विश्वकप क्रिकेटको सुपरटेन चरणमा प्रवेशका लागि प्रतिस्पर्धा गर्न गएको नेपाली क्रिकेट टोली हप्ता दिनको बंगलादेश बसाइपछि स्वदेश फर्किंदा एउटा सुखद समाचार बनेर फर्किएको थियो । बंगलादेशमा आफूभन्दा माथिल्लो क्रमका टोलीसँग बहादुरीपूर्वक प्रतिस्पर्धा गरेर दुईमा जित र एकमा हार व्यहोरेर फर्केको नेपाली क्रिकेट टोली थुपै्र नेपालीका लागि एउटा उत्कट आशाको राजदूत बनेर फर्केको थियो । विश्वकपमा नेपाली खेलाडीले गरेको प्रदर्शनीले क्रिकेटका धुरन्धर पण्डित, विश्लेषक र समर्थक अनि शुभचिन्तक सबैको चर्चा पाएको थियो । यो घटनाक्रमलाई एउटा सामान्य खेल त हो भनेर त्यसलाई नजरअन्दाज गरिए पनि विश्वकपमा नेपाली टोलीले पाएको यो सफलताले हजारौँ नेपाली युवाको केही दिनको जीवनचर्या नै बदलिदियो । डाक्टर, इन्जिनियर, वकिल, शिक्षक, विद्यार्थी सबैको मुखमा केवल क्रिकेटको चर्चा थियो । सहरको माहोल कतिसम्म क्रिकेटमय थियो भने रेस्टुराँको टेबलमा पे्रमिको हात समाएर बसेका पे्रमिकाहरूको कण्ठबाट समेत पारस खड्का, शरद भेसवाकर र सोमपाल कामीको प्रशंसा प्रस्टुफन भइरहेको थियो । आफूलाई क्रिकेटको अनभिज्ञ बताउने वृद्धवृद्धाहरू पनि के नेपालले जित्यो ? भन्दै क्रिकेटमै चासो दिइरहेको देखियो ।
साँचो अर्थमा देशमा एउटा ठूलो पर्वको आयोजना भएको थियो र त्यस आल्हादित पर्वको आयोजक थियो टिम नेपाल अर्थात् कप्तान पारस खड्का र उनको टिमका सदस्य । किनभने, त्यो केवल खेल थिएन त्यसलाई उत्सव बनाएका र मनाएका थिए करोडौँ नेपाली मनले । मेचीदेखि महाकालीसम्म घन्किएको ‘नेपाल नेपाल’ शब्दले जगाएको राष्ट्रियताको भावना अनुपम र उत्कृष्ट थियो । यति धेरै मानिसले एकैपटक देशको नाम उच्चारण गरेको यो त पहिलोपटक नै हो । हेगलका विचारमा युद्धले मानिसमा राष्ट्रियताको भावना जगाउँछ र ऊ राष्ट्रवादी बन्दछ । आजको जमानामा खेलले पनि राष्ट्रियताको भावना जगाउँछ । बंगलादेशको रंगशालामा शिरमा ढाका टोपी र छातीमा नेपाल लेखेको र नेपालको झण्डा भएको टिसर्ट लगाएका अनि गालामा र निधारमा नेपालको रङ लगाएका युवाहरू नेपालको भविष्यका वास्तविक नायक बन्न सक्छन् ।
यो सत्य हो कि नेपालीको छातीमा देश र राष्ट्रियताको भावना धुमिल र कमजोर हुँदै गएको थियो, त्यसो हुनुको पछाडि यो देशको राजनीतिक प्रणाली सबभन्दा बढी जिम्मेवार थियो । उत्तरदायीविहीन राजनीतिक प्रणाली जसले राज्यलाई जनताका लागि शोषण गर्ने माध्यम मात्र बन्यो । जनतालाई सास्ती दिने जनताको खोस्ने र अधिकार माग्ने जनतालाई जेलनेल कोच्ने अनि गोली ठोक्ने शासन प्रणालीले आजित नेपाली जनताका त्यत्रा त्याग, बलिदान र उत्सर्गले भरिएका आन्दोलन पनि कहिल्यै निष्कर्षमा नपुगिरहेको बेला आमजनतामा घोर निराशा छाएको थियो । बलिदानी आन्दोलनको उपलब्धिहरू शून्य भएका थिए । संविधानसभा पङ्गु बनिरहेको थियो । जनताका समस्या अझ बढी र चुनौतीपूर्ण बनिरहेका थिए । वैदेशिक रोजगारीका नाउँमा सयौँ, हजारौँ युवा अरबका खाडीमा पलायन भएका थिए भने हरेक दिन भित्रिने दर्जनौँ कफिन बाकसले दुई गाँस खाने सपना बोकेर विदेशिएका जिउँदा मानिस चिसो लास बनेर फर्किंदा त्रिभुवन विमानस्थलको प्रतीक्षालय क्रन्दनपूर्ण अलाप–विलापले भरिएको थियो । न्याय क्षेत्रमा देखिएको मनोमानी र स्वास्थ्य क्षेत्रमा बढेको माफियाकरण उफ् हरेक क्षेत्रमा निराशा छाएको थियो । मानौं नेपाली हुनु अभिशप्त जीवन बाँच्नका लागि हो । मुलुकको यो दुर्भाग्यपूर्ण यात्राका घाइते सहयात्री नेपालीमन रमाउने कुनै