुन चाहे । प्रहरी सङ्गठनले दिएको जिम्मेवारी र आदेश पालना नगर्दा जागिरै जान सक्छ भन्ने कुरा उनले नबुझेका पनि होइनन् । यति थाहा पाउँदापाउँदै पनि उनले तालिममा जान अस्वीकार गरे । प्रहरीको जागिरमा इज्जत छ, दुई–चार हजार भने पनि तलबभत्तास्वरूप पाइन्छ । अरूलाई सुरक्षा दिन खटिने व्यक्ति आफैँ सामान्यतः अरू नागरिक भन्दा सुरक्षित पनि रहन्छ । बर्दीमा एकतारा टाँसेर जनताको माझमा जाँदा फूर्तिफार्ती पनि बेग्लै हुन्छ । अहिले पनि अरू पेसा वा जागिरभन्दा नेपाल प्रहरी सङ्गठनमा प्रवेशका लागि मान्छेहरू मरिहत्ते गर्छन् । सत्य–असत्य के हो निक्र्योल भइसकेको छैन । भन्नलाई भनिन्छ कि प्रहरी सङ्गठनमा सिपाही पदमा पुग्न पनि झन्डै एक लाख रुपैयाँ खुसुक्क कतै बुझाउनुपर्ने अवस्था पैदा भएको छ । असईका लागि पाँच लाख र इन्स्पेक्टरका लागि दश लाखसम्म टेबुलमुनिबाट लिनेदिने गरिन्छ र शक्तिशाली मान्छेकहाँ त्यो रकम पु-याइन्छ, बाँडचुँड गरेर त्यो दाम हजम गरिन्छ । यस्तो महँगो र इज्जतदार जागिरको माया नगर्नुलाई चानचुने बलिदान भन्न पनि सकिन्न । यति भइकन ती असईले आफ्नो जागिर धरापमै पारेर पनि अमेरिकी भिसाका लागि जाँच दिन जाने तर तालिममा नजाने कुरा गरे ।
प्रहरीको बर्दीमा रहेको एक नेपाली नागरिकलाई असक्षम नागरिक भन्न कुनै कोणबाट पनि मिल्दैन । यी नागरिकलाई सक्षम नागरिकको रूपमा लिनैपर्छ । हिजोआज मात्रै नेपाल प्रहरी सङ्गठनका उपल्ला तहका अफिसरहरू पनि विदेश पलायन भएको खबर सार्वजनिक भएको छ । कुनै नेपालमा छँदा डीभी चिट्ठा भरेर विदेश पलायन भएका छन् त कुनै अफिसर शान्ति मिसनमा जाने र उतैबाट अर्को देश हामफाल्ने र पलायन हुने गरिरहेका छन् । लटरपटर दर्जाको पनि होइन, डीआईजी शारदा पराजुलीलगायत एसएसपी र एसपी अनि डीएसपी र इन्स्पेक्टरसम्मका थुप्रै प्रहरी कर्मचारी पलायन भएका रहेछन् । यस्ता योग्य नागरिक जो नेपाली जनतालाई शान्तिसुरक्षा दिने जिम्मेवारी लिएर बसेका थिए, तिनै पलायन भए । यो घटना सामान्य घटना होइन । यसले निरन्तरता पायो भने एकातर्फ शान्तिसुरक्षाको स्थिति डरलाग्दो हुन्छ भने अर्कोतर्फ विस्तार–विस्तार जन्मभूमिलाई भन्दा विदेशलाई माया गर्ने प्रवृत्तिको विकास हुन्छ र कालान्तरमा मुलुकमा केही समय वृद्धवृद्धा र बालबालिका मात्रै बाँकी रहन्छन् । अनि त्यसको केही समयपछि मुलुकै बेवारिसे अवस्थामा पुग्छ र सम्भवतः टुङ्गिन्छ पनि ।
