बजारमा चिनीको कृत्रिम मूल्य बृद्धि

बजारमा चिनीको कृत्रिम मूल्य बृद्धि


बजारमा चिनीको कृत्रिम मूल्य बृद्धि भएको छ । सरकारले स्वदेशी उद्योगलाई प्रवद्र्धन र संरक्षण गर्न भन्दै चिनी आयतमा कोटा लगाएपछि व्यवसायीहरुले मौकाको फाइदा उठाउनको लागि चिनीमा आफुखुसी मुल्य बढाएका हुन् । जसको असर उपभोक्तालाई परेको छ । सरकारले चिनीमा वार्षिक एकलाख टन मात्रै आयात गर्न पाउने गरि कोटा निर्धारण गरिदिएको छ ।

व्यवसायीहरुले बजारमा चाडपर्वको समयमा चिनीको मूल्य बढ्न सक्ने आशंका छ । एकातिर व्यापारीले चिनी आयात गरी मौज्दात राख्दा र स्वदेशी उद्योगले एकाधिकार जमाउन खोजेकाले उपभोक्ता महंगोमा चिनी किन्न बाध्य छन् ।

नेपालका चिनी उद्योगहरुले आयातित चिनिसँग प्रतिस्पर्धा गर्न नसकेको भन्दै आयात रोक्न दवाव दिएपछि सरकारले कोटा निर्धारण गरिदिएको हो । जसले गर्दा कृत्रिम मुल्य बृद्धि हुदा उपभोक्तहरु महंगोमा चिनी किन्न बाध्य छन् । नेपालमा चिनीको वार्षिक माग २ लाख ३० हजार टन छ । भारतीय बजारबाट आयातित चिनी नेपालमा बढिमा ६५ रुपैयाँ प्रति केजिमा विक्री हुने गरेको थियो ।

नेपाली चिनीको खुद्रा मुल्य ७० रुपैयाँ प्रति केजि पर्न जान्छ । त्यसैले नेपाली चिनी विक्री हुन छाडेपछि उद्योगीको दवावमा सरकारले आयातमा कोटा निर्धारण गरेको हो । तोकिएको कोटा भन्दा बढी आयात नहुने भएपछि व्यापारीहरुले चिनीको मुल्य बढाएर विक्री गरिरहेका छन् । सरकारले चिनीको कृत्रिम मुल्यबृद्धि भएमा कोटा हटाइदिने दावी गरेको छ तर बजारमा चिनीको मूल्य बढेको थाहा पाउन सकेको छैन् ।

यता बजारमा खुद्रा व्यपारीहरुले सरकारले चाडवाडको बेलामा कोटा निर्धारण गरिदिएपछि ठुला तथा होलसेल व्यापारीहरुले भाउ बढाइसकेको बताएका छन् । व्यापारीहरुले सरकारले कोटा बढाउँदा बढेको चिनीको मुल्यको दोष आफुहरुमाथि परेको दुखेसो समेत पोखेका छन ।

नेपालमै उत्पादीत चिनी विक्री गर्ने बाहनामा सरकारले उद्योगी संग मिलेर कोटा निर्धारण गरिदिदा बजारमा चिनीको कृत्रिम मूल्य बृद्धि भएको हो ।