हिन्दूराष्ट्रको बिदाइ र राजनीतिकर्मीको रवैया

हिन्दूराष्ट्रको बिदाइ र राजनीतिकर्मीको रवैया


bichar– इन्द्रबहादुर बराल
एकीकरणपछिको नेपाल एकात्मक राज्य प्रणालीअन्तर्गत राजतन्त्रात्मक हिन्दू अधिराज्यको रूपमा रह्यो र नेपालीले पनि राजालाई साक्षात् भगवान्को अवतारको स्वरूप मान्ने गरेको यथार्थ लुकाउन मिल्दैन । राजाप्रति आस्थावान्हरू राजाले गल्ती गर्दैन, ऊ भगवान्को अवतार हो भन्नेसम्मको धारणा राख्छन् । तर, इतिहासमा धेरै राजा–महाराजाबाट अनगिन्ती भूल भएका छन् । अक्षम्य भूल त सत्ताच्यूत राजा ज्ञानेन्द्रले पनि गरेकै हुन् । उनकै गल्तीका कारण दुई सय ४० वर्षभन्दा लामोे राजतन्त्रको अवसान हुन गई मुलुक गणतन्त्रात्मक घोषणा हुन पुग्यो । ८१ प्रतिशत हिन्दू रहेको मुलुकबाट हिन्दूधर्म च्यूत गरिँदा पनि ‘हिन्दू सम्राट’को विशेषणले पुकारिने राजाबाट प्रतिरोधमा कुनै कदम नचालिनु उनको उदारताभन्दा पनि कमजोरी हो भन्न सकिन्छ । अहिले हिन्दूराष्ट्रको नाममा राजनीति गर्नेहरूले यस विषयमा कुनै जवाफ दिनुपर्ने कि नपर्ने ?
धर्म एउटा निष्ठा र आस्थाको विषय नभई केवल व्यावसायिक मात्र बनाउनुको परिणामले आज यो स्थिति आएको हो भन्दा अन्यथा नहोला । हिन्दूधर्मका प्रवद्र्धक र प्रचारकहरूको आचरण, चरित्र र व्यवहारमा देखिएको विकर्षणका कारण त्यति धेरै प्रतिशत मानिस हिन्दू हुँदाहुँदै ‘धर्मनिरपेक्ष नेपाल’ हुनु निश्चय पनि हिन्दूहरूको लागि सुखद थिएन । तत्कालीन राजा ज्ञानेन्द्रबाट निरङ्कुश पाइला अघि सार्नाले २१औँ शताब्दीका नेपालीको राजनीतिक चेतनाले प्रतिकार गर्दा राजतन्त्र त गयो–गयो साथसाथै जानै नपर्ने ‘हिन्दूराष्ट्र’ पनि साथै लग्यो ।
हुन त नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनु आफैँमा नराम्रो होइन, सवाल के मात्र हो भने ८१.३ प्रतिशत हिन्दू धर्मावलम्बी भएको देशमा व्यापक छलफल या बहस नगरीकन सामान्य राजनीतिक सहमतिको नाममा ०६३ जेठ ४ गतेको घोषणाको आठौँ बुँदामा धर्मनिरपेक्षताको घोषणा हुँदा त्यसको कहीँकतै पनि विरोध नहुनुमा हिन्दूधर्मप्रतिको विश्वास के वास्तविक थियो ? धर्म केवल मागी खाने भाँडो र सत्ता टिकाउने वैशाखीबाहेक अरू केही रहेनछ भनेर बुझ्नु उचित होला, तर सामान्यतया हिन्दू होस् अन्य कुनै पनि धर्मको मूल मर्म र भावना भनेको समाजलाई अनुशासित र मर्यादित बनाउने एउटा अदृश्य कानुन हो जसलाई धर्मको रूपमा पालना गरिँदै आएको छ । धर्मलाई भौतिक रूपले हेर्न, देख्न वा बुझ्न सकिँदैन तर व्यवहारमा भावनात्मक र आत्मिक रूपले स्पर्श भने गर्न सकिने तथ्य हो ।
