नेप्से २२ अंकले बढ्दा एक अर्ब सात करोडको कारोबार

नेप्से २२ अंकले बढ्दा एक अर्ब सात करोडको कारोबार


धितोपत्र बजारमा आज सेयरको मूल्य दोहोरो अंकले वृद्धि भएको छ । सेयर कारोबारमापक नेप्से परिसूचक २२ दशमलव ३ बिन्दुले बढेर एक हजार २७९ दशमलव ९८ बिन्दुमा पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाले बोनस दिन थालेको र सेयरमा लगानीका लागि क्रमशः वातावरण बन्दै गएको भन्दै बजारमा लगानीकर्ता ओइरिएपछि नेप्से परिसूचक र कारोबार रकमसमेत वृद्धि भएको हो ।

सोमबारको बिदापछि खुलेको बजारमा रु. एक अर्ब सात करोड ४२ लाख २८ हजार ३४ मूल्यबराबरको सेयर कारोबार भएको छ ।

कुल १७३ कम्पनीको ४२ लाख १५ हजार ६५१ कित्ता सेयर कारोबार भएको हो । कारोबार रकमसमेत अर्बमाथि पुगेपछि लगानीकर्ताको मनोबल बढेको देखिएको छ ।

‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ५.२५ बिन्दुले बढेर २७२.१६ बिन्दुमा पुगेको छ । स्टकका अनुसार बैंकिङ २९.३२, व्यापार २.७९, होटेल २२.७८, विकास बैंक ३७.८२, जलविद्युत् ७.३४, वित्त ५.५९, निर्जीवन बिमा ६३.३८, उत्पादन १०.९४, माइक्रोफाइनान्स १०.४४, जीवन बिमा ३७.३६ बिन्दुले बढ्दा अन्य समूह भने १.४६ बिन्दुले घटेको छ ।

भार्गव विकास बैंक, सनराइज बैंक, प्रभु बैंकका लगानीकर्ताले आज बढी कमाएका छन् भने गुराँस फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त वित्तीय संस्था र अपि पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।