– हरमद कोइराला
नेपाली काङ्गे्रस, नेपालको ऐतिहासिक प्रजातन्त्रवादी राजनीतिक दल, जुन बुझ्न सक्नेहरूका लागि कामधेनु गाई र नबुझ्नेहरूका निम्ति जटिल पहाड हो, जसको टाकुरोमा पुग्न जो–कसैलाई मुस्किल पर्दछ । पार्टी जीवित र क्रियाशील हुन सुस्पष्ट विचार र समर्थक एवम् कार्यकर्ताको जमात आवश्यक पर्दछ । काङ्गे्रस पहिले संवैधानिक राजतन्त्रसहितको संसदीय प्रजातन्त्रप्रति प्रतिबद्ध दल भए पनि गणतन्त्र घोषणापश्चात् राजसंस्थासँग काङ्गे्रसको नाता–सम्बन्ध टुटेको छ र संसदीय प्रजातन्त्रका पक्षमा आएको दाबीसहित अन्य केही दलहरू पनि अगाडि आएका छन् । यसरी पुरानो मान्यता परित्याग गरेको र संसदीय प्रजातन्त्रका पक्षमा अन्य दलहरू पनि क्रियाशील भएकाले दुई दशकअघि जस्तो प्रजातन्त्रका नाममा काङ्गे्रस एक्लैको ढलिमली हुने अवस्था अब रहेन । अर्कोतर्फ पार्टी जीवित र क्रियाशील रहन कार्यकर्ताको अनिवार्यता रहने भए पनि काङ्गे्रसले आफूलाई जनसमूहमा आधारित पार्टी भएको सगौरव दाबी गर्दै आएको छ । यतिखेर काङ्गे्रस विचार समूहहरूको जञ्जालमा कता–कता उल्झिएको र आफ्नो मौलिक पहिचान स्थापित गर्नुपर्ने चुनौतीको सामना गर्दै छ । जनसमूहमा आधारित भन्दाभन्दै पनि व्यवहारत: कार्यकर्तामुखी हुनुपर्ने बाध्यताबाट यो गुज्रँदै छ ।
वामपन्थीहरूको दबदबा र उनीहरूसँगको सम्झौताको कारण विश्वमा प्रचलित संसदीय प्रजातन्त्रप्रतिको प्रतिबद्धताबाट काङ्गे्रस चिप्लिँदै गएको छ, तर यो पूरै चिप्लिइसकेको भने छैन । नयाँ संविधान निर्माणका क्रममा काङ्गे्रस कति अडिन सक्छ भन्ने कुराले काङ्गे्रसको वैचारिक चरित्रको डिग्री’ निर्धारण हुने आशा गर्न सकिन्छ । वामपन्थी समूहहरूसँगको लसपस र लगातारको सम्झौताले यसको मौलिक पहिचानलाई धमिल्याउँदै लगेको भए पनि सिङ्गो काङ्गे्रस पार्टी प्रजान्त्रवादप्रतिको निष्ठा र प्रतिबद्धता विचलित हुने आशङ्का गर्नुपर्ने स्थितिचाहिँ अहिलेसम्म प्रादुर्भाव भइसकेको छैन । तथापि, तुलनात्मक रूपमा सबैभन्दा प्रजातन्त्रवादी मानिएको काङ्गे्रस व्यवहारमा पूर्ण प्रजातान्त्रिक भएको ठानियो भने त्यो भ्रम या भूल हुनसक्छ । पार्टीको विधान पूर्णप्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित हुँदाहुँदै पनि व्यवहारमा यो नेताप्रधान पार्टीका रूपमा रहेको छ । काङ्ग्रेसमा कुनै न कुनै शक्तिशाली नेताको छत्रछाया प्राप्त गर्न नसक्नेहरू सेपमा परेको बिरुवाझैँ पहेँलिएर बिनाउपलब्धि जीवन विसर्जन हुने अवस्थामा पुग्छन् । महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र केन्द्रीय सदस्य बन्ने अधिकार विधानले सुरक्षित गरेको भए पनि खास–खास नेताको आशीर्वाद प्राप्त गर्न नसक्नेहरू कहिल्यै सिँढी चढ्न सक्दैनन् । कार्यकर्ताहरूको कामको मूल्याङ्कन