तत्कालीन श्री ५ महाराजाधिराज ज्ञानेन्द्रवीरविक्रम शाहदेवको राजकीय भारत भ्रमणको दुई दिनअघिको साँझ भ्रमण टोलीलाई ब्रिफिङका लागि नारायणहिटी राजदरबारमा बोलाइएको थियो । साँझ ७ बजेको ब्रिफिङका लागि ६ बजे नै दरबार बोलाइयो । यो कक्षबाट ऊ कक्ष हुँदै बैठककक्षमा पुग्दा त्यो एक घन्टा बित्यो । एक घन्टाअघिदेखि बोलाएर के गरिएको होला यस्तो ? केही काम नै नभा जस्तो, अलि अघि बोलाए त भइहाल्यो नि भन्ने कुरा मनमा आयो । पछि फेरि त्यसै दरबार… जस्तो पनि लाग्यो । बैठकमा पुगेको केही क्षणमा शाही परिवारको आगमनपछि विषय प्रवेश भयो । समयक्रममा लोकतन्त्र र गणतन्त्र आयो, राजाको स्थान राष्ट्रपतिले लिनुभो । एक दिन राष्ट्रपतिज्यूकहाँ सामूहिक भेटघाटको कार्यक्रम थियो, गइयो । प्रक्रिया उही थियो, त्यसैगरी एक घन्टा अगाडि बोलाइयो, पट्यारलाग्दो गरी पर्खाइयो, दरबारमा त बरु वरिपरि सबै कुरा नयाँ थिए, हरेक दृश्यहरू आफ्ना लागि नयाँ र फरक प्रकारका थिए । अरू त अरू चौरमा राखिएका परेवा र बकुल्लाले पानी खाने भाँडाहरू पनि फरक थिए, भित्र प्रतीक्षा कक्षहरूमा बसे पनि बाहिरका दृश्यहरू सहज रूपमा देखिन्थे । शीतलनिवासमा निवासबाहेक हेर्नलाई खासै केही छैन, त्यो पनि राणा शासकहरूले बनाइदिएका केही भवनहरू अहिलेसम्म नढलेका कारण हाम्रा भीभीआईपी कार्यालयहरू रहन पाएका छन् । नत्र हाम्रा जनताको नेताहरूले त ०४६ देखि अहिलेसम्म यो २४ वर्षको बीचमा एउटा गतिलो भवन पनि बनाउन सक्नुभएको छैन जसलाई भीभीआईपी कार्यालय या उहाँहरूका निवासका रूपमा प्रयोग गर्न सकियोस । राष्ट्रपतिलाई पहिलोपल्ट भेट्दा ए… व्यक्ति मात्र फरक रहेछन्, प्रक्रिया त राजालाई भेट्नेजत्तिकै रहेछ जस्तो लागेको थियो । त्यसपछिका पटक–पटकका भेटघाटहरूमा बानी परिसकेकाले खासै केही लागेन, बरु एकपटक राजनीतिमा महिलाको सहभागिताको सन्दर्भमा नेपालमा भइरहेको दक्षिण एसियाली सम्मेलनका प्रतिनिधिलाई राष्ट्रपतिले दिनुभएको चियापान र भेटघाटका बेला एक भारतीय महिलाले कति बेर कुराएको हगी भनेर सोध्दा ‘तिमीहरूको राष्ट्रपतिलाई चाहिँ सजिलै भेट्न पाइन्छ र ? राष्ट्रप्रमुखलाई भेट्न एकछिन त कुर्नैप-यो नि’ भन्ने जवाफ दिएकी थिएँ ।
तीन वर्ष अगाडिको कुरा हो, वैशाखको लोकतन्त्र दिवसका दिन गौशालामा धेरैबेरसम्म ठूलो जाम भयो । गर्मीले निथ्रुक्कै भिजेका एक गाडीचालकले ट्राफिक प्रहरीलाई सडकमा किन यति धेरै जाम भएको हो भनेर सोधे । जुन कुरा त्यो जाममा पर्ने धेरैको जिज्ञासाको विषय थियो । ‘उपराष्ट्रपतिज्यूको टँुडीखेलमा सवारी छ त्यसैले’ ट्राफिक प्रहरीको जवाफले उनी यति धेरै इरिटेड भए कि बेस्सरी जङ्गिए, ‘अहिले पनि के को सवारी नि ? सवारी चल्नेहरूले दुःख दिए भनेर गणतन्त्र ल्याएको होइन ? कसले के गर्छ भनेर यस्तो जात्रा गरेको ? तिनलाई मारेर कसलाई गोलीको नाश गर्नु छ र ?’ बिचरा ती ट्राफिकले सुनी मात्र रहे । करिब एक घन्टापछि बाटो खुल्यो र यात्रीहरू गन्तव्यतर्फ लागे । राष्ट्रपति र प्रधानमन्त्रीका भ्रमणहरूमा बाटो जाम हुँदा दुःख पाउने त कति छन् कति । एकपटक राष्ट्रपतिको भिजिटमा जाम हुँदा एम्बुलेन्स चल्न नसकेर बाटोमै बिरामीको निधन भएको कुरा सार्वजनिक भएको थियो । त्यसपछि उहाँले अब यस्तो नहोस् भन्नुभएको कुरा पत्रपत्रिकामा आयो पनि, तर त्यस्तो हुने क्रम भने रोकिएन । एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला संयुक्त राष्ट्रसङ्घ न्युयोर्क जाँदा सबै आन्तरिक हवाई उडानहरू अवरुद्ध पारिएको थियो । सडक मात्र नभएर अकाशमार्गसमेत बन्द गरिएपछि एयरपोर्टमा कुरेर बस्नेहरूले के–के मात्र भनेनन्, त्यो उहाँले सुन्नुभएको भए कति दुःख मान्नुहुने थियो होला जस्तो लाग्छ । डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदा पनि सर्वसाधारणले कम सास्ती पाएका थिएनन् । ‘कम्तीमा राजपरिवार बाहिर जाँदा त सर्वसाधारणहरू सडकमा उभिएर हेर्थे, यिनीहरू जाँदा त कसैले हेर्ने पनि होइनन्, जनतालाई यो सकस किन दिएको होला ?’ यस्तै भनाइहरू सडकमा सुनिएका थिए त्यतिबेला । राष्ट्रपतिको एउटा भ्रमणमा धेरै नै सास्ती झेल्नुपरेपछि यो पङ्क्तिकारले उहाँका प्रेस सल्लाहकारलाई एसएमएस गरेर हैरानी पोख्दै चित्त बुझाएकी थिएँ । मैलेजस्तो ‘साह्रै दुःख पाइयो, किन यस्तो गर्नुप-यो र ? यात्रालाई अलि सहज बनाउन सकिँदैन ?” भनेर प्रत्यक्ष भन्न नसक्नेहरूले त जे–जे भने पनि आक्रोश पोख्ने त्यही सडक हो, आफू रहेको ठाउँ हो । यसपटक प्रधानमन्त्री सुशील कोइरालाको पहिलो भिजिट पनि सर्वसाधारणका लागि दुःखरहित हुन सकेन । सडक मात्र होइन, सबै आन्तरिक उडानहरू अवरुद्ध गरिए । प्रधानमन्त्री भएको केही दिनमै उहाँको नाममा सडकमा गालीहरू पोखिए ।
केही क्षणअघि मात्रै एकजना साथीले प्रधानमन्त्रीको भिजिटका कारण पाएको सास्तीको फेहरिस्त सुनेर कार्यालयबाट घरतर्फ लाग्दै गर्दा यही फागुन १९ गते सोमबार साँझ ६ बजेतिर कुपण्डोलमा टाइँटाइँ र टुइँटुइँको आवाजमा बडो आतङ्कपूर्ण साइरन बजाउँदै अगाडिपछाडि सुरक्षा दस्तासहितको गाडी अघि बढ्यो । अगाडिको गाडीमा दौडिरहेका सुरक्षा दस्ताले हातको इशारामा यसरी बाटो खाली गराउँदै थिए कि लाग्थ्यो त्यहाँ ठुलै इमर्जेन्सी छ । तीव्र गतिमा हुइँकिएको मन्त्रीज्यूको गाडीले एउटा गाडीलाई झन्डै ठक्कर दियो । कुपण्डोल कानदेवताथाननजिक रहेका ट्राफिकले तीव्र गतिको त्यो गाडीलाई ज-याकजुरुक भएर सलाम गरे । यसो हेरेँ, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको सवारी रहेछ । उक्त दृश्यले मनमा केही कुराहरू उब्जायो, सत्तामा पुग्नेबित्तिकै नेताहरू नेता नभएर एकाएक किन शासक बन्न पुग्छन् ? सुधारका कुराहरू किन आफु सत्ताबाहिर हुँदा मात्रै गर्छन् ? के सडकका नियमहरू सर्वसाधारणका लागि मात्रै हुन् ? काठमाडौंका सडकमा त्यति तीव्र गतिमा सवारी साधन चलाउन पाइन्छ ? मन्त्रीहरूलाई चाहिँ ट्राफिक नियम लाग्दैन ? सत्तामा पुग्नेबित्तिकै आफू छुट्टै ग्रहबाट आएझैं किन गरिन्छ ? अहिले प्रधानमन्त्री सुशील कोइरालाले अबदेखिका औपचारिक भ्रमणहरूमा सडक जाम नगर्न निर्देशन दिइसक्नुभएको खबर बाहिर आएको छ । आशा गरौँ उहाँको यो कुरा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मुस्ताङ म्याक्सजस्तो नहोस् । उहाँले त्यतिबेला आफू महँगो गाडी नचढ्ने भन्नुभो तर आफ्ना परिवारका सदस्य र निकटवर्तीहरूलाई महँगा गाडी चढ्नबाट भने रोक्न सक्नुभएन । प्रधानमन्त्री कोइराला पनि आफू बाहिर हिँड्ने बेलामा साधारण रूपमा हिँड्ने तर आफ्ना उपप्रधानमन्त्री र मन्त्रीहरूको तामझाम भने उस्तै रहने भयो भने उहाँको मात्रै सादगीपनले त्यति ठूलो अर्थ राख्दैन । त्यसैले यो विषयमा सबैमा एकरूपता हुने खालको नीति तथा व्यवहार दुवै हुनु आवश्यक छ ।
प्रतिक्रिया