एउटै परिभाषामा समेट्न नसकिने प्राणी मानिसलाई अनेकौँ कोणबाट हेर्न–बुझ्न सकिन्छ । सार्वजनिक र निजी दुई अलग जीवन बिताउनेहरूको सोच, व्यवहार, सीमा र मान्यता पनि मानिसको श्रेणी छुट्याउने आधार हुनसक्छन् । निजी जीवन बिताउने मानिसलाई जुन प्रकारका छुटको सुविधा मिल्नसक्छ सार्वजनिक भूमिका या जिम्मेवारीमा रहेका मानिसका लागि त्यसप्रकारको सुविधा अस्वाभाविक मानिन्छ । निजी जीवन बिताउनेहरू वैयक्तिक सुख, सुविधा र आनन्द प्राप्तिका लागि प्रचलित नियम–कानुनको परिधिमा रही जुनसुकै कर्म गर्न स्वतन्त्र हुन्छन् । वर्षमा ३६५ दिन सिनेमाहल, मदिरा केन्द्र, क्यासिनो, पार्क या खेतीबारीमा बिताए पनि तिनलाई ‘छुट’ हुनसक्छ, वर्षैपिच्छे केटा या केटी साथी बदल्ने गरे पनि कसैको सरोकार नहुन सक्छ । निजी जीवन बिताउनेका पति या पत्नीको सोच, व्यवहार या चरित्र जस्तोसुकै भए पनि बाँकी अन्य मानिस त्यसप्रति बेसरोकार रहन सक्छन् । यी कोटिका मानिस कुनै पार्क, सडकपेटी या कुनै पनि ठाउँमा बदाम र आइसक्रिम खाँदै हिँडे पनि चासो राखिँदैन र तिनले आफ्नो मनपसन्दका जुनसुकै रङ्ग र ढङ्गका पहिरन प्रयोग गरे पनि सार्वजनिक चियो, चर्चा या टीका–टिप्पणीको विषयभित्र नपर्न सक्छ । तर, सार्वजनिक व्यक्तित्वको हकमा उल्लिखित सबै क्रियाकर्म स्वाभाविक र वाञ्छित मानिँदैन । समाज र देशको सम्पत्ति मानिने सार्वजनिक व्यक्तिका हरेक क्रियाकलापप्रति जनसाधारणको चासो रहने गर्दछ र यस्ता व्यक्तिहरू समाजमा जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्छ भन्ने अपेक्षा राखिन्छ । यसर्थमा सार्वजनिक व्यक्ति निजी खुसी चाहेर पनि आफूले आफैँलाई त्यसबाट वञ्चित राख्न बाध्य हुन्छन् र हुनुपर्छ भनिएको हो । यद्यपि संसारमा एउटै व्यक्तिबाट निजी र सार्वजनिक जीवनको अभ्यास पनि हुँदै आएको छ । निजी जीवन नकोट्याईकन सार्वजनिक भूमिका या जिम्मेवारीका आधारमा व्यक्तिप्रतिको धारणा बन्नुपर्छ भन्ने मान्यता एकप्रकारले स्थापित भएको पनि छ । त्यसैले निजी खुसी प्राप्तिको चाहना भए पनि त्यसप्रतिको आशक्ति सार्वजनिक व्यक्तिका निम्ति अशोभनीय मानिन्छ । सार्वजनिक जिम्मेवारी वा दायित्व निर्वाह गर्ने व्यक्तिहरूले निजी खुसी ‘बलिदान’ गरेका अनेक दृष्टान्त छन् । पौराणिक कालका राजा राम त्यसको सबभन्दा ‘सटिक’ दृष्टान्त हुन् । सीताका लागि रामले रावणसँग धेरै ठूलो लडाइँ लडे, हजारौँ मानिस र पशुपन्छीले युद्धका क्रममा ज्यान गुमाउनुप-यो । आफ्नी प्रियतमालाई पाउनका निम्ति रामले छलकपटमा पनि सहमति जनाउनुप-यो । सीताजस्ती नारीलाई अपहरण गरेर रावणले कति ठूलो अपराध गरेका हुन् त्यो रामले महसुस गरेका थिए र अपहरित हुँदा सीताले कति गहिरो पीडा भोगेकी होलिन्– त्यसको अनुभूति पनि रामलाई भएको थियो । सीताको आफूप्रतिको पे्रम, समर्पण, इमानदारी, प्रतिबद्धता, सद्भाव र सम्मानबारे पनि राममा कुनै द्विविधा थिएन । त्यसैले रावणको कब्जाबाट सीतालाई मुक्त गराइँदा स्वयम् सीताभन्दा राम बढी खुसी र आनन्दित भएका थिए । तर, रामको त्यस्तो खुसी धेरै समय टिक्न सकेन । नटिक्नुमा सीताको कुनै खोट थिएन र राजाका रूपमा रामको पनि कुनै दोष मानिँदैन । पुनर्मिलन भइसकेलगत्तै चौध वर्ष लामो वनवासको अवधि समाप्त भएको थियो र तत्काल राजाका रूपमा रामले