विश्वको सामु नेपाल हिन्दूराष्ट्र भनेर चिनिएको अवस्थामा आफ्नो पहिचानको रंग फेरिँदासम्म पनि कुनै तागतले चुँसम्म गर्न नसक्नु वा धर्मनिरपेक्षताको विरुद्धमा नउत्रनुले अब आएर नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्छ भन्नु उडन्ते गफबाहेक के होला ? यसर्थ अबको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान निर्माणमा धर्मका सम्बन्धमा विशेष गरेर हिन्दूधर्मसापेक्ष राष्ट्र बनाउने चेष्टा गरेर समय बर्बाद गर्नुभन्दा उत्तम विकल्प खोज्नु वेश हुनेछ । त्यस्तो उत्तम विकल्प भनेको नेपाल धार्मिक स्वतन्त्रताको देश भनी उल्लेख गर्दा नै राम्रो हुनेछ । यद्यपि जुन ढङ्गबाट नेपाल धर्मनिरपेक्ष घोषणा गरियो, त्यसको विधि र प्रक्रिया अनि निरपेक्षताको वकालत गर्ने नेतृत्वहरूमा कतै इसाई धर्मको आकर्षणले काम गरेको त होइन भन्ने आशङ्का भने कायमै देखिन्छ । यसतर्फचाहिँ सरोकारवालाको ध्यान पुग्दा राम्रो होला ।
तथापि, धर्म भनेकै सेवा हो चाहे जुनसुकै धर्मको माध्यमबाट किन नहोस् ? शाहीकालमा अधिकतम् मात्रामा हिन्दूधर्मलाई पेसा वा व्यवसाय बनाइयो, जसले गर्दा हिन्दूहरूमा वितृष्णा पैदा हुन गयो । त्यसैले हिन्दूराष्ट्र नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा हुँदासमेत कुनै एक हिन्दूले प्रतिकार गरेनन् । यसबाट के प्रस्ट हुन्छ भने बहुसङ्ख्यक नेपाली हिन्दूधर्मावलम्बी हुँदाहुँदै पनि धर्मगुरुहरूको अक्षमता, अयोग्यता र अदूरदर्शिताले गर्दा हिन्दूराष्ट्रको पहिचान समाप्त भयो । त्यसकारण चाहे धर्मका कुरा होस् वा राजनीति, त्यसमा इमानदारिता र जवाफदेहिता भएन भने हिन्दूधर्ममाथि मात्र नभई नेपाल राष्ट्रमाथि नै अतिक्रमण नहोला भन्ने अवस्था छैन ।
नेपालले छोटो समयमा धेरै प्रकारका घात–प्रतिघातदेखि निर्घात पीडाबोध गरिरहेको छ । यसको मुख्य कारण हो अक्षम, अकर्मण्य, अयोग्य तथा असहिष्णुकारी राजनीतिक नेतृत्व । जुन प्रकारले हिन्दूराष्ट्र र हिन्दूसम्राटको पतन भयो त्यसरी नै नेपालका राजनीतिज्ञहरूमा जिम्मेवारी नहुने हो भने देश नेतृत्वविहीन हुनसक्ने सम्भावना प्रबल देखिन्छ । त्यस्तो अवस्थामा नेपालका सामाजिक सङ्घ÷संस्था तथा जागरुक नागरिक समाज मुलुकको भविष्यप्रति चनाखो हुनैपर्छ । सबैलाई थाहा छ मै हुँ भन्ने स्वघोषित महान् नेताहरूको हविगत के भयो ? त्यसो हुँदाहुँदै पनि जिम्मेवारीबोध नभएका वा बोध भएर पनि गन्तव्य पहिल्याउन नसक्ने अकर्मण्यहरूकै जिम्मामा देश नलगाई सुखै छैन । विडम्बनाको विषय बनेको छ । जसरी धर्मका संवाहक पण्डितहरूले हिन्दूधर्मलाई जीविकोपार्जनको रूपमा लिँदा यो गति भयो ठीक आज राजनीतिकर्मीले राजनीतिलाई सेवाको भाव नराखी व्यापार–व्यवसाय जस्तै रोजगारी तथा आर्यआर्जनको दुहुनो गाई बनाउँदा राजनीतिमा वितृष्णा र घृणा पैदा भएको सर्वत्र महसुस गरिँदै छ । तथापि राजनीतिबाट अलग रहन सकिने परिस्थिति छैन ।
