मन्द विषको असर

मन्द विषको असर


nisedhहालै सम्पन्न उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा देखिएको एउटा तथ्यले सम्बन्धित क्षेत्रमा मात्र नभएर थाहा पाउनेहरूबीच सबैमा आश्चर्यजनक प्रश्न खडा गरिदिएको छ कि हामी कता जाँदै छौँ ? मुलुक कता जाँदै छ ? हाम्रा सोचहरू के हुँदै छन् ? र कसरी यस्तो भयो या किन यस्तो हुँदै छ ? उद्योग-व्यवसायमा संलग्न व्यक्तिहरू भनेका यो मुलुकका सचेत मात्र होइन प्रभाव पार्न सक्ने स्थानमा रहेका व्यक्तिहरू पनि भएका कारणले यसप्रकारको प्रश्नले ठाउँ लिएको हो । निर्वाचनपछि मतगणनाका क्रममा १५ जना मतदाताले दुवै प्यानलका नेवार-नेवार मात्र छानेर भोट हालेको पाइएको थियो । यसपटकको निर्वाचनमा प्रदीपजंग पाण्डे र भाष्करराज राजकर्णिकार दुई फरक प्यानलका अध्यक्षका आ-आफ्नै उम्मेदवारहरू अन्य विभिन्न पदमा प्रतिस्पर्धामा उत्रिएका थिए । यसप्रकारका उम्मेदवारीहरूमा प्रायः आ-आफ्नै प्यानललाई एकमुष्ट रूपमा भोट हाल्ने चलन छ । कसै-कसैले भने व्यक्तिगत सम्बन्धका आधारमा अन्य प्यानलसमर्थकका पनि मत प्राप्त गर्छन्, तर आमरूपमा प्यानललाई नै जिताउन अनेक कसरत हुने गर्छन् । यद्यपि परिणाम भने मिश्रित रूपमै आउने गरेको छ । उद्योग वाणिज्य मात्र नभएर अन्य व्यावसायिक सङ्गठनहरूमा पनि यसप्रकारको अभ्यास हुने गरेको छ । नेपाल पत्रकार महासङ्घदेखि नेपाल बार एसोसिएसनसम्ममा प्यानलका उम्मेदवारी र चलखेलले राम्रै काम गर्ने गरेका छन् । यसप्रकारका सङ्गठनमा धेरैजसो देखिनेचाहिँ राजनीतिक भागबन्डा र झुकाव नै हो, तर यसपटक उद्योग वाणिज्य महासङ्घमा स्पष्ट रूपमा देखिएको यो जातीय झुकावले माथिका प्रश्नहरू गर्न या त्यसप्रकारका प्रश्नमा सोच्न बाध्य बनाएको छ । दुई फरक-फरक प्यानलबाट विभिन्न पदमा उठेका नेवार-नेवारलाई छानेर मत दिनुको अर्थ जोसुकैले जितोस् या जोसुकै आओस्, तर नेवार समुदायबाटै आओस् भन्ने हो । यसप्रकारको साम्प्रदायिक भावना यसअघिका निर्वाचनमा यसरी प्रस्ट रूपमा नदेखिएको सम्बद्ध अधिकारीहरूको अनुभव छ । कतिपय अवस्थामा जातीय भावना नहुने होइन, तर यसप्रकारले छानी-छानीचाहिँ कमै हुने गरेको अनुभवीहरू बताउँछन् । यसप्रकारको भावनामा वृद्धि हुनुले मुलुकका प्रति संवेदनशील जो-कोहीलाई दुःखी बनाएको छ ।
केही दिनयता हरिवंश आचार्यको ‘नेताज्यू अई एम सरी, कुन देशको जालमा परी रोप्यौ बिउ जाति-पाती’ भन्ने गीत निकै चर्चित छ । सबै जातजातिको साझा फूलबारीको रूपमा रहेको नेपाललाई यसबीचमा जातीय र क्षेत्रीय साम्प्रदायिकताबाट छिन्नभिन्न पार्ने कोसिसहरू निकै भए, तर ती सफल भने हुन सकेका छैनन् । वास्तविकता त के हो भने क्षणिक लोकप्रियता र निहित स्वार्थ पूर्तिका लागि साम्प्रदायिक भावना फैलाउन चाहने र खोज्नेहरू अन्ततः बहिष्कारमा पर्ने गरेका छन । पटकपटक टुक्र्याउन खोज्दा पनि एकताको भावना अहिलेसम्म जीवित रहनु नेपाली मानसिकताको सबैभन्दा सुन्दर पक्ष हो । हामीकहाँ जस्तै भएका स-साना प्रयासले ठूलो रूप लिँदै जाँदा कतिपय मुलुकले कहालीलाग्दा घटनाको सामना गर्नुपरेको थियो÷छ । जातीय विषवृक्ष फैलिएका कतिपय अफ्रिकी मुलुकहरूमा हामीकहाँ भएका