मुलुक निर्माणका लागि नयाँ शक्ति निर्माण आवश्यक रहेको सन्देश दिँदै पूर्वप्रधानमन्त्री एवम् एमाओवादी नेता डा. बाबुराम भट्टराईले यसका लागि आफ्नै पार्टीबाट रूपान्तरण प्रक्रिया आरम्भ हुनुपर्ने आग्रह सार्वजनिक गरेका छन् । डा. भट्टराईको ‘नयाँ शक्ति निर्माण’को तीरले नेपाली राजनीतिक वृत्तमा ठूलै तरङ्ग सिर्जना गरेको छ । उनको यस अवधारणामाथि सकारात्मक र नकारात्मक दुवै कोणबाट व्याख्या, विश्लेषण र टीका–टिप्पणी जारी छन् । कतिपयले भट्टराईजस्ता बौद्धिक नेताबाट अघिसारिएको नयाँ शक्ति निर्माणको प्रस्ताव वर्तमान सन्दर्भमा अत्यन्त जायज रहेको तर्क गरेका छन् भने कतिपयले चाहिँ पार्टीभित्र आफ्नो वर्चश्व स्थापित गर्नका लागि मात्र उनले यसरी नयाँ अवधारणाको अस्त्र प्रयोग गरेको आक्षेप पनि लगाएका छन् । तर, बाबुराम भट्टराई जुन मानसिकताका साथ यतिबेला जुन बिन्दुमा उभिएका छन् र उनको राष्ट्रिय–अन्तर्राष्ट्रिय जुन छवि छ, यस आधारमा नवीन प्रस्तावको चुरो केलाउँदा फगत आफ्नो अन्तरपार्टी अवस्थिति सुदृढ तुल्याउनकै लागि उनले यसरी राजनीतिक माहोल तरङ्गित तुल्याए होलान् भन्न सकिन्न । भट्टराईजस्ता व्यक्तित्वबाट देश र जनताले खास अपेक्षा गरिरहेको र उनी उभिएको दलीय जगचाहिँ उनीअनुकूल नरहेको धारणा बेलाबखत अनेक तह–तप्काबाट अभिव्यक्त हुँदै आएको सन्दर्भ र नेपाली राजनीतिले जनतालाई समृद्धि दिन नसकिरहेको परिवेशमा नयाँ शक्ति निर्माण प्रस्ताव आफैँमा महत्वशाली र अर्थपूर्ण रहेको किटान गर्न सकिन्छ ।
डा. बाबुराम भट्टराई उनको पार्टी एकीकृत नेकपा माओवादीमा दोस्रो नम्बरका नेता मानिन्छन्, तर ‘दोस्रो स्थान’मा रहेका नेतामा निहित रहनुपर्ने वर्चश्व वा अधिकार उनले उपभोग या प्रयोग गर्न पाइरहेका छैनन् । व्यक्तिकेन्द्रित नेतृत्व कम्युनिस्ट पार्टीको खास चरित्र हुनुको कारण यस्तो हुनु अस्वाभाविक पनि छैन । यस आधारमा भन्नुपर्दा समयसापेक्ष ढङ्गमा आफू र आफ्नो नीतिलाई परिमार्जन गरी देश र जनताको हितमा उपयोग गर्नका लागि बाबुराम भट्टराईलाई पनि लगाम आफ्नै हातमा रहेको या आफ्ना नीति सहजै लागू गर्न सकिने पार्टीरूपी ‘रथ’को खाँचो परेको हुन सक्छ । यसै पनि एमाओवादी पार्टी ‘विचार एउटाको नेतृत्व अर्कैको’ अवस्थाबाट गुज्रिरहेको छर्लङ्गै छ । पार्टीको ‘थिङ्क ट्याङ्क’का रूपमा डा. भट्टराईको चर्चा चुलिनु र सङ्गठनको पकड जस्तोसुकै परिस्थितिमा पनि प्रचण्डकै मुठ्ठीमा रहनु एमाओवादी पार्टीको एउटा रोचक विशेषता मात्र नभई विडम्बनाको कारक पनि हो । यस्तै ‘बिब्ल्याँटा’हरूका कारण पनि भट्टराईमा नयाँ शक्ति निर्माणको सोच पन्पिएको हुन सक्छ । यसलाई आलोचक या विरोधीहरूले ‘प्रचण्डसँग बार्गेनिङ गरी आफ्नो पोजिसन दर्बिलो तुल्याउने बाबुरामको प्रयास’का रूपमा चित्रित गर्न खोज्नुमा सत्यताको अंश छँदै छैन भन्न नसकिएला, तर यो बाबुराम भट्टराईमाथिको दूराग्रहप्रेरित सम्प्रेषण नै हो भन्न धेरै सोचविचार गरिरहनु नपर्ला । अर्थात्, डा. भट्टराईको वैचारिक पृष्ठभूमि र अन्तरपार्टी सम्बन्धित प्रवृत्तिहरूका आधारमा शङ्का उठाइनु स्वाभाविक नै भए पनि राजनीतिक शक्तिनिर्माणको यसपटकको बहसमा उनी इमानदार रहने लक्षण र आधारहरू प्रशस्तै छन् । एकप्रकारले मुलुकको राजनीतिक बाध्यताका कारण पनि डा. भट्टराईको नयाँ प्रस्ताव सान्दर्भिक र विश्वसनीय बन्न पुगेको प्रतीत हुन्छ, जो यतिबेलाको निराशाप्रदायक निरस नेपाली राजनीतिका लागि सुखद् सन्दर्भ हो ।
पुरानो मुलुक, मूल्यवान् स्रोत, इमानदार एवम् परिश्रमी जनता र गौरवमय संस्कृति–सम्पदाहरू हुँदाहुँदै पनि नेपाल सफल र समृद्ध बन्न नसकेको निराशाबाट अब साँच्चै मुक्ति चाहिएको छ । आफू या आफ्नो नाम स्थापित गर्ने उद्देश्यबाट मात्र प्रेरित भई कसैले नयाँ शक्ति निर्माण र नेतृत्वको कुरा गर्छ भने त्यस्ता व्यक्तिले इतिहासमा बचेखुचेको नाम पनि कलुषित तुल्याउँछ । साँच्चै मुलुक र मुलुकवासीको चिन्ता गर्दै आफूलाई इमान र निष्ठाका साथ समर्पित गर्न केही योग्य व्यक्ति तत्पर हुन्छ भनेचाहिँ उसको योगदानको यथोचित मूल्याङ्कन गर्न इतिहासले कहिल्यै कन्जुस्याइँ गर्दैन । यसर्थ, डा. भट्टराईको नयाँ शक्ति निर्माण प्रस्ताव ‘विचारको लठ्ठी चलाएर प्रचण्डलाई गलाउने प्रयास’ मात्रमा सीमित नरहोस् । सकभर डा. भट्टराईले चाहेजस्तै उनकै पार्टी रूपान्तरित भई देशहितमा लागोस्, ताकि अन्य दलहरू पनि समयसुहाउँदो रूपान्तरण प्रक्रियामा जान बाध्य होऊन् । मुलुक बनाउने राजनीतिका लागि दलहरूको रूपान्तरण अपरिहार्य छ । जनताले मात्र त जतिसुकै चाहे पनि इमानदार र सक्षम अगुवाबिना देशले समृद्धिको मार्ग पहिल्याउन कठिन पर्ने पाठ हामीले पढिसकेका छौँ । दलहरूले यो बुझ्दैनन् भने जनताले विकल्प त खोज्छन् नै, नेतृत्वमा चाहे बाबुराम देखियून् या अरू नै कोही ।
प्रतिक्रिया