खराबमध्येको असल रोज्नैपर्ने बाध्यात्मक अवस्थाका कारण नेपाली जनताले दोस्रो संविधानसभामा उत्साहजनक रूपले शान्तिपूर्ण र संयमतापूर्वक सक्रिय सहभागिता जनाए । किनकि, मानिस विवेकशील आशावादी प्राणी हो । जस्तोसुकै परिपस्थितिको पनि सहजै सामना गर्नैपर्ने रहेछ र गरे पनि नेपाली जनताले । नेपालका राजनीतिकर्मीभन्दा जनता धेरै अग्रगामी विचार राख्छन् भन्ने प्रमाण हालै सम्पन्न संविधानसभाले प्रमाणित गरिसकेको छ । यद्यपि एउटा शक्तिले आफ्नो पराजयलाई यथास्थिति र पुनरुत्थानवादी शक्तिको जितको रूपमा समीक्षा गरेको पनि पाइन्छ । त्यस्तो समीक्षा वा विश्लेषण आफ्ना अराजनीतिक सोच र जातिवादी चिन्तनजस्ता गलत कर्मको ढाकछोप मात्र मान्न सकिन्छ ।
अग्रगामी राजनीतिको गन्तव्य जातिवादी सोच कदापि हुँदैन र हुन पनि सक्दैन । अझै पनि एकीकृत माओवादीले अघिल्लो संविधानसभाको धङधङी कायम राख्ने प्रयत्न ग-यो भने निश्चय पनि दोस्रो संविधानसभानले पनि जनताले अपनत्व महसुस गर्ने किसिमको संविधान देशले पाउन सक्दैन । मुलुकलाई अब तेस्रो संविधानसभा पनि स्वीकार्य छैन । अब त्यस्तो कल्पना गरिए पुनरुत्थानवादी शक्ति बलवान भएर उपस्थित नहोला भन्न सकिँदैन । ०४६ देखि ०६२÷०६३ का परिवर्तन पक्षधर योद्धा शक्तिहरू टाङमुनि पुच्छर लुकाएर भाग्नुपर्ने अवस्था आउन सक्छ । त्यसकारण आफ्ना असफलतामा अर्काको सफलता निहित हुन्छ भन्ने तथ्यलाई बिर्सन हुँदैन ।
कम बोल्ने तर काम धेरै गर्ने बेला हो यो । विगतका अनुभवबाट पाठ सिक्दै भोलिको गन्तव्य तय गर्नु नै राजनीतिक सुझबुझ ठहर्छ । यहाँ पङ्क्तिकारको सूक्ष्म चिन्ता के हो भने अत्यधिक बहुमत भएको हिन्दूधर्मावलम्बी भएको देशमा हिन्दू अधिराज्यलाई धर्मनिरपेक्षता घोषणा गरिँदा कोहीकसैले त्यसको विरोध गर्न नसकेजस्तै राजनीतिक दलबाट सत्ता खोसिँदा पनि भोलि जनता चुप बसिदिए भने ? जनतालाई धेरै वितृष्ण बनाउँदा त्यस्तो अवस्था नआउने के ग्यारेन्टी ? राजनीतिकर्मीहरूले जनताको अपेक्षा पूरा गर्न नसक्दा राष्ट्रको अस्तित्व खतरामा पुग्न बेर हुँदैन । त्यसैले हरेक नेपालीले ‘तेल नहेर्नु तेलको धारो हेर्नु’ भनेजस्तै गरेर सोच्न जरुरी देखिन्छ । तेल कति छ भन्ने जान्न तेलको धारो हेरेर थाहा हुन्छ । तसर्थ, हिन्दूधर्मका प्रवर्तक र संवाहक एवम् राजनीतिकर्मीहरूको आचरण र व्यवहारले दुवै क्षेत्रमा (हिन्दू धर्म र राजनीतिमा) ह्रास आएको महसुस गरिँदै छ, जुन खतरनाक सङ्केत हो ।