जीवन बित्दै जाँदा मानिसको छवि विकास र विस्तार हुँदै जान्छ र निश्चित काखलण्डमा त्यही छवि व्यक्तिको पहिचान बन्न पुग्छ । कर्म, व्यवहार र क्षमताले व्यक्तिको पहिचान निर्माण हुन्छ र वास्तवमा त्यही नै उसको छवि हुनजान्छ । ‘डाँकु’ भन्नेबित्तिकै हामीभित्र एकप्रकारको भावाकृति तयार हुन्छ भने सन्तको स्मरण गर्दा अर्कै । अनि जसको छवि जुन प्रकारले बनेको हुन्छ त्यसअनुरूपको व्यवहार मात्र शोभनीय एवम् सहज मानिन्छ । कुनै विजय गच्छदार या त्यस्तै कोटिका कसैले विगतमा गरेको (कु)कार्यप्रति पश्चात्ताप गर्दै सन्त बनेर देवघाटमा बाँकी जीवन गुजार्न पुगे भने पनि तिनलाई शङ्काको दृष्टिले हेरिन्छ र भनिन्छ– कुन लाभ लिनका लागि यी यहाँ आएका होलान् ? छविकै कारण यसरी शङ्का गर्नुपर्ने स्थिति बन्न सक्छ । एउटा राजनीतिकर्मी, पत्रकार, चिकित्सक या प्राध्यापक पहिचानका व्यक्ति रङ्गीचङ्गी पहिरन, कानमा कुण्डल र लामा–लामा कपालसहित प्रस्तुत हुनुलाई समाजले स्वाभाविक रूपमा लिन खोज्दैन । तर, त्यस्तै भेषभुषामा कुनै रङ्गमञ्च या सिने कलाकार देखिए भने त्यसलाई अस्वाभाविक ठानिँदैन । त्यस्तै कुनै माओवादी, क्रान्तिकारी, उग्रवादी या आतङ्ककारी छविका मानिसले गुडिरहेको बसमा आगजनी गरे, सार्वजनिक या निजी सम्पत्तिमा क्षति पु-याउने काम गरे या अभद्र र अवाञ्छित व्यवहार प्रकट गरे भने नाजायज भए पनि त्यसलाई स्वाभाविक मान्नुपर्ने हुन्छ । तर, कुनै साधु, सन्त, विद्वान्, ज्ञानी, गुणी या सकारात्मक छविका कसैले पनि त्यसप्रकारको व्यवहार प्रस्तुत गरेमा कसैले पनि सहज मान्न सक्दैन । स्थापित छविभन्दा पृथक व्यवहार भएमा व्यक्तिप्रतिको दृष्टिकोण मात्र बदलिँदैन, असहज परिस्थितिको सिर्जना पनि गर्न सक्छ । त्यसैले एउटा मानिसका निम्ति छवि बनाउनु जति कठिन कार्य हो, छवि जोगाउनु त्योभन्दा कठिन हुनसक्छ । छविअनुरूपको व्यवहार गर्न सक्नेले मात्र आफ्नो प्रतिष्ठाको रक्षा गर्न सक्दछन् ।
नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइराला एक निष्ठावान, इमानदार, देशभक्त, सिद्धान्तनिष्ठ, त्यागी र साधारण जीवनशैलीमै सन्तुष्ट व्यक्तिका रूपमा चिनिनुहुन्छ । पदमोहविहीन नेता मानिनुहुने कोइराला प्रधानमन्त्री भएपछि भ्रष्टाचार नियन्त्रण हुने, जनता र देशको हितमा केही न केही काम हुने अपेक्षा राख्नु स्वाभाविक हो र जनताले उहाँबाट अपेक्षा राखेका पनि छन् । राज्य सञ्चालनमा अनुभवको कमी भए पनि जानाजान मुलुकलाई क्षति पुग्ने काम उहाँबाट हुनेछैन भन्ने विश्वास गरिएको छ । तर, प्रधानमन्त्री बनेपछिको दुई साताभित्र सुशील कोइरालाको कार्यव्यवहारले उहाँको छविमा क्षति पुग्ने चिन्ता बढाएको छ । नेकपा–एमालेसँग ‘हुँदै नभएको सम्झौता’ कार्यान्वयन नगर्न उहाँले लिनुभएको ‘दृढ’ अडानले पार्टीको कार्यकर्ता, समर्थक एवम् शुभचिन्तकहरूमा उहाँप्रतिको भरोसा बढाएको थियो । स्वच्छ छविको सरकारमा ‘मैलो’ छविका व्यक्तिको प्रवेशलाई निरुत्साहित गर्ने सोचका रूपमा उहाँको अडानलाई लिइएको थियो । नेकपा एमालेले होइन वामदेव गौतमले गृह मन्त्रालय