कतिपय घटनाझैं बिस्तारै-बिस्तारै साम्प्रदायिक भावना बढ्दै गएको थियो । फरक यति हो कि त्यहाँ यसप्रकारका घटनामा संलग्न हुनेलाई सम्मान गर्दै गइयो, हामीकहाँ घृणा गर्दै अगाडि बढियो । हिजो जनमानसमा राम्रो छाप र प्रभाव पार्न सकेकाहरू पनि साम्प्रदायिक भावना राखेका या फैलाउने कोसिस गरेका कारण आज सर्वसाधारणको बेमतलब (बाल मतलब ?) को सूचीमा परेका छन् । यसको एउटा उदाहरण कुनै बेलाका चर्चित विश्लेषक÷लेखक सीके लाललाई लिन सकिन्छ । नेपाली मिडियामा कुनै बेला उहाँको हाई-हाई थियो, मीठो बोल्ने र सही विश्लेषण गर्ने बौद्धिक व्यक्तित्वका रूपमा उहाँलाई लिइन्थ्यो । उहाँबिनाका प्यानल छलफलहरू कमै हुन्थे, तर समयक्रममा अहिले मानिस सकेसम्म उहाँलाई सुन्न र पढ्न चाहँदैनन् । कतिपय कार्यक्रमहरूमा प्यानलिस्टका रूपमा उहाँको नाम देखेरै सहभागी नहुनेहरूको सङ्ख्या बढ्दै गएको छ । आयोजकहरूले पनि पहिलाझैँ महत्व दिन छोडेका छन् । राजसंस्थालाई आवश्यकभन्दा बढी गाली गरुन्जेल चुपचाप बस्नेहरू मुलुककै अस्तित्वमा धावा बोल्न थालेपछि भने जागरुक हुन थालेका छन् । पछिल्लो चरणमा नेपाली भाषामै लेख लेखेर नेपाली भाषालाई गाली गरेपछि सीके लालको उचाइ थप घटेको छ । जसले आफ्नो देश र राष्ट्रियताका प्रतीक भाषा, संस्कृति, झन्डाजस्ता कुराहरूप्रति घृणा फैलाउने काम गर्छ उसले आफू ओझेलमा पर्न थप ठूलो कसरत गरिरहनुपर्दैन । गोरेबहादुर खपाङ्गी, मल्ल के. सुन्दरलगायतका व्यक्तित्व यसका उदाहरण हुन् । मधेसलाई नेपालबाट अलग गर्ने विष वृक्षारोपण गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने महन्त ठाकुरलाई जनताले नेपाली राजनीतिको दृश्यबाटै ओझेलमा पारिदिए । यसप्रकारका उदाहरण नेपालको राजनीतिमा बढ्दै गएको छ । जातीय राज्यको कुरा नगरेका भए माओवादीको यति ठूलो पराजय शायद हुने थिएन ।
विविधताबीच एकता नेपालको पहिचान हो । विगतमा र अहिले पनि श्रोताको बाँडफाँड र अन्य कुरामा विभेदहरू भएका छन् । लैङ्गिक, जातीय र क्षेत्रीय विभेदबारे आवाज उठाउँदै उक्त खाडल पुर्न अघि बढ्नेहरू सधैँ अगाडि छन् र सो खाडल बढाउन मद्दत पुग्ने काम गर्नेहरू आफैँ खाडलमा पर्ने गरेका छन् । कतिपयलाई त्यसप्रकारको खाडल पुर्नुभन्दा गहिरो बनाउनुमा फाइदा छ र आफ्नो फाइदाका लागि ती जे पनि बोल्छन् र जे पनि गर्न तयार हुन्छन् । तर, अन्ततः सम्मान भने राष्ट्रियता र एकताका पक्षधरहरूकै हुने गरेको छ । अहिलेका चर्चित मन्त्री लालबाबु पण्डितले सामान्य प्रशासनमा मधेसी समुदायलाई मात्र खोजी-खोजी राम्रो गर्न थालेका भए यो इज्जत पाउँदैनथे, उनले राष्ट्रका बारेमा सोचेका कारण सम्मान पाएका हुन् । प्रोफेसर लालबाबु साहदेखि मन्त्री लालबाबु पण्डितसम्मले पाएको सम्मान राष्ट्रिय भावनाकै कारणले हो । हामी नेपालीका फरक-फरक संस्कृति छन्, धर्म र परम्पराहरू छन्, जब मुलुकको कुरा आउँछ सबै एक भएको देख्न चाहनेहरूकै सङ्ख्या कता हो कता धेरै छ न कि एक-अर्कामा फुट भएको । मन्द विष जताततै फैलिएको छ । उद्योग वाणिज्य सङ्घको घटना मुलुकमा फैलिँदै गएको मन्दविषकै असर हो । यसलाई निमिट्यान्न पार्न नसके पनि जरा गाड्न नदिनु सबैको कर्तव्य हो ।