सालझन्डी–ढोरपाटन सडकको विवाद मिलाउने कसले ?

सालझन्डी–ढोरपाटन सडकको विवाद मिलाउने कसले ?


mukti– मुक्तिनाथ भुसाल
भविष्यमा नेपाललाई उत्तर छिमेकी चीनसम्म जोड्ने अभिप्रायका साथ सुरुवात गरिएको सालझन्डीदेखि बाग्लुङको बोवाङमा रहेको बहुचर्चित ढोरपाटनसम्म पुग्ने सडक अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको चुत्राबेसी बजारमा पुगेर स्थानीय विवादका कारण अलपत्र बनेको छ । यो सडकको महत्वलाई आँकलन गरी एमाओवादी सभासद् टोपबहादुर रायमाझीले आफ्नो गृहजिल्लाको मुहारै फेर्ने सोचाइका साथ अर्घाखाँची भित्याएका थिए । सालझन्डी–ढोरपाटन सडक खण्डको महत्व बढाउन र त्यसलाई थप आकर्षित तुल्याउनका लागि सभासद् रायमाझीको विशेष पहलमा चिवेकमा कृषि क्याम्पस स्थापनाको पहल पनि जोडतोडका साथ भइरहेको छ ।
सालझन्डी चोकदेखि पाल्पाको लामीदमार, अर्घाखाँचीको निहाली मैदान, चिवेक पाली, बेलाहा हुँदै सदरमुकामको चुत्रावेशी बजारमा सडक पुगिसकेपछि विवादमा परेको हो । करिब पाँच सय मिटरको विवादले सडकमा गरिएको हालसम्मको लगानी खेर जाने त होइन भनी आशङ्का गर्नुपर्ने अवस्थामा पुगेको छ । स्थानीय युवा बाबुराम भुसालका अनुसार कञ्चनखोला, चिवेकखोला, बेलाहाखोला गच्छेखोलालगायतका खोलामा कज–वे पुल निर्माणका लागि राज्यले करोडौँ लगानी गरिसकेको छ । करिब एक सय ८० किलोमिटर लम्बाइ भएको यो सडकखण्डको सफलताका लागि थुप्रै स्थानीय जनताको घरबारी–खेतबारी समाप्त भइसक्दा चुत्राबेसी बजारमा पुगेर विवादमा बल्झिएको सालझन्डी–ढोरपाटन सडकका कार्यालय प्रमुख मेघराज मरासिनीको भनाइ रहेको छ । चुत्राबेसी बजारले सन्धिखर्कतिरबाट र सन्धिखर्क बजारले चुत्राबेसीबाट सडक लैजानका लागि अडान दर्शाएका कारण समस्या उत्पन्न भएको सडकप्रमुख मरासिनी बताउँछन् ।
चुत्राबेसी बजारको मुखबाट कता लैजाने भनेर विवाद गरिएको भए पनि अगाडिको कार्य भने तीव्र अगाडि बढेको छ । अर्घाको फेदी हुँदै भडार, रतनमारे, सौतामार, पुर्कोट दह, सिर्सेनी, अर्खावाङ, बुर्तिवाङ, फलेयाघर हुँदै अब केही दिनभित्रै स्वर्गको टापुसमान ढोरपाटनमा सडक पुग्ने अवस्था छ । सालझन्डी–ढोरपाटन सडक कार्यालयका सवइन्जिनियर रामटहल यादवका अनुसार चुत्राबेसी बजारमा समस्या नआएमा नयाँ वर्षको आगमनसँगै आफ्नै बाटोको प्रयोगद्वारा सालझन्डीदेखि ढोरपाटन एउटै गाडीमा पुग्न सकिन्छ ।
ढोरपाटन सिकार आरक्ष सिकारी पर्यटकका लागि नेपालको एक मात्र गन्तव्य स्थल हो र सुनदह, सेङ, दोगाडी, घस्तुङ, वासै, फागुने, सुर्तिवाङ गरी सातवटा ब्लक राखिएको छ । जसलाई सिकारका निम्ति तोकिएको क्षेत्र भनेर बुझ्न सकिन्छ । राज्यद्वारा करोडौँ रुपैयाँ लगानी भइसकेको करिब उक सय ८० किलोमिटर लामो सडक अर्घाखाँचीको चुत्राबेसी बजारमा आएर अलपत्र पर्नुलाई विडम्बनाको रूपमा लिन सकिन्छ । जम्मा करिब पाँच सय मिटरको समस्या समाधानका लागि राज्य र जिल्लाका दलहरू गम्भीर नबनेका कारण स्थानीय र सालझन्डी सडक कार्यालयको बीचमा वैमनश्यता उत्पन्न भएको छ ।
सन्धिखर्क र चुत्राबेसी बजारमा भविष्य गुजार्ने सपनाका साथ स्थानीयले खाई–नखाई जोगाएको स्वआर्जन तथा रेमिट्यान्स प्रयोग गरी जोडिएको एउटा मात्र घर–घडेरी रहेका छन् । त्यही एउटा सानो घर–घडेरी पनि ढोरपाटन सडकले मेटिदिने हो कि भन्ने पिरलोमा स्थानीयवासी रहेका उमेश घिमिरेको भनाइ रहेको छ । सन्धिखर्क चुत्राबेसी बजारमा असी हजारदेखि हातको सात लाखसम्ममा घडेरी खरिद–बिक्री हुने गरेका छन् । स्थानीय र सडक कार्यालयबीच समस्या सुरु भएको लामो समय भइसक्दा पनि विभिन्न पार्टीका झन्डा बोक्नेहरूले जिल्लाको विकासका लागि स्थानीय विनासका समस्या समाधानको विकल्प ननिकाल्नु विडम्बनाको रूपमा लिन सकिन्छ ।