पाउने कुराले केहीलाई प्रसन्न तुल्याए पनि धेरैले यसलाई सकारात्मक रूपमा लिन सकेका थिएनन् । दुई साताको घम्साघम्सीपश्चात् सुशील कोइराला वामदेवलाई गृहमन्त्री बनाउन राजी भएपछि ‘केका लागि’ भन्ने प्रश्न गम्भीर ढङ्गले उठेको छ । गृह मन्त्रालय प्रकरण प्रारम्भमा जुनसुकै कारणले विवादमा आएको भए पनि तनाव बढ्दै जाँदा यो पार्टीका नेता र पार्टी/पार्टीबीच इगोको विषय त बनेकै थियो, प्रधानमन्त्री कोइरालाको पहिलो परीक्षाका रूपमा पनि यसलाई लिइयो । सुशील कोइराला आफ्नो छविप्रति बढी संवेदनशील हुनुहोला या पदरक्षाको भावनाले उहाँलाई अभिपे्ररित गर्ला भन्ने विषयमा आमनेपालीले गहन चासो राखेका थिए । अन्ततः कोइरालाको निर्णय पदरक्षाकै पक्षमा भयो, यसले वामदेवका हिमायती र सुशील कोइरालाका आलोचकहरूलाई मात्र खुशी तुल्याएको छ । ‘गृह’लाई लिएर तनाव बढ्दै जाँदा भारतमा अरविन्द केजरीवालले झैं सुशीलले पनि पदत्याग गर्नुहुन्छ, उहाँले सम्झौताचाहिँ गर्नुहुने छैन भनी विश्वस्त रहेकालाई यस घटनाले निराश तुल्याइदिएको छ । यो प्रकरणले सुशील कोइराला आफ्नै छविभन्दा पदसँग पे्रम गर्न उत्पे्ररित रहनुभएको हो कि भन्ने आशङ्का पैदा गरेको छ, जुन उहाँको छविअनुकूल मान्न सकिन्न । यस्ता विवाद या तनावमा शेरबहादुर देउवा, गिरिजाप्रसाद या त्यस्तै अन्य कोहीले यसरी सम्झौता गरेका भए त्यति अस्वाभाविक र असहज मँन्नुपर्दैनथ्यो, जति अहिले मानिएको छ । सुशील कोइराला पदका लागि कसैसँग कुनै प्रकारको सम्झौता गर्नुहुन्न भन्ने जुन विश्वास आममानिसमा थियो, उहाँप्रतिको उक्त विश्वास डगमगाउने स्थिति बनेको छ । आमप्रजातन्त्रपे्रमीले यस घटनाबाट ‘डिमरलाइज्ड’ महसुस गरेका छन् । यदि कोइराला वामदेवसँग सम्झौता नगरी पदबाट राजीनामा दिने निर्णयमा पुगनुभएको भए त्यसले उहाँको छविरक्षा त हुने थियो नै, प्रजातन्त्रपे्रमीहरूले गौरवान्भूति गर्ने अवस्था पनि बन्न सक्थ्यो । वामदेव गौतमले आफूलाई सच्याउने र विगतमा उहाँले दर्शाउनुभएकोभन्दा भिन्न व्यवहार गर्ने सम्भावना नरहेको होइन । तर, त्यसको जानकारीका लागि केही समय प्रतीक्षा गर्नुपर्ने हुन्छ । पृष्ठभूमिका आधारमा मात्र धारणा बनाउने हो भने स्वच्छ छविका नेताले, स्वच्छ ढङ्गले सरकार चलाउन चाहेको अवस्थामा वामदेवको सहभागितालाई सकारात्मक रूपमा लिन सकिँदैन । यद्यपि वामदेवलाई गृह मन्त्रालय सुम्पिएकै कारणले मात्र सुशील कोइरालाको छवि मैलिएको निष्कर्षमा पुग्नु उचित हुने छैन । राज्य सञ्चालन प्रक्रियामा सरकार क्रियाशील भइसकेपछिका दिनमा उत्पन्न हुनसक्ने टक्कर र तनावका बेला कोइरालाले केलाई प्राथमिकतामा राख्नुहुने हो त्यस आधारमा मात्र उहाँबारे निष्कर्ष निकाल्नु उपयुक्त हुनेछ । एउटा घटनामा चुकेकै कारण हरेक घटना–सन्दर्भमा कोइराला चुक्नुहुने ठहर गर्न सकिँदैन । सुशील कोइरालाबाट राष्ट्र र जनताका पक्षमा कुनै जोखिमपूर्ण निर्णय हुनसक्ने विश्वास गरिएको छैन, तर उहाँले आफ्नो छविअनुरूपको कर्म मात्र गर्न सक्नुभयो भने पनि त्यसको लाभ मुलुकलाई पुग्ने आशा गर्न सकिन्छ ।
प्रतिक्रिया