राष्ट्रिय राजनीतिमा नयाँ शक्तिको सान्दर्भिकता

राष्ट्रिय राजनीतिमा नयाँ शक्तिको सान्दर्भिकता


bichar– इन्द्रबहादुर बराल
संविधानसभाको दोस्रो निर्वाचनपश्चात् मलुकले सही दिशा पहिल्याउने आशा एवम् भरोसा गरिँदै गरेको अवस्था छ । तर, देशमा नयाँ खालको बहस सघन रूपमा नभए पनि सूक्ष्मतर तरिकाले नयाँ राजनीति शक्तिको आवाज परिचित एवम् स्थापित नेताबाट सार्वजानिक हुँदा त्यसले तरङ्ग नल्याउने कुरै भएन । चाहे त्यो पार्टीभित्रको आन्तरिक असन्तोषको प्रतीकात्मक अभिव्यक्ति होस् वा मुलुकको वास्तविक यथार्थताको साङ्केतिक उद्गार नै किन नहोस् । त्यस्ता विचार वा सार्वजानिक गरिएका लेख र रचनामा अवश्य पनि दम छैन भन्न मिल्दैन । मौजुदा राजनीतिक दलका शीर्ष नेताहरू अधिकांश परीक्षणमा खरो उत्रन सकेको पाइएन । त्यसैले लगभग २००७ सालदेखि अहिलेसम्म मुलुकले राजनीति स्थायित्व प्राप्त गर्न नसक्नु निश्चय पनि सुखद मान्न सकिँदैन । सम्भवत: डाक्टर बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणको कुरा गर्नु विगत र वर्तमानको राजनीतिको सही र सत्य विश्लेषणात्मकताको उपज हुनुपर्छ । यदि आफ्नो पार्टीभित्रको असन्तुष्टि र फरक मतका कारण मात्र त्यस्तो बोलिएको भने त्यसको कुनै औचित्य राख्दैन तर समग्र राज्यको पुनर्र्मूल्याङ्कन र समीक्षाबाट गरिएको वैचारिक प्रक्षेपण हो भने अत्यन्त समसामयिक र सान्दर्भिकता छ भन्न हिचकिचाउनुपर्दैन । तर, त्यस्तो नयाँ शक्ति निर्माणको आधार भने लोकतान्त्रिक मूल्य र मान्यताको जगमा नेपाली समाजमा आर्थिक मूल्य र मान्यतादेखि बाहिर रहेर सम्भव गराउने प्रयास फलदायी हुन सक्तैन । त्यसकारण लोकतन्त्रका आधारभूत मूल्य र मान्यताको जगमा नेपाली समाजमा आर्थिक सामाजिक रूपान्तरण आवश्यक छ । अब पनि राजनीतिक क्रान्तिका कुरा गर्नु देश र जनताप्रति घोर अन्याय र बेइमानी हुनेछ । कुनै राजनीतिक दल वा तीनका नेतृत्व वर्गले आफ्ना गल्ती र कमजोरी लुकाउन छलकपटको बाटो रोज्नु व्यर्थ सावित हुनेछ । यसर्थ भूलेर पनि देश र जनताको भावनाविपरीत नलाग्नु नै समयसापेक्ष र सान्दर्भिक देखिन्छ ।
यद्यपि अहिले यहाँ जुन शीर्षक रोजिएको छ आफैँमा सान्दर्भिक छ–छैन त्यो एउटा बहसको विषय बनाउनु पनि पर्दथ्यो र भइराखेको पनि छ । यस विषयलाई बृहत् बहसको विषय बनाउनु राष्ट्रका लागि उपयोगी किन हुन पनि सक्छ भने यसले मौजुदा जिम्मेवार राजनीतिका नेतृत्व वर्गलाई आफ्नो कमजोरी सच्याउनेतर्फ खबरदारी गरिराखेको हुन्छ । यसर्थ नयाँ शक्तिको आवश्यकता र सान्दर्भिकता अझ टड्कारो महसुस गरिँदै छ । तर, नयाँ शक्तिको निर्माण कुन प्रकार र प्रकृतिको भन्ने विषयमा थप बहस र छलफल भने जरुरी छ । नयाँ शक्ति निर्माण आफैँमा त्यति सहज र सरल विषय भने अवश्य होइन । त्यस्तो शक्ति निर्माणका लागि राजनीतिक, सैद्धान्तिक एवम् वैचारिक आधारको खाँचो पर्दछ । सामाजिक आन्दोलनलाई अझ बढी सशक्त र मजबुत बनाउँदै तिखार्दै लाने र राजनीतिक शक्तिहरूलाई जवाफदेही बनाउने वा नयाँ राजनीतिक शक्तिको निर्माणमा लाग्ने भन्ने विषयमा पनि विचार–विमर्श अपर्याप्त नै छ । तथापि जुनसुकै सन्दर्भ र प्रसङ्गमा किन नहोस् उठान गरिएको नयाँ शक्ति निर्माण आफैँमा अत्यन्तै सकारात्मक छ । तर, कुन प्रकार र प्रकृतिको नयाँ शक्ति निर्माण गर्ने भन्ने सन्दर्भ पनि महत्र्वपूर्ण पक्ष हो । यद्यपि मुलुक अहिले त्यति धेरै निराशाजनक दिशामा उन्मुख नभए