नेप्सेमा सामान्य सुधार

नेप्सेमा सामान्य सुधार


धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक दुई दशमलव ६९ बिन्दुले बढेर एक हजार २४१ दशमलव ३६ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६५ बिन्दुले बढेर २६३ दशमलव ४५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकममा भने गिरावट आएको छ । कुल १७१ कम्पनीको १५ लाख ९३ हजार ७०० कित्ता सेयर रु. ४५ करोड १९ लाख ९३ हजार ४८५ मूल्यमा खरिद–बिक्री भएको स्टकले जनाएको छ ।

कुल एघार उपसमूहमध्ये आज ६ उपसमूहको सेयरमा वृद्धि भएको छ भने पाँच उपसमूहको सेयर ओरालो लागेको छ । बैंकिङ एक दशमलव ६३, व्यापार एक दशमलव ६९, निर्जीवन बिमा १२ दशमलव १५, अन्य ७ दशमलव ७७, माइक्रोफाइनान्स तीन दशमलव शून्य आठ र जीवन बिमा १४ दशमलव ६२ बिन्दुले बढेको छ ।

यस्तै होटेल शून्य दशमलव २९, विकास बैंक शून्य दशमलव ४४, जलविद्युत दुई दशमलव ९१, फाइनान्स एक दशमलव शून्य एक र उत्पादन पाँच दशमलव ६८ बिन्दुले घटेको छ । नाडेप लघुवित्त वित्तीय संस्था, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले क्रमशः नौ प्रतिशत र पाँच प्रतिशतका दरले कमाएका छन् भने भार्गव विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः नौ र चार प्रतिशतका दरले गुमाएका छन् ।

यस्तै आज स्टकमा आरएसडीसी लघुवित्त वित्तीय संस्थाको २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । जानकी फाइनान्स लिमिटेडको सेयर मूल्यमा समायोजन गरिएको छ । सो कम्पनीको २२ प्रतिशत बोनस सेयर समायोजन गरेपछि आधारभूत मूल्य रु. २०७ तोकिएको छ ।