हेलिकोप्टर राजनीति

हेलिकोप्टर राजनीति


nisedhक्रान्तिकारी नेता प्रचण्डको तडकभडकपूर्ण राजनीतिक शैलीलाई मन नपराउनेहरूले उहाँको हेलिकोप्टरमोहलाई विशेष आलोचनाको विषय बनाएको पाइन्छ । स–साना कामका लागि पनि हेलिकोप्टर प्रयोग गर्ने गरेका कारण उहाँलाई सर्वसाधारणले आफ्नो नेता मान्न हिच्किचाउने परिस्थिति बनेको थियो । संविधानसभाको दोस्रो निर्वाचनमा प्रचण्ड तथा एनेकपा माओवादीको पराजयको अनेकौँमध्ये एउटा कारणमा ‘हेलिकोप्टर दौडधुप’लाई पनि लिइन्छ । यही चैत १ गते नेकपा एमाले धादिङ क्षेत्र नं. १ को क्षेत्रीयस्तरको अधिवेशनको उद्घाटनमा एमाले नेताहरूले एकै साथ तीनवटा हेलिकोप्टर चार्टर गरेर गएपछि फेरि मुलुकमा एकपटक हेलिकोप्टर–चर्चा सुरु भएको छ । मुलुकका गृहमन्त्रीसमेत रहेका एमाले नेता वामदेव गौतम तथा जिल्लाका केही नेताहरू अधिवेशनस्थलमा हेलिकोप्टरबाट ओर्लिएपछि कोसौँ टाढाबाट पैदलै आएका कार्यकर्ताले उहाँहरूलाई पसिना पुछ्दै स्वागत गरेका थिए । हेलिकोप्टरले नेता र कार्यकर्ता या नेता र स्थानीय जनताबीचको खाडल बढाएको मात्र थिएन, नेता भनेका ‘विशेष’ हुन भन्ने झलक पनि दिइरहेको थियो । जुन ठाउँमा भोट माग्नलाई नेताहरू पैदल पुगेका थिए, जितेर गएपछि तिनै जनताका माझ हेलिकोप्टर चढेर जाँदा बडो शानको अनुभव गरेको देखियो । मिडियामा आएका फोटोहरू हेर्दा बारीमा लहरै तीनवटा हेलिकोप्टर राखेर नेताहरू जनतामाझ पुगे, यस्ता जनता जसको खुट्टामा गतिलो चप्पल थिएन, फाटेका लुगा लगाएका थिए । एकछाक खान र एकसरो लाउन धौ–धौ हुने जनताका माझ हेलिकोप्टर लिएर पुग्नुलाई गौरव गर्ने नेताहरू देख्दा धेरैलाई अप्ठ्यारो महसुस भएको हुनुपर्छ । गृहमन्त्रीसम्मलाई कार्य व्यस्तताका कारण ‘ठीकै हो’ भन्न सकिन्छ, तर अन्य नेताहरूको हकमा भने नेताहरू आफैँले सोच्नुपर्ने कुरा हो । सर्वहारा र गरिबका पक्षमा उभिएको दाबी गर्ने एमाले नेताहरूको कुरा सुन्ने र रवाफ देख्नेहरूलाई असहज हुनु स्वाभाविकै पनि हो । सर्वहारा वर्ग र जनताको मुक्तिका लागि भनेर कुरा गर्नेहरूको जीवनशैली आखिर किन यस्तो हुन्छ ? बुझ्न सकिएको छैन । त्यसो त, नेपाली काङ्ग्रेसका नेताहरू पनि हेलिकोप्टर नचढ्ने होइनन्, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला हेलिकोप्टरको दुरुपयोग भरपूर मात्रामा भएको हो, त्यतिबेला एमाले कार्यकर्ताले राज्यको ढिकुटीको दुरुपयोग भएको भनी ढुङ्गामुडासमेत गरेका थिए । तर, मौका पाएपछि हेलिकोप्टर मोहबाट एमाले टाढा रहन सकेन । दुर्गम मानिने धादिङको क्षेत्र नं. १ मा पहिलोपटक विजय हासिल गरेको एमालेले चुनाव प्रचारका क्रममा हेलिकोप्टरको ताँती लगाएर देखाइदिने वाचाबन्धन गरेको र सोही वाचाअनुरूप हेलिकोप्टर लिएर गइएको हो भने यसलाई त्यति नकारात्मक रूपमा लिनु नपर्ला । तर, चुनावमा जस्तोसुकै वाचा गरिएको भए पनि देख्नेहरूले चाहिँ यसलाई स्वाभाविक रूपमा लिएका छैनन् ।
नेताहरूको भनाइ र गराइमा सधँै फरक पर्नु नेपाली जनताका लागि दुर्भाग्य बन्दै आएको छ । हेलिकोप्टरको प्रयोग माधव नेपाल प्रधानमन्त्री हुँदा पनि त्यत्तिकै भएको हो । स–साना आयोजनाको उद्घाटन, शिलान्यासलगायतका कार्य गर्न उहाँले हेलिकोप्टर नै प्रयोग गर्नुहुन्थ्यो । जुन कुराका लागि प्रधानमन्त्री स्वयम् गइरहनु आवश्यक नै थिएन । बालबालिकालाई अध्ययन गर्नका लागि शैक्षिक सामग्री र डेस्क–बेन्चसमेतको अभाव भएको स्कुलको अगाडि हेलिकोप्टर रोकेर कार्यक्रमलाई सम्बोधन गर्न जाने नेताहरूले कहिले पनि त्यो खाडललाई