साताको अन्तिम कारोबारको दिन आज पनि धितोपत्र बजारमा सेयरको मूल्य घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.२३ बिन्दुले घटेर एक हजार २२७.३७ बिन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.८२ बिन्दुले घटेर २६०.२४ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक सँगसँगै कारोबार रकमसमेत घटेको छ । कुल १६५ कम्पनीको १५ लाख ८२ हजार ५५८ कित्ता सेयर रु. ४२ करोड ८६ लाख ४४ हजार ६०६ मूल्यमा खरिद–बिक्री भएको छ ।
कारोबार भएका ११ उपसमूहमध्ये तीन उपसमूहको सेयरको मूल्य बढेको छ भने आठ उपसमूहको सेयरको मूल्य भने घटेको छ । व्यापार १.६९, वित्त १.३६ र जीवन बिमा ०.५५ बिन्दुले बढ्दा बैंकिङ २.८६, होटल २६.६९, विकास बैंक ४.०८, जलविद्युत् १.०९, निर्जीवन बिमा १४.३, उत्पादन ६.२५, अन्य ०.७८ र माइक्रो फाइनान्स ११.२ बिन्दुले घटेको छ ।
स्टकका अनुसार नाडेप लघुवित्त वित्तीय संस्था र प्रोग्रेसिभ फाइनान्स लिमिटेड, समता माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज कमाएका छन् । मल्टिपर्पोज फाइनान्स कम्पनी, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र मेरो माइक्रो फाइनान्स कम्पनीका लगानीकर्ताले आज गुमाएका छन् ।
प्रतिक्रिया