–छविलाल बगाले
निजी क्षेत्रको अवरोधका कारण तेल ढुवानीमा देखिने समस्याबाट आजित बनेको नेपाल आयल निगमले आफैं ट्यांकर खरिद गर्ने तयारीमा छ । निगमले भण्डारण क्षमता बृद्धि नगरे पनि ट्यांकर खरिद गर्ने प्रक्रिया भने अघि बढाएको हो । अघिल्लो साता ट्यांकर व्यवसायीले गरेको आन्दोलनले निगमको आँखा खुलेको हो ।
चालक हड्तालका कारण इन्धन आपूर्ति नै ठप्प भएपछि निगमको आफ्नैं ट्यांकर हुनुपर्ने निष्कर्ष रहेको निगमका प्रवक्ता विरेन्द्र गोइतको भनाई छ । उनका अनुसार गुणस्तरीय सेवा पाउन नसकेपछि निगम सञ्चालक समितिले आफै ट्यांकर राख्ने निर्णय गरेको हो । हाल निगमले व्यवसायीका १ हजार ८ सय र आफ्नै १० वटा ट्यांकर मार्फत इन्धन ढुवानी गर्दै आएको छ ।
इन्धन आपूर्तिका लागि निगमले करारमा राखेका ट्यांकर व्यवसायीहरु नै सरकारलाई असहयोग गर्न लागेपछि बाध्य भएर निगमले आफ्नै ट्यांकर खरिद प्रक्रिया अघि बढाएको प्रवक्ता गोइतको भनाई छ । ‘ट्यांकर खरिद प्रक्रिया अघि बढाउन निगमले समिति समेत गठन गरेको छ ।’ प्रवक्ता गोइत भन्छन्, ‘अव समितिको सुझावका आधारमा निगमले कम्तीमा तत्कालका लागि दुई सय ट्यांकर खरिद गर्नेेछ ।’
खरिद भएका ट्यांकर निजी क्षेत्र र सरकारी स्तरबाट सञ्चालन भइरहेका पेट्रोल पम्पलाई भाडामा दिने योजनामा निगम छ । करारमा राखिएका ट्यांकर व्यवसायीलाई रिझाउन नसक्ने सरकार आफैंले ट्यांकर खरिद गरेपछि कसरी व्यवस्थापन गर्ला ?
चालकको आन्दोलनबाट सिकेको पाठ र इन्धन आपूर्ति प्रणालीमा निजी क्षेत्रको सिन्डिकेट तोड्न निगम आफ्नै स्वामित्वका ट्यांकर राख्ने गृहकार्यमा जुटेको हो । निगम संचालक समितिले बाणिज्य विभागका महानिर्देशक योगेन्द्र गौचनको अध्यक्षतामा प्रारम्भिक अध्ययन गर्ने भन्दै तीन सदस्यीय समिति गठन गरेको छ । निगमले आफ्नै ट्यांकर राख्ने भएपछि अब निजी क्षेत्रका ट्यांकरहरूले पाउँदै आएको सेवा सुविधामा भने कटौती हुनेछ ।
विगतमा पनि निजी क्षेत्रका चालकले विभिन्न समयमा आपूर्ति प्रणालीमा सिन्डिकेट गर्दै आएका थिए । तर सरकारले निजी ट्यांकर व्यवसायी र चालकको मनोमानीलाई तोड्नका लागि पनि खरिद प्रक्रिया अघि बढाएको हो ।
प्रतिक्रिया