मञ्जुको पसिनामा पौडी खेल्ने को ?

मञ्जुको पसिनामा पौडी खेल्ने को ?


bichar-राजन घिमिरे ।
पोखरा प्राकृतिक कारणले मात्र होइन प्रतिभाशाली सर्जकहरूका कारण पनि चर्चामा छ । त्यसमाथि लोकगीत र लोकसङ्गीतका सर्जकहरूका निम्ति त यो उर्वर भूमि नै हो भन्दा फरक पर्दैन । धेरै स्रष्टामध्ये एक स्रष्टा थिइन् मञ्जु महत ।
कास्की पोखराकी यी स्रष्टा देशव्यापी मात्र नभएर नेपालबाहिर छरिएर रहेका नेपालीमाझ समेत लोकप्रिय थिइन्, कसैले जबर्जस्ती उठाएर होइन उनी आफ्ने प्रतिभा, मिहेनत र सरल स्वभावका कारण । छोटो समयमा धेरै नाम र चर्चा कमाएकी यी गायिका अब हामीबीच रहिनन् । उनको यो अभाव सबैभन्दा बढी त पोखरेलीहरूबीच खड्किरहने कुरालाई नकार्न सकिँदैन ।
कुनै समय समग्र पोखराको प्रतिनिधित्व गरेर मञ्जु प्रतियोगितामा भाग लिन काठमाडौं हानिएकी थिइन् । पहिलो प्रतियोगितामा नै सफल भएपछि एकाएक चर्चामा आएकी मञ्जुको स्वागतमा कास्कीमा गरिएको भव्य कार्यक्रममका दृश्य आज पनि कास्कीनिवासीको आँखामा झल्झली नाची नै रहेको छ । ‘सुन्दर अनुहार र सुन्दर आवाजकी हाम्री चेलीलाई कुरूप मन भएकाहरूले देख्न सकेनन्,’ पोखरेलीहरूको पीडा छ । स्टेज तताउन आवाज मात्र राम्रो भएर हुँदैन, उसको हाउभाउले पनि साथ दिनुपर्छ । त्यो विशेषता मञ्जुमा थियो, त्यसकारण पनि मञ्जु छोटो समयमा धेरै नाम र चर्चा कमाउन सफल गायिकामा पर्थिन् । यि चर्चित, लोकप्रिय र स्थापित गायिका मञ्जु महतको अपत्यारिलो निधनले शोकाकूल बनिरहेको छ समग्र लोकगायन क्षेत्र र उनका प्रशंसकहरू ।
तर, यो भीडमा अर्को एउटा पक्ष पनि छ जसलाई मञ्जुको निधनले खासै असर पारेको छैन र उनीहरू दङ्ग पनि छन् । कुरा, मञ्जुसँग आर्थिक लेनदेन गरेका केही स्रष्टाहरूको बारेमा हो । केही समयअगाडि सांस्कृतिक कार्यक्रममा सहभागी हुन लन्डन जाने क्रममा यो पङ्क्तिकारसँग मञ्जुको लामो कुराकानी भएको थियो । पारिश्रमिकको कुरा चल्दा एक शोको यति लिन्छु भनेर खुलस्त कुरा गर्ने मञ्जु त्यो कार्यक्रममा जान त पाइनन् तर उनले भेटमा आफूले राति निद्रा मारेर भए पनि दोहोरी रेस्टुरेन्टमा गीत गाएर बचाएको पैसा कसैले खाइदिएको गुनासो गर्थिन् । तर, दुर्भाग्य ती स्रष्टा को हुन् ? नाम भने भन्न चाहिनन् उनले । उनी भन्थिन्, ‘क्यासेट कम्पनी खोलौँ भनेर सहयोग मागेको थियो, मैले पनि दिएँ, तर न त अहिले सम्पर्कमा आउँँछ न त कम्पनी नै खोल्छ । म त फसेजस्तो छ ।’ समयसमयमा यस्तो गुनासो गर्ने मञ्जुले ती व्यक्तिलाई विश्वासको भरमा रकम दिएको तर प्रमाण केही पनि नराखेको कुरा पनि बताइन् । ‘मजस्ती श्रमजीवीको पैसा खानेको भलोचाहिँ हुँदैन,’ उनको चित्त दुखाइ थियो ।
एकातिर मञ्जुको निधनमा मुलुक जानकार छ तर उनको जीवनको कमाइ कसले खायो वा कति खायो ? त्यसमा भने समग्र कलाकारिता क्षेत्र अनविज्ञ छ । को हुन् ती व्यक्ति ? एउटा स्रष्टा, सर्जक अनि श्रमजीवीको पसिना खाएर बेखबर र विन्दास छ । यसको पनि लेखाजोखा हुनैपर्छ । यसरी मञ्जुको कमाइको दुरुपयोग गरेर मस्ती गरिरहेको त्यो व्यक्ति को हो ? उनी यतिबेला सार्वजनिक हुनैपर्छ । अर्काको धनमा रमाइलो गरेर गुपचुप नरहन हामी पनि ती व्यक्तिसमक्ष आग्रह गर्दछौँ । मञ्जु त गइन् अब आफू स्वतन्त्र भइयो भनेर दङ्ग पर्नुभन्दा मञ्जुबाट लिएको रकमबारे खुलस्त भनेर सार्वजनिक हुँदै महान् कार्य गर्न हामी ती व्यक्तिसँग जोडदार माग गर्दछौँ । नत्र भने ती व्यक्ति सुखी त होलान् खुसी भने कहिले छुन सक्दैनन् ।