तनहुँ जलविद्युत् आयोजनाका लागि ५० रोपनी जग्गा अधिग्रहण गरिदैं

तनहुँ जलविद्युत् आयोजनाका लागि ५० रोपनी जग्गा अधिग्रहण गरिदैं


एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि थप ५० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । आयोजनाले व्यास नगरपालिका–५ स्थित वेतेनीमा थप जग्गा अधिग्रहण गर्नेछ ।

आयोजनाको ड्याममा जाने प्रवेशमार्ग र ठेकेदारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरिने आयोजनाका साइट इञ्चार्ज इञ्जिनियर विदुर अधिकारीले जानकारी दिए । उक्त जग्गा अधिग्रहणका लागि रु ७ करोड ७५ लाख विनियोजन गरिएको छ ।

जग्गाको प्रकृति हेरेर जग्गाको मूल्यसमेत निर्धारण भइसकेको र यही असोज १० गतेदेखि मुआब्जा वितरण गरिने छ । उनका अनुसार त्यस ठाउँको जग्गा अधिग्रहणका लागि प्रतिरोपनी रु ९ लाख ५० हजारदेखि २० लाखसम्म मूल्य निर्धारण गरिएको छ । त्यस्तै पहिरोमा परेको जग्गाका लागि प्रतिरोपनी रु दुई लाख ४० हजार निर्धारण गरिएको छ । जग्गा अधिग्रहणबाट ६० घरपरिवार प्रभावित हुनेछन् ।

हालसम्म ६७ करोड वितरण

आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई अहिलेसम्म रु ६७ करोड मुआब्जा वितरण गरिसकेको छ । अब रु ५ करोड मुआब्जा वितरण गर्न बाँकी छ । आयोजना निर्माणबाट डुबानमा पर्ने ३०० भन्दा बढी घरपरिवारलाई मुआब्जा रकम वितरण गरिएकोे छ ।

आयोजनाले जग्गाको मात्रै नभई घर टहरा, गोठ तथा रुख बिरुवाको समेत मुआब्जा तथा क्षतिपूर्ति वितरण गरेको छ । आयोजनाको जलाशय क्षेत्रमा एक हजार २०० रोपनी निजी जग्गा अधिग्रहण गर्नेछ । आयोजनाका लागि ४१९ हेक्टर सरकारी जग्गा अर्थात वन क्षेत्र अधिग्रहण गर्नुपर्नेछ । कम्पनीले २०७३ फागुन ५ देखि मुआब्जा वितरण शुरु गरेको थियो । २५ किलोमिटर क्षेत्रसम्म आयोजनाको जलाशय फैलिनेछ । १४० मिटर अग्लो बाँध निर्माण हुने जालशयको लम्बाइ १७५ मिटर हुनेछ ।