सिन्धुसँग ‘जुत्ताको घर’ छिरेपछि…

सिन्धुसँग ‘जुत्ताको घर’ छिरेपछि…


bicharकृति परिचय
बालबालिकाको मनोविज्ञानलाई बुझेर त्यसलाई साहित्यिक रूपमा प्रस्फुटन गराउन माहिर साहित्यकार सविना सिन्घुको नयाँ कृति जुत्ताको घर नेपाली बजारमा आएको छ । नेपाली बालबालिकालाई केन्द्रित गरिएका कथाहरूको सङ्ग्रह लिए सविना पुन: आएकी छिन् नेपाली साहित्यिक बजारमा ।
‘चराले गाउँछ किनभने ऊसँग गीत छ’, अमेरिकी लेखिका माया एन्जेलो भन्छिन् । चराहरूसँग गीत भएझँै शब्दका पारखीहरूसँग शब्द हुन्छ । उनीहरू शब्दमा नै रमाउँछन् । यस्तै शब्दमा रमाउन खोज्ने सिर्जनशील व्यक्तित्व हुन् सविना सिन्धु । सविना सिन्धु साहित्यलेखनमा नयाँ नाम होइन । उनका चार कृति प्रकाशित छन् । परिवर्तन कवितासङ्ग्रह (२०५९), सूर्योदयको क्यानभास संयुक्त कवितासङ्ग्रह (२०६१), एन्थोनको नाच्ने बिरालो बालकथासङ्ग्रह (२०६८) र जुत्ताको घर (२०७०) । यति मात्र होइन उनका फुटकर कथाहरू राष्ट्रिय दैनिक पत्रिकाहरूमा प्रकाशित भइरहेका छन् ।
सन्दर्भ सिन्धुको पछिल्लो कृति जुत्ताको घरको हो । बालबालिकाका लागि तयार पारिएका दश कथाहरू यस पुस्तकमा समावेश भएका छन् । जनावर, बोटबिरुवा, चराचुरुङ्गी आदिलाई पात्रको रूपमा उतारेर कथाका ‘प्लट’ निर्माण गरेकी छिन् र त्यसलाई शब्दको सुनौलो जलपले सिँगारेकी छिन् । सङ्ग्रहमा भएका प्रायजसो कथाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका कथाहरू हुन् ।
सङ्ग्रहको पहिलो कथा ‘पाङ्ग्रेको कालो चस्मा’ हो । यस कथामा पाङ्ग्रे नाम गरेको कुकुर घुम्न निस्किन्छ । एउटा केटोले कालो चस्मा लगाएको देखेपछि उसलाई पनि कालो चस्मा लगाउन मन लाग्छ । ऊ हिँड्दै जाँदा चस्माहरू बिक्री गर्ने पसलमा पुग्छ । उसले चस्मा त पाउँछ तर त्यो चस्मा पावरवाला चस्मा पर्दछ । चस्माको पावरले गरेर परका वस्तुहरू पनि उसलाई नजिकै जस्तो लाग्छ । चस्मा लगाएर आफूलाई हिरो ठानेको पाड्ग्रे एक्कासि ढिस्कोमा ठोकिन्छ, लड्छ । अनि चस्मा पनि फुट्छ ।
बेजोड कल्पनाशीलताले गर्दा सिन्धुका केही कथा ‘मोडल’ कथाजस्ता देखिन्छन् । जसमा सिन्धुको साहित्यिक प्रतिभा उजागर हुन्छ । सिन्धु सम्भावना बोकेकी कथाकार पनि हुन् । जस्तै ‘म को हुँ ?’ मा कुखुराको अन्डाले आफू कुखुराभन्दा फरक र चल्लाहरूभन्दा पनि फरक भएको हुँदा आफूले आफैँलाई को हुँ भनेर चिन्न सक्दैन । अन्तिममा मात्र ज्ञान पाउँदछ । त्यस्तै ‘सूर्यतिर मुख’ भन्ने कथामा सूर्यमुखी फूलले सूर्यतिर मुख फर्काएको प्रसङ्गलाई कथात्मक शैलीमा ढालेकी छिन् । ‘बाँदरलाई रसबरी’ कथामा रसबरी चोर्न पल्किएका दुई बाँदर र मानिसको बच्चाको कथा छ ।
कथाहरू उपदेशात्मकभन्दा पनि मनोरञ्जनात्मक र ज्ञानबद्र्धक छन् । कथाहरूमा मनोरम चित्रहरू पनि छन् । चित्र कोर्ने श्रेय जान्छ देव कोइमीलाई । बाहिरी आवरणमा भएका चित्रहरू आकर्षक र कलात्मक छन् । जुत्ताको घर बालकथासङ्ग्रह बुकसाइन पब्लिकेसनले २०७० सालमा प्रकाशनमा ल्याएको हो । यस कृतिको सम्पादन कृष्ण शाह यात्रीले गरेका हुन् ।