फर्किएर हेर्ने कोसिस गरेको देखिएन । कुनै बेला सांसदलाई गाडी किन्न भन्सार सुविधा छुट दिँदा एमाले वृत्तमा ठूलै हल्ली–खल्ली मच्चिएको थियो । पार्टी विभाजनमा यो कुराले ठूलो महत्व पनि पाएको थियो । तर, अहिले एमालेभन्दा चर्को कुरा गर्ने माओवादीहरू नै सुविधामा डुबेपछि एमाले वृत्तमा यसप्रकारका कुरा सामान्य बन्दै गएको देखिन्छ । सकारात्मक भएर हेर्ने हो भने विगतमा राजाका भ्रमणहरूमा मात्रै आफ्नो गाउँठाउँमा हेलिकोप्टर देख्न पाउने नेपाली जनताले नेता आएपिच्छे हेलिकोप्टर देख्न पाएका छन्, यसलाई ‘राम्रै’ मान्नुपर्ला । हिजो राजा या राजपरिवारका सदस्यहरू मात्र चढ्थे अहिले जनताका छोरा (छोरीले अहिलेसम्म यसप्रकारको रवाफ देखाउन नपाएकाले) हरूले पनि चढ्न पाएका छन्, यो पनि राम्रै कुरा हो । हिजो राजाहरू कहीँ जाँदा एउटा मात्रै हेलिकोप्टर लिएर जान्थे अहिले एउटा कार्यक्रममा तीनवटासम्म हेलिकोप्टर जनताले एकैपटक लहरै एकै ठाउँमा देख्न पाएका छन्, यसलाई पनि क्रान्तिकारी कदम नै मान्नुपर्ला । त्यही कहाँ, केका लागि ? कुन परिस्थितिमा ? भन्ने कुराले महत्व राख्ने भएकाले मात्रै चर्चा गर्नुपर्ने कारण देखिएको हो । चुनावका बेला अरू नेताहरू गाडीमा जाने, प्रचण्ड मात्रै हेलिकोप्टर लिएर दौडिने गर्दा त्यसलाई मानिसले रुचाएनन् । सुगम ठाउँलाई छोडेर यदि दुर्गम ठाउँमा मात्रै हेलिकोप्टरको प्रयोग गरिएको भए शायद त्यसलाई सामान्य नै मानिने थियो । धादिङ घटनामा पनि गृहमन्त्रीबाहेक अन्य नेताहरू गाडीमा त्यहाँ पुगेका भए भर्खरै भोट हालेका जनताले राम्रो मान्ने थिए । उनीहरूलाई आफ्नो नेता आएको महसुस हुने थियो, तर हेलिकोप्टरबाट नेताहरूको अवतरणले अन्तरिक्षबाटै आएर फर्किएको महसुस गरायो ।
नेताहरूले चढ्नै नहुने भए यत्तिका हेलिकोप्टर केका लागि भन्ने प्रश्न उठ्न सक्छ । मुलुकमा अहिले हेलिकोप्टर छन्, ती प्राय: सामान ढुवानीमा प्रयोग हुने गरेका छन् । आपतकालीन स्थितिमा हेलिकोप्टर नै प्रयोग गर्नुपर्ने परिस्थति छ र प्रयोग गर्ने गरिएको छ पनि । हामीकहाँ हिजोआज नेताहरूले जे गरे पनि आलोचना गर्ने गरिएको छ । नेताहरूले सुबिधा नै प्रयोग गर्न नहुने, सहज रूपमा कतै यात्रा नै गर्न नहुने भन्ने पटक्कै होइन । कतिपय अवस्थामा आफ्नो ‘स्टेटस मेन्टन’ गर्न पनि सुविधाको प्रयोग गर्नुपर्ने हुन्छ । तर, कस्तो ठाउँमा ? के उद्देश्यले ? भन्ने कुराले महत्व राख्छ । बढ्दो बेरोजगारीले दुई छाक खान धौधौ भएका जनतामाझ जानका लागि धादिङलगायतका जिल्लामा गाडीमै जान सकिन्छ । भर्खरै एमालेका नेताहरू हेलिकोप्टर लिएर पुगेको स्थान जिल्ला सदरमुकामबाट चार घन्टा पनि लाग्दैन । एकजना नेता त राजधानीबाट हेलिकोप्टर चढेर जानकै लागि अघिल्लो साँझ जिल्लाबाट राजधानी आएर हेलिकोप्टर चढी त्यहाँ पुगेको पनि बुझियो । यो सब जनताप्रतिको हाम्रो सोचको कुरा हो । त्यो विकट बस्तीमा कसलाई देखाउनु छ र ? भन्ने सोच आएको भए भइहाल्यो म गाडीमै जान्छु भन्ने हुन सक्थ्यो । सुविधाको उपयोग भन्ने कुरा ठाउँअनुसार गर्दा नै राम्रो हुन्छ जस्तो लाग्छ । धनी मुलुकका लागि भए हेलिकोप्टर चढ्न नेता भइरहनै पर्दैन । अलि बढी खेतबारी र खेतीपाती हुने किसानका पनि हेलिकोप्टर हुन्छन् र निजी हेलिकोप्टरमा चढेर उनीहरू खेतबारी–घर गर्छन् । हेलिकोप्टर उनीहरूका लागि शान होइन, आवश्यकता मात्रै हो । तर, हामीकहाँ भने यसप्रकारका सुविधालाई आवश्यकताभन्दा बढी शान–सौकतका रूपमा लिने गरिएको छ । जसको जनतामा नकारात्मक प्रभाव धेरै छ ।