गोरो रङ र खैरो कपाल भएका ब्रिटिसहरू जब गाउँमा आएर छानी–छानी राई परिवारका सन्तानहरूको मात्रै छाती र उचाइ नाप्न थाल्थे, मनमा एकप्रकारको प्रश्नले ठाउँ लिन्थ्यो– यिनीहरूले क्षेत्रीका छोराहरूलाई किन नलगेका होलान् ? गाउँमा राई र क्षेत्रीहरूको मात्रै बसोबास भएकाले बाहुनलगायत अन्य जातिहरूको बारेमा सोचिदैनथ्यो । अलि बुझ्ने भएपछि सोही विषयलाई लिएर मनमा अर्को प्रश्नले ठाउँ लिन थाल्यो– यिनीहरूले महिलालाई चाहिँ लाहुरे किन बनाउँदैनन् ? राईकै पनि छोरीहरू किन ब्रिटिसको रोजाइमा पर्दैनन् ? पछिसम्म एकप्रकारको असम्भव सपनाले मनमा ठाउँ लिइरहेको थियो– हामी पनि गाउँका दाजुभाइ या साथीहरूजस्तै लाहुरे हुन पाए ? ब्रिटिसले जनजातिबाहेक नेपालका अन्य जाति र महिलाहरूमाथि गरेको विभेदबारेमा एकप्रकारको असन्तुष्टि मनमा भए पनि आत्मविश्वासको कमीका कारण त्यतिबेला त्यो कहिल्यै प्रस्फुटन भने हुन सकेन । खोटाङको माझ किरातमा जन्मिएर त्यही हुर्किंदा ब्रिटिसले नेपाली नेपालीबीच विभेद गरेर छुट्याए पनि गाउँमा एक–अर्काप्रतिको आत्मीयता भने कहिल्यै एक–अर्काबाट टाढा भएन । ब्रिटिसले मात्र होइन छिमेकी मुलुक भारतले पनि सोही प्रकारको विभेद गर्ने गरेको थियो । ब्रिटिस आर्मीमा जान नपाएका गाउँका दाजुभाइहरू इन्डियन आर्मीमा जान्थे । गाउँमा एउटा स्लोगन नै व्याप्त थियो– हङकङ (त्यतिबेला हङकङ ब्रिटिसको अधीनमा थियो) बाट आयो लाहुरे सेन्ट–सेन्ट बसाउँदै (बासना आउँदै), भारतबाट आयो लाहुरै प्याज–प्याज गनाउँदै…। हिजोआज समावेशी प्रतिनिधित्वका लागि दबाब दिने यी मुलुकहरूले मधेसी समुदायका मानिसलाई पनि कहिल्यै आफ्ना सेनामा सहभागी बनाएनन् । लाहुरेको सन्दर्भमा क्षेत्री, बाहुन या दलित मात्र नभएर मधेसीमाथि पनि ठूलो विभेद गरिएको थियो । हामी नेपाली आफैँले गरेको विभेद त कायम थियो नै बाहिरकाहरूले समेत त्यसप्रकारको व्यवहार गर्दा सचेत व्यक्तिहरूलाई कति दु:ख लाग्यो होला अनुमान गर्न सकिन्छ । विभेदको बारेमा गहिरिएर नसोच्नेहरूले भने त्यस्ता कुरालाई यो एकप्रकारको चलन नै हो भनेर लिने गर्थे । झन् बुझ्यो झन् कठिन भनेझैँ अप्ठ्यारो त बुझ्नेहरूलाई नै हो । आफूले थाहा नपाउञ्जेल घरमा आएका बेला दलितलाई बाहिर दलानमा खाना दिँदा केहीजस्तो लाग्दैनथ्यो, तर जब बुझ्दै गइयो, किन यस्तो गरेको होला ? उनीहरू र हामीमा के फरक छ र ? भन्ने प्रश्न आफूभन्दा ठूलालाई दोहो-याइराखियो । वास्तवमा दलित र क्षेत्री–बाहुनबीच खासै केही फरक नै छैन । भाषा एउटै छ, अनुहार उस्तै छ । मङ्गोलियन या मधेसी भनेर जसरी हामी बाहिरी रूप हेरेरै चिन्छौँ, दलित या क्षेत्री बाहुन भनेर रूप हेरेर र बोली सुनेर छुट्याउन सकिँदैन । सबै कुरा उस्तै हुँदा पनि दलितले भोग्नुपरेको विभेद आश्चर्यको पराकाष्ठा हो ।
हामी पहाडमा जन्मिएर हुर्किएका । मधेसमा रहेका नातेदारहरूलाई भेट्न पहिलोपल्ट मधेस (सप्तरी) झर्दा त्याहाँ मधेसीलाई गरिएको व्यवहारले अचम्मै बनाएको थियो । हलो जोत्न या अन्य काम गर्न आएका कपाल फुलेका हजुरबा र बुबाका उमेरका व्यक्तिलाई तिमी र तँ भनेर सम्बोधन गरेको सुन्दा मलाई कानै बिझाएको थियो र सोधेकी थिएँ– यसो भन्दा उहाँहरू रिसाउनुहुन्न ? किन त्यसो भनेको ? गाउँमा हामी आफूभन्दा ठूला सबैलाई नै आफ्नै परिवारका सदस्यलाई जस्तै गरी आदर सम्मान गर्दै हुर्किएकाले मधेसमा उहाँहरूलाई गरिएको व्यवहारले मन नै खिन्न बनाएको थियो । वल्लो–पल्लो घरका छिमेकी बनेर बसेका राई र क्षेत्री परिवारबीच अहिले पनि हामीकहाँ उस्तै मेलमिलाप र सौहार्दता छ । कहिलेकाहीँ कसैले जातीय कुरा ल्याएर आफूलाई ‘तथाकथित उच्च वर्गीय’ भनिदिँदा भन्न मन लाग्छ, त्यो माझकिरातको क्षेत्री परिवारमा म निवेदन हालेर जन्मिएकी होइन, यसमा मेरो के दोष छ र ? कतिपय ठाउँमा यो कुरा भनिएको पनि छ ।