पनि उत्साही हुने ठाउँ छैन । यसर्थ तत्कालका लागि खबरदारी गर्न सशक्त सामाजिक सङ्गठनहरूको आवश्यकता भने देखिँदै छ । गौँडा कुरेर बस्ने धेरै षड्यन्त्रकारीको कमी छैन । अवसर मिल्नासाथ आफ्ना सक्कली अनुहार उदाङ्गो पार्न लाज मान्दैनन् । त्यसैले पनि डा. बाबुराम भट्टराईले भनेजस्तै राजनीतिक प्रकृतिको नभई सामाजिक प्रकार र प्रकृतिको नयाँ शक्ति मुलुकले खोजेको प्रतीत हुन्छ । यसको मतलब राजनीतिक प्रकृति वा राजनीतिक नयाँ शक्तिको निर्माण आवश्यक छैन भन्ने स्थिति पनि देखिँदैन । मात्र के भन्न खोजिएको हो भने नयाँ राजनीतिक शक्ति निर्माणको सान्दर्भिकता छ तर अहिल्यै नै अलि हतार हुन्छ कि ? यदि नयाँ राजनीतिक शक्ति निर्माण अवश्यभावी छ भने त्यसको निर्माण कुनै एक पार्टीको मूलधारबाट उछिट्टिएकाहरूको पहलमा मात्र बन्नुमा कुनै तुक र तर्क रहँदैन । तर, अहिलेका ठूला भनिएका सबै दलभित्र पनि धेरै यस्ता युवा छन् जसबाट मुलुकले आशा एवम् भरोसा राखेका छन् । तिनीहरूको पहिचान गरी राष्ट्रले अब सामाजिक–आर्थिक रूपान्तरणको बाटोमा अग्रसर गराउन सके निश्चित पनि डा. बाबुराम भट्टराईले भनेजस्तो नयाँ शक्तिले राष्ट्रको आवश्यकता पूरा गर्न सक्छ । एमाओवादीका डा. बाबुराम भट्टराई, काङ्ग्रेसका गगन थापा, एमालेका गोकर्ण विष्ट आदि र अन्य नाम उल्लेख नभएका धेरै क्रिम योङ लिडरले सम्मिलित सशक्त लोकतान्त्रिक मूल्य–मान्यतासहितको समाजवादी पार्टीको घोषणा हुने हो भने त्यसले एउटा उचाइको साङ्गठनिक आकार ग्रहण गर्नबाट कसैले रोक्न सक्तैन । तर, त्यस्तो कल्पना गरिएको राजनीतिक सङ्गठनको आर्थिक–सामाजिक रूपान्तरणको प्रस्ट मार्गचित्र व्यावहारिक धरातलमा उतार्न सक्ने खालको हुनुपर्दछ ।
यस लेखबाट कुनज्ञै नेता वा दलमा विखण्डन ल्याउने प्रयत्न गरिएको नभई चर्चामा आएको नयाँ राजनीतिक शक्ति निर्माणको सन्दर्भलाई सूक्ष्म विश्लेषण गर्ने जमर्को मात्र गरिएको हो । यसबाट शिक्षा लिने किसिमका गम्भीर विषय पनि उठान गरिएको छ । ता कि भोलि त्यस्ता दिनहरू देख्न नपरोस् । हालै सम्पन्न संविधानसभाको निर्वाचनमा अनपेक्षित नयाँ राजनीतिक दल साउनको भेलजस्तै देखापरे तर राजनीतिका मूल धारलाई किनारा लगाउन सक्ने तागत तिनीहरूले राखेनन् बरु आफैँ छेउ लागे । यसर्थ अहिलेलाई यति मात्रै भनौँ कि यथासम्भव नयाँ शक्ति निर्माणको बाटो बन्द गर्न सत्ताधारी दल र प्रमुख प्रतिपक्ष दल पूर्ण जवाफदेहिताका साथ कर्तव्यपथमा लागून् । पहिलो संविधानसभाको विघटन अगाडि नेपालमा धेरै जातीय समूह आ–आफ्ना अधिकार र अस्तित्वका लागि सडक–सङ्घर्षमा थिए, तर संविधानसभाको (पहिलो) विघटनसँगै असिनाजस्तै बिलाएका सामाजिक सङ्गठनहरूका आडमा दल दर्ता गर्नेहरूको हविगत पनि नदेखिएको होइन । त्यस्ता दलहरूको उपस्थितिलाई दोस्रो संविधानसभाको निर्वाचनबाट ठाडै अस्वीकृत गरिएको ताजा स्मृति सबैमा भएकै होला । त्यसकारण कसैले चाहँदैमा, रहर गर्दैमा विश्वासिलो र भरपर्दो नयाँ शक्ति निर्माण भइहाल्छ भन्ने होइन । तथापि, माथि उल्लिखित युवा नेताहरूले सहास र आँट गरे भने भन्न सकिँदैन पुराना र मूलधारका राजनीतिक दलहरू किनारा नपर्लान् भनेर । त्यसैले पनि प्रमुख दलहरूले आ–आफ्ना दलभित्रका असन्तुष्टि र असहमतिलाई सामान्य पद र प्रतिष्ठासँग मात्र मोडेर नहेर्न उपयुक्त हुन्छ । किनकि, अहिलेसम्मको स्थितिले नयाँ शक्तिको सान्दर्भिकतालाई अस्वीकार गर्ने ठाउँ देखिँदैन ।