–छविलाल बगाले
सरकार सन् २०२० मा पर्यटन बर्ष मनाउने गृहकार्यमा छ । २० लाख बढि पर्यटक भित्र्याउने योजना बनाइरहँदा पूर्बाधारको विकास र विस्तार भने उत्साहजनक छैन । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुलुक पूर्बाधारमा कमजोर रहँदा अपेक्षाअनुसारको पर्यटक भित्र्याउन भने कठिन हुन सक्छ । तर, पछिल्लो आवागमन भने सकारात्मक छ ।
सरकार पर्यटन बर्ष मनाउने तयारीमा जुटिरहँदा नेपाल भित्रिने पर्यटकको संख्यामा उत्साहजनक बृद्धि भएको छ । सन् २०१८ को आठ महिनामा हवाई र स्थलमार्ग हुँदै विभिन्न मुलुकबाट ६ लाख ८० हजार ९ सय ७८ पर्यटक नेपाल भित्रिएका छन् ।
सन् २०१७ को सेप्टेम्बर महिनाको तुलनामा सन् २०१८ को सोही अवधिमा नेपाल आउने विदेशी पर्यटकको संख्या १९ प्रतिशतले वृद्धि भएको हो । जनवरीदेखि सेप्टेम्बरसम्म ८ लाख बढि पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटनको तथ्यांक छ ।
अहिलेसम्म कति पर्यटक आए ?
जनवरी – ७३ हजार १ सय ८७
फेब्रुअरी– ८९ हजार ५ सय ७
मार्च– १ लाख २४ हजार ६ सय ८६
अप्रिल– ९८ हजार ६ सय ५०
मे– ६८ हजार ८ सय २५
जुन– ६५ हजार १ सय ५९
जुलाई–७३ हजार २ सय ८५
अगष्ट– ८७ हजार ६ सय ७९
भू–कप्पका कारण थलिएको पर्यटन क्षेत्र बिस्तारै तंग्रिन थालेसँगै पर्यटकको संख्या बढेको हो । लामो समयदेखिको पर्यटक बढाउने विभिन्न प्रवर्धनात्मक अभियानका कारण २०७४ (सन् २०१७) मा १० लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । हालसम्मकै उच्च संख्यामा पर्यटक भित्र्याएको वर्षका रुपमा २०७४ दर्ज भएको छ । नेपालले सन् २०११ को पर्यटन वर्षमै १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेपनि ७ वर्षपछि बल्ल लक्ष्य हासिल हुने देखिएको हो ।
सरकारले सन् १९९८ लाई ‘भिजिट नेपाल’ का रुपमा आयोजना गरेर ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तर, सरकारले २२ बर्षपछि २० लाख पर्यटकको अपेक्षा गर्नु पर्यटन पूर्बाधार कमजोर भएको सावित भएको छ । सीमित पूर्वाधार र विभिन्न अस्थिरताबीच पनि उल्लेख्य संख्यामा पर्यटक बढ्नुले पर्यटन क्षेत्रमा ठूलो उत्साह जगाएको पर्यटन बोर्डको दावी छ ।
प्रतिक्रिया