जिम्मेवारी सम्हालेका थिए । रामपत्नीका रूपमा सीताले अवाञ्छित लाभ लिने, कमिसन खाने, राजा रामले लिनुपर्ने निर्णयहरूमा हस्तक्षेप गर्ने, माइतीतर्फका आफन्तजनलाई मौका दिनका लागि योग्यहरूलाई पाखा लगाउने या राम राजकाजमा व्यस्त रहेको मौका छोपेर राज्यको धन, जनताको सम्पत्ति या परपुरुषमाथि आँखा लगाउनेजस्ता निच कर्म पनि सीताबाट भएको थिएन । तथापि सीतालाई आफूबाट टाढा राख्ने निर्णयमा राम पुगे, किन ? किनभने राम–सीताको पुनर्मिलनलाई सकारात्मक रूपमा ग्रहण गर्नेहरू मात्र भएनन्, पुनर्मिलनलाई लिएर रामको खिल्ली उडाउने, उनको सम्मान र आत्मसम्मानमा चोट पु-याउनेहरू पनि रामकै राज्यमा देखिए । लोकका लागि रामले आफ्नो निजी खुसी तिलाञ्जली दिनु उपयुक्त ठाने । राजाको जिम्मेवारीबाट मुक्त हुने या सीताको साथ छोड्ने, दुई विकल्पमध्ये एउटा रोज्नुपर्ने बाध्यताका बीच रामले चौध वर्ष लामो कठिन वनवासमा साथ दिएकी निर्दोष जीवनसङ्गिनीलाई त्याग गर्ने निर्णय लिए । सार्वजनिक जीवनमा रहेका व्यक्तिले आवश्यक पर्दा कुन हदसम्मको त्याग गर्न सक्नुपर्दोरहेछ भन्ने कुराको एक निर्दयी दृष्टान्त हो यो । मानवीय कोणबाट हेर्दा रामले सीतामाथि घोर अन्याय गरेका हुन् र यसर्थमा उनलाई पापीहरूकै कित्तामा राख्नुपर्ने हुन्छ । तर, सार्वजनिक व्यक्तिले निजी तहको खुसीबाट आफूलाई मुक्तप्रायः राख्नुपर्छ भन्ने बुझियो भने रामले सीतामाथि गरेको व्यवहारलाई पनि सकारात्मक रूपमा ग्रहण गर्नुपर्ने हुन्छ । रामलाई चौध वर्ष वनवासमा सीताले साथ दिएजस्तै बाबुरामलाई हिसिलाले दशवर्षे ‘वनवास’मा साथ दिएकी हुन् । अर्थात् उनको योगदानलाई उच्च मूल्याङ्कन गर्ने हो भने एकथरी मान्छेको मुक्ति युद्धमा समर्पित व्यक्तित्वको रूपमा पनि हिसिलालाई बुझ्न सकिन्छ । बाबुराम भट्टराई सत्ता राजनीतिमा आइसकेपछि पनि बाबुरामलाई बर्बाद गर्ने सोच, नियत उनले राखेकी छिन् भन्न कुनै आधार–प्रमाण पुग्दैन । उनले कुनै अवाञ्छित कर्ममा आफूलाई सहभागी नगराएकी पनि हुन सक्छिन, तर जनता ‘त्यस्तो’ ठान्दैनन् । जनदृष्टिमा हिसिलाको छवि बाबुरामको भन्दा ठीक ‘रिभर्स’ छ । बाबुरामका कारण हिसिलाको हैसियत जति माथि पुगेको ठानिन्छ, हिसिलाका कारण बाबुरामको छवि त्यति नै खस्किएको जनताले ठानेका छन् भने त्यो पनि अस्वाभाविक होइन ।
मुक्ति युद्धमा अटल रहेबापत दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको व्यक्तित्व विश्वमै उचालियो । अपरिहार्य आन्दोलनको अगुवाइ गरेका र त्यसक्रममा सत्ताईस वर्ष लामो कैद सजाय भोगेका मण्डेला जुन प्रवृत्तिका विरुद्ध लडेका थिए तिनको समेत मन जितेपछि उनी विश्व मानव समुदायकै पे्ररणादायी व्यक्तित्व बन्न पुगे । सत्ताईस वर्षसम्म काराबासमा रहँदा मण्डेलापत्नी बिन्नीले कसरी आफ्नो समय गुजारेकी थिइन् यो विश्वसामु जाहेर छ । स्वयम् मण्डेला पनि बिन्नीको यादमा तड्पिएनन् भन्न मिलेन । मण्डेला काराबासमुक्त भइसकेपछि दुईको जीवन सुखद र पे्रममय बन्ने आशा र अनुमान गरिएको थियो । तर, बिन्नीको बद्नामीका कारण मण्डेला निजी खुसीमा रहन नसक्ने स्थिति बन्यो । सम्पूर्ण देशवासीका लागि बाँचेका उनले अन्ततः बिन्नीलाई आफूबाट अलग गर्ने निर्णय लिए । मण्डेला कारागारमुक्त भएपछि उनीसँगै बिन्नीको समेत हैसियत उचालिएको थियो । मण्डेला राज्यसत्ताको केन्द्रबिन्दुमा पुग्दा बिन्नीको हाउभाव, क्रियाकलाप र चञ्चलताले उनीप्रति मात्र वितृष्णा पैदा गरिरहेको थिएन मण्डेला स्वयम्को व्यक्तित्वलाई पनि धमिल्याउँदै थियो । मण्डेलाप्रतिको भरोसा र विश्वासमा क्षति पुग्दा त्यसले अन्ततः रंगभेदविरुद्धको अभियानलाई नै धक्का पु-याउने आशङ्का बढ्दै थियो । बिन्नीप्रतिको जनधारणा र त्यसले मुक्ति आन्दोलनलाई पु-याउने गम्भीर क्षतिको मनन गरी मण्डेलाले बिन्नीलाई आफ्नो जीवनबाट अलग गरिदिएका हुन् । बिन्नीसँगको सम्बन्धविच्छेदपश्चात् जनतामा मण्डेलाप्रतिको विश्वास, भरोसा, सम्मान र सहानुभूति अतुलनीय ढङ्गले वृद्धि हुन पुग्यो । सार्वजनिक व्यक्तित्व नभएका भए मण्डेलाले बिन्नीलाई कुनै तरिकाले ‘एडजस्ट’ गरिरहन पनि सक्दथे । राष्ट्रिय दायित्व निर्वाह गर्नका निम्ति बुढेसकालमा मण्डेलाले निजी जीवनमा निहित खुसीहरूबाट टाढिनुप-यो ।
राज्य सञ्चालन गर्नु र परिवार चलाउनु दुई नितान्त विपरीत कार्य हुन् । राज्य सञ्चालन गर्नेले अरूतिर फर्कनुपर्ने हुन्छ भने परिवार चलाउनेले केवल आफूतिर फर्किए पुग्छ । नेपाली राजनीतिमा आफूतिर फर्किएर राज्य सञ्चालन गर्ने प्रवृत्तिको बढोत्तरी भएकै कारण देशले शान्ति, स्थिरता र समृद्धिको द्वार खुला गर्न नसकेको हो । राष्ट्रका लागि काम गर्नुपर्ने मानिसको जीवनमा परिवार बाधक बन्नसक्ने देखेर नै हुनुपर्छ दार्शनिक प्लेटोले आदर्श राज्यको परिकल्पना गरेका थिए । राज्यसत्ताको केन्द्रीय भूमिकामा रहनेहरू अर्थात् राजनीतिक नेतृत्व दिने व्यक्तिहरू दार्शनिक चेतका अविवाहित हुनुपर्ने प्लेटोको धारणा थियो । उनको आदर्श राज्यको परिकल्पना कहीँ कहिल्यै व्यवहारमा अनुवाद हुन नसके तापनि विश्व राजनीतिमा देखापर्ने कतिपय पात्र र प्रवृत्तिका सन्दर्भमा प्लेटोको आदर्श राज्यको परिकल्पना स्मरणीय हुन आउँछ । खासगरी उच्च राजनीतिक नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेताको परिवारका सदस्यहरूको अवाञ्छित हस्तक्षेप राजनीति र राजकाजमा बढ्दा प्लेटोको स्मरण हुने गर्दछ । राजा वीरेन्द्रको कार्यकालमा रानी ऐश्वर्य, गिरिजाप्रसाद कोइरालाको समयमा पुत्री सुजाताको र शेरबहादुर देउवाको राजनीतिकर्ममा पत्नी आरजुको क्रियाकलापलाई नेपाली जनताले कहिल्यै सहज मान्न ुकेनन् या सकेका छैनन् । ठीक यसैगरी डा. बाबुराम भट्टराईपत्नी हिसिलाको कार्यव्यवहार पनि जनस्तरमा आलोचित बनिरहेको छ । बाबुराम भट्टराईले नयाँ राजनीतिक शक्तिको परिकल्पना गरिरहँदा त्यसले नेपाली राजनीतिमा एकप्रकारको तरङ्ग अवश्य पैदा गरेको छ, तर यही तरङ्गमा हिसिला यमीको प्रतिछाया छचल्किँदा बाबुरामको अभियानले जुन उचाइ र आयतन लिनुपर्ने हो त्यसमा कटौतीको सम्भावना प्रगाढ हुने सङ्केत देखिँदै छ । हिसिलामाथि कुनै प्रकारको अन्याय होस् र उनको राजनीतिक योगदानको अवमूल्यन होस्– यो कुनै पनि विवेकशील मानिसको चाहना हुन सक्दैन । र, बाबुराम भट्टराईले बाँकी जीवनको सम्पूर्ण समय पत्नी हिसिलाको छवि सुधारमा केन्द्रित गरे पनि त्यसमा पूर्ण सफलता हुने विश्वास गर्न सकिँदैन । बाबुरामले निसृत गर्न चाहेको प्रकाशमा हिसिला ‘ग्रहण’ बनेकी छिन् भनिरहँदा उनको भावनामा चोट पुग्ने भए पनि तथ्य यही हो जुन लेखियो, बाँकी बाबुरामजीकै विचार ।
प्रतिक्रिया