गर्ने, क्षमता र प्रभावको विश्लेषण गर्ने र काम तथा क्षमताका आधारमा जिम्मेवारी बढाउँदै लैजाने पद्धति होइन सामान्य सोचको विकास पनि काङ्गे्रसमा भइसकेको छैन । बरु नेताहरूको ‘सिन्डिकेट’ले काङ्गे्रसमा बलियो प्रभाव पार्ने गर्दछ । कुनै कार्यकर्ता ‘फिल्ड’ मा जतिसुकै सक्रिय, लोकप्रिय होस् या उसको क्षमता जतिसुकै उच्चकोटिको होस्, यो या ऊ नेताले पत्याएका छैनन् भने उसले माथिल्लो तहको जिम्मेवार प्राप्त गर्ने कुरा सपना मात्र हुने गर्छ । केन्द्रीय समितिका लागि हुने निर्वाचनमा त खास–खास नेताहरूले आ–आफ्ना प्यानल नै बनाएर जारी गरेका हुन्छन् । कुनै न कुनै प्यानलमा पर्न नसक्नेहरूले केन्द्रीय समितिको निर्वाचनमा विजय हासिल गर्न असम्भव हुने गर्दछ, विगतले देखाएको तथ्य यही नै हो ।
काङ्गे्रसका नेताहरू अधिक क्षमता भएका जुझारू र सक्रिय व्यक्तिहरूबाट एकप्रकारले अयभीत हुन्छन्, यो नेताहरूको व्यवहारले पुष्टि गरेको पक्ष हो । काङ्गे्रसमा जुन व्यक्तिले आफ्नो क्षमता देखाउन थाल्छ, क्षमताको प्रदर्शनसँगै उसको भविष्य पनि धरापमा पर्दछ । ‘क्षमतावान’ पुष्टि गर्नेभन्दा ‘वफादार’ बन्न सक्नेहरू ‘योग्य’ मानिन्छन् । कुनै न कुनै प्रकारले नाताभित्र परेका व्यक्ति उच्च जिम्मेवारीका निम्ति योग्य मानिने त काङ्गे्रसको पुरानै परम्परा हो । नाता गाँसिएको छैन भने वफादारिता नै काङ्गे्रसमा ‘बढुवा’को बलियो आधार बन्ने गरेको छ ।
काङ्गे्रसका नेताहरू सामान्य मानिसले झैँ आफ्नो प्रशंसाको अपेक्षा राख्छन् । ‘तपाईं एकजनाले मात्र काङ्गे्रस धानिरहेको हो, अन्य फलाना–चिलानाले त काङ्गे्रसलाई बर्बाद गरिसके’ भेट्न आउने कार्यकर्ताले यसो भन्यो भने खुब मनपर्छ काङ्गे्रसका नेतालाई । त्यसैगरी नियमित तवरमा आफूकहाँ धाइरहने र भैपरिआउने कुनै पनि प्रकारको सेवामा तत्पर रहने व्यक्ति काङ्गे्रस नेताको प्रियपात्र बन्न सक्दछन् । तर, एक नेताको निवासमा धाउने व्यक्ति अन्य नेताकहाँसमेत त्यसैगरी धाउने गरेको सुइँको पाए भने तीजत्तिका अविश्वसनीय कोही मानिने छैनन् । त्यसैले एक नेताको विश्वास आर्जन गरिरहेका व्यक्तिले झुक्किएर पनि अर्को नेताकोमा पुग्ने कष्ट गर्नुहुँदैन र कदाचित पुगियो भने त्यसलाई गोप्य राख्न सक्नुपर्छ । एक–अर्का नेतालाई थाहै नदिई सबै मुख्य नेताहरूको विश्वास आर्जन गर्न सक्ने व्यक्ति काङ्गे्रसमा सफल हुने सम्भावना रहन्छ । एउटा नेताको पक्ष लिइरहँदा सार्वजनिक रूपमै अर्को नेताका बारेमा आलोचनात्मक टिप्पणी गर्नेहरूभन्दा बन्द कोठाभित्र आलोचना गर्दै सार्वजनिक रूपमा सन्तुलित ढङ्गले प्रस्तुत हुन सक्नेहरू सफल भएको पाइएको छ । एउटा नेताको पनि विश्वास प्राप्त नभईकन केवल सन्तुलित व्यवहार प्रस्तुत गर्नेहरूलाई कसैले पनि ‘आफ्नो’ नठान्ने