ढोरपाटन सडकलाई अगाडि बढ्न दिनु जति आवश्यक छ त्यति नै स्थानीयको समस्या पनि महत्वपूर्ण भएको कारण बेलाबखत आइपर्ने यस्तैखाले विवाद वा समस्या समाधान गर्ने जिम्मेवारी निर्वाहका लागि नेपाली जनताले तिरेको करबाट तलब, सरकारी निवास अनि चिल्ला गाडीको सुविधा दिएर राज्यले प्रमुख जिल्ला अधिकारीलगायतका राष्ट्रसेवकको पालनपोषण गर्दै आएको छ । हुन त यो विषय शिक्षामा चारवटा शिक्षक कोटा आएमा चार दललाई एक–एक गरी भागबन्डा गर्ने वा जिविसले जस्तो सानो टेन्डरमा जिल्लामै नआउने पत्रपत्रिकामा डेढ लाख विज्ञापनमा खर्च गरियो भनेर फाइल मिलाउनुजत्तिको सहज नभए तापनि राज्यले चाहेमा आफ्नो जमिन पहिचान गरी समस्या समाधान गर्न सक्ने बुद्धिजीवीहरूको ठहर रहेको छ । विवादास्पद स्थानमा राज्यको आफ्नो जमिन अलग्याउनका लागि प्रशासनले तत्परता देखाएमा जिल्लामा रहेका राजनीतिक दलहरूले यसलाई राजनीतिक मुद्दा नबनाई बिनास्वार्थ राज्यलाई सहयोग गर्नुपर्छ । नेपाल सरकारको नियमानुसार सरकारी र सार्वजनिक जमिनको मालिक राज्य हुने कारण आफ्नो जमिनको पहिचान गरी नपुग जमिन मात्र स्थानीयको सल्लाहमा जानु राज्यको पनि बुद्धिमानी हुनेछ । यसै विषयमा केन्द्रित भई प्रजिअ सागरमणि पाठकसमक्ष जिज्ञासा राख्न खोज्दा उहाँसँग सम्पर्क हुन सकेन । आफ्नै जमिन भएको ठाउँमा करिब पाँच सय मिटरको विवाद मिलाउन पनि वर्षौं लगाउने प्रशासन र राजनीतिक दलहरूद्वारा अर्घाखाँचीका सर्वसाधारणले के अपेक्षा गर्ने ? सोचनीय विषय बनेको छ ।
राज्यले जिल्लामा कुनै पनि समस्या समाधान गर्न दलको मुख ताक्नुपर्ने बाध्यता अर्घाखाँचीमा विद्यमान छ तापनि ढोरपाटन सडकखण्डका लागि आफ्नो जमिन गुमाइसकेका स्थानीयको विरोध चुत्राबेसीकै कारण उत्पन्न भयो भने के जिल्लाका दलहरूले जिम्मेवारी लिन सक्लान् त ? राज्यले गहिरिएर सोच्नु आवश्यक देखिन्छ । स्थानीय जनताको सम्मान गर्दै समस्याको समाधानका साथ ढोरपाटन सडकको विस्तारमा तीव्रता दिनु सकारात्मक पक्ष हो । पाँच किलो फलफूल वितरण वा दुईवटा पसलमा अनुगमन भनौँ वा स–साना कार्यक्रम आयोजना गरी मिडियामार्फत जिल्लाबाहिर सकारात्मक सन्देश दिने पुरानो रोग अर्घाखाँचीमा अन्त्य भइसकेको छैन तापनि करोडौँ लगानी भइसकेको र सबैैको चासोको विषय बनेको सालझन्डी–ढोरपाटन सडकखण्डको पाँच सय मिटरको विवादलाई समाधानतर्फ पहलकदमी नलिइनुलाई आ–आफ्नो जिम्मेवारीबाट सबै पक्ष पन्छिन खोजेको चर्चा व्याप्त बनेको छ ।
ढोरपाटन तथा आसपासको क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले समेत उत्तिकै महत्वपूर्ण मानिन्छ । उत्तरगंगा, रुद्रताल, मैकुट अनि सुनदह त्यहाँका प्रसिद्ध धार्मिक स्थलहरू हुन् । ढोरपाटन सिकार आरक्ष कार्यालयबाट अगाडि पाँच सय ५० रोपनी जमिनमा करिब पाँच सय ५१ वटा पिलर र काँडेतार लगाउँदै एयरपोर्ट निर्माणकार्यलाई अगाडि बढाइएको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयदेखि सामुन्ने निमार्णाधीन एयरपोर्ट दाहिनेतर्फ प्रहरी चौकी र बायाँतर्फ ३५ घरधुरीमा तिब्बतीयन शरणार्थी बसोबास गर्दै आइरहेका छन् ।