यहाँ पलायनबारे चर्चा प्रहरीको मात्रै गरियो । कुमार लामा नाम गरेका एक नेपाल आर्मीका उपल्ला कर्मचारी बेलायतमा पक्राउ पर्दा उनले पनि ग्रिनकार्ड पहिल्यै लिइसकेको बुझियो । मुलुक रक्षाको जिम्मेवारी लिएका नेपाल आर्मीका ती जिम्मेवार कर्मचारीले विदेश बस्ने अनुमति पहिल्यै ठीकठाक पार्नुजत्तिको लाजमर्दो स्थिति अरू के हुन सक्ला ? तिनले मात्रै त्यो काम गरेका हुन् कि अरूले पनि त्यही तरिकाले विदेश बस्ने मेसो मिलाएका छन्, आजसम्म कसैले छानबिन प्रक्रिया अगाडि बढाएको छैन । सुनिन्छ– नेपाल निजामती कर्मचारीका पनि उपल्ला तहका कर्मचारी बहाल रहँदैमा विदेश घुम्न जान्छन् र विकसित मुलुकमा स्थायी रूपले बसोबास गर्न मेसो मिलाउँछन् । यस्ता केही उदाहरण विगतमा फेला परिसकेका छन् । स्वास्थ्य क्षेत्रतर्फका जनशक्तिसमेत धमाधम पलायन भएको खबर प्राप्त भएका छन् । नेपाली डाक्टर शङ्का गरिएजत्तिको पलायन नभए पनि नर्सको भने ठूलो सङ्ख्या बेलायत, अस्ट्रेलियालगायत मुलुकमा सदाका लागि भासिएको खबर प्राप्त भएको छ । पढ्ने बहानामा नेपाली विद्यार्थी अमेरिका, बेलायत, अस्ट्रेलिया र जापान गएका छन् । हजारौँहजारको सङ्ख्यामा गएका विद्यार्थीमध्ये दुई प्रतिशत पनि फर्केर आएका छैनन् । चौहत्तर जिल्लाका मान्छेले काठमाडौंको एयरपोर्टतिर फर्केर हेर्दा देख्नेछन्– दैनिक सयौँको सङ्ख्यामा हवाईजहाज चढ्दै गरेका नेपाली युवायुवती । तिनले नेपालमा काम पाएनन् । काम गर्न चाहनेलाई काम उपलब्ध गरिएन । काम गर्न नचाहनेको अर्थै रहेन । नेपालमै काम गर्नुपर्छ भन्ने सन्देश दिन सरकारले सकेन । भएका उद्योगधन्दा प्रायः सबै बन्द गरिए । किन बन्द गरिए, कसले बन्द ग-यो कसैलाई ठीक तरिकाले थाहा छैन । देशै रित्तो पार्ने तरिकाले काठमाडौं एयरपोर्टबाट दैनिक सरदर १२–१५ सय युवायुवती विदेश गइरहेका छन् । गाउँमा अब त बूढाबूढी र बालबालिका मात्रै देखिन थालेका छन् । कोही बिरामी भयो, अस्पताल लगिदिने मान्छे छैन । कोही म-यो, सद्गत् गर्न मलामी छैन । बूढाबूढीले लास बोक्न सक्ने कुरा भएन, बच्चाले बोक्ने कुरै आएन ।
काठमाडौं एयरपोर्टबाट लस्कर लागेर विदेश जानेहरूको कुरा बेग्लै भयो, खुला सिमानाबाट छिमेकी मुलुक भारततिर लागेको मान्छेको लर्को देख्दा रुनै मन लाग्छ । कहाँ जाँदै छन् हाम्रा युवायुवती भन्ने प्रश्नको जवाफ हुन्छ– विदेशीका लागि काम गरिदिन । दुई–चार हजार होइन, लाखौँ–लाख नेपाली भारतमा भाँडा माझेर बसेका छन् । चौकीदारी गरेर नुन–भुटुन कमाइरहेका छन् । त्यसरी विदेशीको सेवा गर्न बाध्य भएका नेपाली कति मारिन्छन्, कति सिमानामा लुटिन्छन्, कति पिटिन्छन् त्यसको कुनै लेखाजोखा छैन । गन्ती यकिन छैन । भन्नेहरू भन्दै छन्– छिमेकी मुलक भारतमा मात्रै स्थायी र अस्थायी रूपमा काम गर्दै र बस्दै आएका नेपालीको सङ्ख्या ७५ लाख छ । भारतलाई छाडेर अन्य देशमा गएका नेपालीको सङ्ख्या ३६ लाख छ । एक करोडभन्दा बढी नेपाली नेपालबाहिर छन् त्यो पनि मिहिनेत मजदुरी गरेर खानका लागि । योभन्दा लाजमर्दो अवस्था अर्को के हुन सक्छ ? संसारका अरू देशमा नियम छ, कानुन छ । तिनका नागरिक अर्को देशमा गए भने