आधार भेट्टाउँदैनथे । सार्कस्तरमा एक दशक अगाडि हामीले वर्चस्व कायम राखेको तेवान्दो खेलमा आज हामी कहाँ छौँ । एसियाको कुरै छाडौँ दक्षिण एसियामा हाम्रो फुटबलको स्तर कहाँ छ, भलिबलको हैसियत कस्तो छ । दुनियाँलाई थाहा छ हामी केवल हार्नका लागि जन्मेका हौँ । हामी जित्न सक्दैनौँ । जितमा हाम्रो अधिकार छैन । हामी त हारका अभिशप्त पारखी पो । त्यसैले हार अनि अविराम हारको यो कथा लेख्दा पत्रकार अनि स्तम्भकारहरू पनि हारेका र थाकेका थिए । तर, हारका अविराम कथालाई तोड्दै टिम नेपालले यसपटक बंगलादेशमा गरेको प्रदर्शनले सारा नेपालीलाई अतुलनीय गुन लगायो । नेपालीको छाती गर्वले रारा तालजस्तै फराकिलो भयो अनि शिर सगरमाथाजस्तै उच्च र उदात्त ।
टिम नेपालको यो यात्रा र यो सफलताको श्रेय व्यक्तिगत रूपमा खेलाडीलाई जान्छ । उनीहरूको व्यक्तिगत प्रयास र लगानीबाट यो सम्भव भएको हो । खेलाडीहरूमा राज्यको लगानी शून्यप्राय: छ । भौतिक संरचनाले क्रिकेटजस्तो संवेदनशील खेलमा हामी अझ धेरै पछाडि छौँ । हामीसँग अन्तर्राष्ट्रिय स्तरको एउटा रंगशालासम्म छैन । खेलाडीहरू स्तरीय प्रशिक्षणको अवसरबाट वञ्चित छन् । सबैभन्दा दुर्भाग्यपूर्ण कुरा त खेलाडी उत्पादन गर्ने नीति नै छैन राज्यसँग । खेलाडीहरू खेलमा भविष्य सुरक्षित नदेखेर रोजगारीका लागि अन्य क्षेत्रमा पलायन भइरहेका छन् अनि यस्तो प्रतिकूल अवस्थामा टिम नेपालले गरेको प्रदर्शनलाई कसरी लिनुपर्ला ?
नेपालमा क्रिकेट खेलको व्यवस्थापनका लागि क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) नामक संस्था पनि छ । तर, यो संस्था राजनीतिक कार्यकर्ताको भर्तीकेन्द्रबाहेक अरू केही बन्न सकिरहेको छैन । सत्ताको आडमा भत्ता पचाउन र विदेश घुम्न पाइने अवसरका रूपमा पार्टीको पुच्छर समातेर क्यानका सदस्य बनेका व्यक्तिबाट खेलकुदप्रतिको झुकाव, क्षमता र योग्यताको अपेक्षा गर्नु बालुवाबाट तेल निकाल्नुजत्तिकै छ । तर पनि विगतदेखि नै नेपाली क्रिकेट सङ्घमा सत्तासीनहरूले आफ्नो स्वार्थ सिद्ध गर्ने कुत्सित खेल भने चलिरहेकै छ । क्रिकेट सङ्घ पनि सत्तासीनहरूको कार्यकर्ता भर्तीकेन्द्र मात्र त बनेको छ । सत्तासीन पार्टीका कार्यकर्तालाई भर्ती गरेर व्ययभार बढाइरहेको क्यानको प्रशासन कति लापरबाही, बेकम्मा र गैरजिम्मेवार छ भने नियमित प्रतिवेदन पेस गर्न नसकेकाले यसले लाखौँ रुपैयाँको जरिवाना तिरेको छ । मैदानमा पसिना बगाएर देशको प्रतिष्ठा र पहिचान बढाउने खेलाडीको भविष्य अन्योलपूर्ण र अभावमय छ । त्यहीँ क्यानका पदाधिकारीहरू विदेश शयरमा व्यस्त र मस्त छन् । नेपाली क्रिकेटको विगतलाई हेर्ने हो भने यो खेल केही हुने–खाने परिवारका युवाहरूको सोखमा सीमित थियो । तर, अब यसले नेपाली पहिचानको नयाँ आयाम थपेको छ त्यसैले त नेपाली टिमका क्याप्टेन पारस खड्काले विश्वकपका लागि छनोट भएर फर्केको खुसियालीमा आयोजना गरिएको अभिनन्दन कार्यक्रममा आफूलाई रोक्न सकेनन् । यी तिनै पारस खड्का हुन् जो नेपाली खेलकुदको हविगतलाई सम्झेर रोए । नेपाली क्रिकेटको भविष्यलाई आँकलन गरेर भक्कानिए । पारस खड्काको यो आँसुसँगै नेपाली मात्रको सपना पखालिएर जानुहुँदैन । पारस खड्काको खुम्चिएको मनजस्तै नेपाली खेलकुदको भविष्य खुम्चनुहुँदैन । आज समय बदलिएको छ । नेपाली माटोले अझ थुपै्र पारस खड्काहरू जन्माउनु छ । नेपाली टिमले विश्वकप खेल्नुपर्छ, नेपाली झण्डा विश्व मानसले चिन्नुपर्छ । अधुरो सपनाको देश नेपालको सपना पूरा हुनैपर्छ ।
प्रतिक्रिया