‘नारी, आमा र देश’मा युवाका पीडा
कवि सावित्री आचार्यको गीति कवितासङ्ग्रह ‘नारी, आमा र देश’को प्राज्ञ हरिदेवी कोइरालाले एक समारोहबीच विमोचन गर्नुभयो । गीताञ्जली साहित्य परिवारको १३५औँ साधना प्रभातका अवसरमा उक्त कृतिको विमोचन गर्दै कोइरालाले देशभक्ति अनि पछाडि पारिएका महिलाको निम्ति रचिएका अत्यन्त मन छुने भाव भएका पे्ररणादायी गीति कविता पुस्तकमा रहेका र यी गीत रेकर्ड गर्न सकेमा प्र्रभावकारिता अझ बढ्ने विचार व्यक्त गर्नुभयो ।
पुस्तकमाथि समीक्षा गर्दै वरिष्ठ समालोचक प्रा.डा. रविलाल अधिकारीले महिला मुक्तिका निम्ति आफ्ना भावना सशक्त रूपले उठाउन प्रयत्न गरेकोमा सावित्री आचार्य एक उदाहरणीय नारी बन्न सफल हुनुभएको धारणा व्यक्त गर्नुभयो भने अर्का समीक्षक कविराज बरालले नारीले भोग्नुपरेका पीडा, राष्ट्रिय उन्नतिका लागि चेतनामूलक र देशभक्तिका भावनाले ओतप्रोत भएका गीतमा वैचारिक सुन्दरता पाइएको र कला पक्षमा विकास गर्न सके आचार्यमा एक स्थापित कवि बन्न सक्ने खुवी रहेको उल्लेख गर्नुभयो ।
शुभकामना मन्तव्य व्यक्त गर्दै गीताञ्जली साहित्य परिवारका संरक्षक साहित्यकार तीर्थराज अधिकारीले लोकसहित्य नै हाम्रो शक्ति हो भन्दै सावित्री आचार्य लोकसाहित्य सिर्जनामा उत्कृष्ट क्षमता देखाउन सफल हुनुभएको बताउनुभयोे । अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले औपचारिक शिक्षा लिन नपाए पनि रचनाहरू उत्कृष्ट भएका र यस्ता गहिरा भाव भएका चेतनामूलक गीति कविताको सङ्ग्रह प्रकाशनको अवसर प्रतिष्ठानले प्राप्त गर्न पाएकामा स्रष्टाप्रति आभार व्यक्त गर्नुभयो ।
त्यसैगरी लोकगायक पद्मराज ढकाल, साहित्यकारहरू विष्णु अल्पविराम, भीम रानाभाट, प्रेमकुमारी गुरुङ आदिले स्कुल जाने बेलामा घाँस दाउरा र चुलोचौको गर्न बाध्य धेरै नेपाली महिलाको प्रतिनिधित्व गर्नुभएका सावित्री आचार्यले अध्ययन गर्ने खास अवसर नपाएर पनि आफ्नो सङ्घर्षशील जीवनबाट नारीहरूलाई माथि उठाउने रचनाहरूको सङ्गालो ल्याइदिनुभएकोमा उहाँ एक प्रेरणाको स्रोत बन्नुभएको छ भन्दै अझ उत्कृष्ट कृतिहरू ल्याउन सफल हुनुहोस् भनि शुभकामना व्यक्त गर्नुभयोे ।
देशका लागि केही गर्न सक्ने युवाहरू विदेश जाने र देशमा रहेका कतिपय युवाहरू कुलतमा फस्नुपरेको पीडामा गीत रचना गर्नुपरेको अनि बुद्धको गुणगान तथा प्रशंसा गर्नुभन्दा पनि हामी सबै बुद्ध बनौँ भन्ने भाव भएका मार्मिक गीतहरू स्रष्टा आचार्यले प्रस्तुत गर्दा सहभागी सबैका आँखा रसाएका थिए । गीताञ्जली साहित्य परिवारका कावा अध्यक्ष शिव गौतमको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा धर्मराज पौडेल, लक्ष्मण आचार्य, शोभा लामिछाने, राजन आचार्य, रविभक्त बराल, भावना तिवारी, अर्जुन अधिकारी, अल्पविराम, भावना भट्टराई, रश्मि भट्टराई, दीपेन्द्र पहारी, शेषमणि कोइराला, स्मृति ओझालगायतकाले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । संस्थाका सचिव लालमणि पोख्रेलले सञ्चालन गर्नुभएको सो कार्यक्रममा सदस्य रामनाथ अधिकारी ‘संगी’ले स्वागत मन्तव्य राख्नुभएको थियो ।