सम्बन्धित देशको सरकारलाई पूरै जानकारी हुन्छ । मेरो देशको फलानो नागरिक फलानो देशमा गएको छ भन्ने जानकारी तिनलाई हुन्छ । बिनापासपोर्ट तिनका नागरिक कतै जाँदैनन् । अन्य देशमा घुम्न वा कुनै कामविशेषले गएका आफ्ना नागरिकलाई केही अप्ठ्यारो प-यो भने सम्बन्धित देशको सरकार वा राजदूतले तुरुन्तै चासो र चिन्ता लिन्छन् । आफ्ना नागरिकलाई उनीहरू अमूल्य सम्पत्ति ठान्छन् । एउटा अमेरिकी नागरिक नेपाल घुम्न आउँदा तलमाथि भयो भने अमेरिकी राजदूतावास सक्रिय भइहाल्छ । आफ्नो नागरिकको खोजी आफैँ गर्छ र हाम्रो देशको सरकारलाई पनि आफ्नो नागरिक खोजिदिन र आवश्यक सहयोग गर्न अनुरोध खालको आदेश दिन्छ । तर, विडम्बना ! आफ्ना नागरिकलाई विदेशमा भाडामा लगाएर दाम कमाउने सोचाइ राख्ने नेपाल सरकार आफ्ना नागरिकहरू कहाँ–कहाँ छन् केही जानकारी राख्दैन । बम्बैका वेश्यालयमा कति नेपाली चेली नारकीय जीवन बिताइरहेका छन् त्यसको हिसाब नेपाल सरकारसँग छैन । माइती नेपाल वा त्यस्तै नामको कुनै सामाजिक संस्थाले भनिदियो भने बेग्लै कुरा होइन भने नेपाल सरकार जानकारी शून्य छ । साउदी अरेबियाका अस्पतालहातामा जोडिएका मुर्दाघरमा सयौँको सङ्ख्यामा नेपाली युवाका लास बाकसमा कुहिएर थन्किएका छन् । त्यसको यकिन तथ्याङ्क नेपाल सरकारसँग छैन । तिनले जिउँदो छँदा नेपाल पठाएको रकमले मुलुकको अर्थ–व्यवस्था धान्नेहरूको मन कस्तो होला जुन मनले ती नेपाली लासलाई नेपाल ल्याएर जलाउने, गाड्नेसमेत गर्दैन ।
मर्न त सबै मान्छे पालैपालो मर्छन् नै । देखियो, पेटभरि अन्न खान नपाउने शक्तिखोरका चेपाङ मरेको देखियो । सबै शान–शौकतवाला राजा वीरेन्द्र मरेको पनि देखियो । देशलाई माया गर्ने पृथ्वीनारायण, जंगबहादुरहरू पनि मरे । मौका मिले देश बेच्नेहरू पनि मर्नेछन् । तर, सवाल कहाँ मर्ने र कसरी मर्ने भन्नेचाहिँ महत्वपूर्ण हुन्छ । फरक पनि त्यहीँनेर छ । आज विस्तार–विस्तार विभिन्न पेसाका जिम्मेवार भनिएका नेपाली नागरिक विदेश पलायन भएर मुलुकलाई जिउँदै मारेर आफू विदेशी भूमिमा मर्न गएका छन् । उनी त्यहाँ मर्नेछन् । बाँकी यहाँ पालैपालो मर्नेछन् । नेपाली नागरिक विदेश पलायन भइरहेको यो अवस्थाको अन्त्य गर्नेे हो भने नेपाल नेपालकै रूपमा अनन्तकालसम्म रहिरहनेछ । यदि यही अवस्थालाई निरन्तरता दिने हो भने यसको परिणाम दर्दनाक हुनेछ । दर्दनाक अवस्था स्वदेशमा वा विदेशमा बसेर हेर्न–सुन्न पर्नेहरूलाई भने पश्चात्ताप मात्रै हुनेछ । भन्न यति मात्रै सकिन्छ– नेपाल सरकार, नागरिक पलायन रोक । मिले रोक, नमिले कानुन बनाएर पनि रोक, जसरी पनि रोक । चाहे रोजगारी दिएर रोक, दिन नसके बेरोजगार भत्ता दिएर भए पनि रोक । कम्तीमा अस्पताल पु-याउने र घाटसम्म लास पु-याउने मान्छे बाँकी राखिदेऊ ।
प्रतिक्रिया