‘तपाईंजस्तो मान्छेले जातजातिको कुराको विरोध गर्दा दु:ख लाग्यो’ गत हप्ता प्रकाशित मेरो लेख ‘मन्द विषको असर’ पढेपछि केहीले यसप्रकारको र केहीले चाहिँ अलि धम्कीकै भाषामा प्रतिक्रिया दिनुभयो । राम्रो, ठीक र सही भन्नेहरूको तुलनामा यसप्रकारको प्रतिक्रिया दिनेहरूको सङ्ख्या न्यून भए तापनि यसलाई सम्बोधन गर्नैपर्ने ठानेर यी माथिका केही सन्दर्भहरू प्रस्तुत गरेकी हुँ । म जातजातिको मुद्दाको विरोधी होइन, साम्प्रदायिकताको विरोधी हुँ । साम्प्रदायिकता कुनै पनि मूल्यमा मुलुक र समाजको हितमा हुँदैन । विश्वमा त्यस्ता केही मुलुकहरू छन् जसले साम्प्रदायिकता भड्किएका कारण ठूलो क्षति व्यहोरेका छन् । हाम्रो मुलुकमा जातिगत विभेद अवश्य एउटा मुद्दा हो, तर जातजातिका नाममा साम्प्रदायिकता यसको समाधान होइन, झनै ठूलो समस्या हो । हामीकहाँ समावेशिताको नाममा प्राय: प्रतिनिधित्वलाई मुद्दा बनाइन्छ । प्रतिनिधित्व आवश्यक छ, तर आत्मसम्मान र हेर्ने दृष्टिकोणमा परिवर्तन अहिलेको आवश्यकता हो । साथै सबैभन्दा ठूलो चुनौती पनि यही नै हो । जबसम्म थालाखामको धार्के विकलाई घर, मन्दिर, पानी–पँधेरा सबैतिर सम्मानित व्यवहार गरिँदैन तबसम्म काठमाडौंमा हिरालाल विश्वकर्मा मन्त्री हुनुले खासै फरक पार्दैन । मधेसीको सवालमा पनि यही नै हो । काठमाडौंका सडक–सडकमा बडो कठिन परिश्रमका साथ सस्तोमा तरकारी खुवाउने किसन पासवानलाई जबसम्म भाइ यता आउनुस् त भन्नुको साटो ए भइया यहाँ आ त भनिराखिन्छ या गाउँमा खेत जोत्न गएको अभारी मण्डललाई ए… जलखाई खान आइज भन्नुको साटो दाइ÷भाइ जलखाई खान आउनुस् भनिँदैन तबसम्म मधेसी समुदायका डा. रामवरण यादव यो देशको राष्ट्रपति, सर्वोच्च पदप्राप्त व्यक्ति भन्नुको खासै अर्थ रहँदैन । प्रतिनिधित्वको सवाल महत्र्वपूर्ण त छ, तर त्योभन्दा ठूलो सवालचाहिँ इज्जत र आत्मसम्मानको हो । समतामूलक व्यवहार र समातनाको दृष्टिकोणको हो ।
कतिपय कुरामा पहिला र अहिले हेर्ने दृष्टिकोणमा फरक आएको छ, यो सबै एकैपटक परिवर्तन हुने कुरा पनि होइन । बुझेपछि झनै कठिन भन्ने कुराचाहिँ जिन्दगीका हरेक मोडमा अनुभव गर्दै अघि बढ्दै गरिएको छ । पहिला–पहिला कुनै कार्यक्रममा जाँदा ड्यासमा कस्ता मान्छे छन्, को छन् खासै मतलब लाग्दैनथ्यो । तर, हिजोआज एकै खालका मानिसहरू बसेको देखियो भने यो ड्यासमा यसो सारी या कुर्ता लगाएका, आँखा चिम्सा या नाक थेप्चो भएका, विभिन्न वर्णका मानिस पनि भएका भए कति राम्रो हुने थियो जस्तो लाग्छ । सबै नेपालीले समान हैसियतमा ससम्मान जीवनयापन गर्ने दिन समावेशी सोच र व्यवहारबाट आउँछ न कि साम्प्रदायिकताबाट । पृथकतावादीहरूले साम्प्रदायिकताको कुरा गर्छन्, साम्प्रदायिकताले जातिगत या क्षेत्रीयबाहेक अरूको अस्तित्व स्वीकार नगर्ने मात्र होइन, घृणा नै फैलाउने काम गर्छ, यसले राष्ट्रियता भन्दैन, आफ्नोपनले अर्थ राख्दैन । त्यसैले म सम्प्रदायिकताविरोधी हो न कि जातजातिविरोधी ।
प्रतिक्रिया