खतरा रहन्छ । ‘तपाईंबिना पार्टी चल्न सक्दैन, तपाईंका हरेक कदममा हामी साथ दिनेछौँ’ भन्दै कुराको थालनी गर्ने र हरेक दिन नेताको आँखाअघिल्तिर देखापरिरहने क्षमता नभएका मानिसको काङ्गे्रसमा भविष्य देखिँदैन । उपर्युक्त कला भएका मानिसको पदोन्नति काङ्गे्रसमा चाँडो हुने र देश, लोकतन्त्र, जनता र पार्टीप्रति मात्र इमानदार एवम् प्रतिबद्ध व्यक्ति जो सीधा हिँड्न चाहन्छ उसको उत्थानमा विलम्ब हुने त निश्चित छँदै छ, कुनै अवसर नै प्राप्त नगरी ओइलिएर झर्नुपर्ने सम्भावना अधिक रहन्छ । फुल्दै नफुलीकन काङ्गे्रसमा धेरै फूल ओइलिएर झरेका छन् । तल्ला तहमा मात्र नभई ‘माथि’समेत यस्तै देखिन्छ । डा. रामशरण महतको व्यक्तित्व कलाविहीन मानिन्छ, उहाँमा सीधा हिँड्ने प्रवृत्ति र चरित्र रहेको महसुस धेरैले गरेका छन् । चाँडै पदोन्नति प्राप्त गर्ने कला नजानेकै कारण डा. महत आफूभन्दा जुनियरहरूलाई नेता मानेर बस्नुपर्ने अवस्थाबाट गुज्रँदै हुनुहुन्छ । डा. महतको तहका व्यक्तिले त यसरी ‘सिकुडिनुपरेको’ छ भने अन्यको हकमा के भइरहेको होला स्वत: अनुमान गर्न सकिन्छ । देवताको बरु घर–कम्पाण्डमै मन्दिर या पूजास्थल बनाएर पूजा–अर्चना गर्दा ती प्रसन्न होलान्, कलियुगमा धेरैले घरघरमै मन्दिर बनाएर देवता प्रसन्न तुल्याउने कर्म गरिआएका पनि छन् । विश्वनाथ, पशुपतिनाथ, जगन्नाथ, काशी, गया कतै नपुग्नेहरूले पनि घरमै बसेर पूजा गरेका भरमा देवता खुसी पारिएको सन्तुष्टि लिइरहेका छन् । तर, काङ्गे्रसका नेताहरू घर (फिल्ड) मा बसेर ‘पूजाआजा’ गर्नेहरूप्रति बेखबर र बेसरोकार रहन्छन् । तिनलाई आफैँ बसेका घरमा पुगेर प्रशस्ति गाउँदा मात्र प्रसन्नता दिलाउन सकिन्छ । यसर्थमा काङ्गे्रसका नेताहरू देवताभन्दा ‘महान्’ छन् भन्नुपर्ने हुन्छ ।
पार्टी सञ्चालन गर्न धनको आवश्यकता पर्दछ र पार्टीका निम्ति आर्थिक सहयोग जुटाइदिन सक्नेहरू नेताको ‘प्रिय’ बन्न सक्छन् । यस क्रममा कतिपय नेतामा आर्थिक सहयोग जुटाउनेहरूलाई प्राथमिकतामा राख्ने प्रवृत्ति पनि देखिएको छ । नेपालको सन्दर्भमा राजनीति एउटा लाभकारी व्यापार बन्दै गरेको परिपे्रक्ष्यमा राजनीतिक आवरणभित्र बिनालगानीको व्यापार गर्नेहरू काङ्गे्रसमा समेत देखिनु अस्वाभाविक होइन । नगदको भ-याङ प्रयोग गर्न सक्नेहरूलाई पनि काङ्गे्रसमा कुनै न कुनै ढङ्गले महत्व दिइन्छ । जो कार्यकर्ता पार्टी, प्रजातन्त्र, देश र जनता मात्र भनेर दौडिरहेका छन्, जतिसुकै दौडिए पनि तिनले एकैपटक हासिल गर्ने अन्तिम गन्तव्य भनेको मसानघाट मात्र हो । सिंहदरबारलाई गन्तव्य बनाएर दौडने तर देश, जनता, पार्टी र प्रजातन्त्रप्रति मात्र चिन्तित र समर्पित रहनेहरूले बुझ्दा हुन्छ– यस्तो दौडमा ‘सिंहदरबार’ छलिन्छ र सोझै मसानघाट पुगिन्छ ।
प्रतिक्रिया