साउन र भदौंमा मात्रै साढे ७७ करोडको खसी बोका आयात

साउन र भदौंमा मात्रै साढे ७७ करोडको खसी बोका आयात


छविलाल बगाले
कृषिप्रधान देश नेपालमा मागको ८५ प्रतिशतभन्दा बढी खसी बोका आयात हुन्छ । किसान बाख्रापालनबाट पलायन हुनु र युवाको बैदेशिक रोजगारप्रतिको मोहका कारण आन्तरिक मागअनुसार खसी बोका उत्पादन नहुँदा आयातको दर निकै उच्च छ ।

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा मात्रै ७७ करोड ५० लाख १५ हजार मूल्यका खसी बोको आयात गरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार भारत र चीनबाट साउन र भदौमा १ लाख १ सय ८५ वटा खसीबोका, च्याङ्ग्रालगायतका पशु नेपाल भित्र्याइएको हो । गत बर्षको सोही अवधिमा ६० करोड २१ लाख मूल्यका ८३ हजार ८ सय खसी बोका आयात गरिएको थियो । बाह्य मुुलुकबाट भित्र्याइएको खसीबोकाबाट चालु आर्थिक बर्षको २ महिनामा सरकारले ३ करोड ९० लाख र गत आर्थिक बर्षको सोही अवधिमा ३ करोड १ लाख राजस्व संकलन गरिएको भन्सार विभागका प्रवक्ता शिव भण्डारी बताउँछन् । उनका अनुसार व्यापार घाटा बढाउनेमध्ये खसी बोका आयात पनि एक हो ।

चाडबाडमा मासुको उपभोग अत्याधिक
दशैं, तिहारजस्ता चाडपर्वका लागि अझै ठूलो परिणाममा खसीबोका आयात हुने आंकलन छ । दशैं नजिकएसँगै काठमाडौं उपत्यकासँगै मुलुकभर चौपाया खरिद–बिक्रि बढेको छ । दसैंका बेला उपत्यकामा मात्रै ६० देखि ७० हजार खसीबोका खपत हुने चौपाया खरिद–बिक्रि सेवा संघका सदस्य भिमसेन थापाको भनाई छ । उनका अनुसार दशैंको लागि अधिकांश खसी बोका आयात भारतबाटै हुने गरेको छ । उनका अनुसार खसीबोका र भेडाच्याङ्ग्रा आयातका लागि अष्टमी, नवमीअघिको एक सातामामात्र झण्डै ७० देखि ८० करोड रुपैयाँ बाहिरीने गर्दछ । मासुको अत्यधिक खपत गर्ने परम्पराका कारण अन्य समयको तुलनामा दशैंमा मासुका लागि चौपाया आयात अत्यधिक हुने गरेको व्यवसायी थापा बताउँछन् । ‘नेपालमा मासुकै लागि वार्षिक रुपमा १० अर्ब रुपैयाँको हाराहारीमा रकम बाहिरिने तथ्यांक छ ।’ उनले भने, ‘नेपालमा वार्षिक २८ अर्ब रुपैयाँ मासु खपत हुने गर्दछ ।

सरकारसँग अनुदान र सहुलियत कर्जा माग
उनले सरकारले अनुदान र सहुलियत कर्जा दिए बैदेशिक रोजगारीमा जाने युवालाई पशुपालनतर्फ आकर्षित गर्न सकिने बताउँछन् । ‘स्थानीय खसी र भारतबाट आएका खसीको मुल्य एकै छ । यसले किसानलाई मार परेको छ ।’ उनले भने, ‘सरकारले नेपालमै उत्पादन भएका खसी बोकाको मुल्य आयात गरिएकोभन्दा बढि हुन्पर्दछ । यसमा विभेद गरिएको छ ।’

भारतबाट मात्रै ८५ प्रतिशत खसीबोकाको आयात
नेपालको माग धान्नकै लागि खसी बोकाको ८५ प्रतिशत आयात भारतको उत्तर प्रदेशबाट हुन्छ । केही च्यांग्रा छिमेकी देश चीनबाट पनि भित्रिने गरेको व्यवसायीहरु बताउँछन् । । गत दुई महिनामा ७ करोड ३ लाख बराबरका तयारी माछा पनि भित्रिएको छ ।
चौपाया खरिद–विक्रीमा व्यावसायीको मनपरी मुल्य
दशैंमा खपत हुने चौपाया खरिद–विक्रीमा व्यवसायीपिच्छे फरक फरक मुल्य पाइएको छ । यसमा व्यावसायीले आफूखुसी गर्दै आएका छन् । यसका लागि हालसम्म कुनै मापदण्ड नै तोकिएको छैन ।
माग अनुसारको आपूर्तिले मूल्य निर्धारण हुँदै आएको महासंघको भनाइ छ । ‘सरकार र व्यवसायी कसैले पनि हालसम्म मूल्य निर्धारणका लागि हालसम्म मापदण्ड बनाएका छैनन् । मूल्य निर्धारणको मापदण्ड नहुँदा उपभोक्ताले मासुमा ठगिँदै आएको गुनासो लामो समयदेखि गर्दै आएका छन् । व्यवसायीले दशैंमा मनोमानी गर्ने र अस्वस्थ प्रतिस्पर्धाका कारण उपभोक्तालाई मार पर्न नदिन सरकारले पनि खसीबोका र भेडाच्याङ्ग्रा कारोबार गर्ने गरेको छ । यसपटक खाद्य संस्थानले विभिन्न जिल्लाबाट २ हजार ५ सय खसीबोका र भेडाच्याङ्ग्रा उपत्यका ल्याउने तयारी गरेको छ । संस्थानले यसपटक १ हजार ५ सय खसीबोका र १ हजार भेडाच्याङ्ग्रा उपत्यका ल्याउँदैछ । संस्थानले ती चौपायाको मासु बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा उपभोक्तालाई विक्री गर्ने योजना बनाएको छ ।

नेपाललाई कृषिप्रधान देशका रुपमा चिनिए पनि चाडबाडमा आवश्यक पर्ने मासुमा पनि भारतकै भरपर्नु पर्ने बाध्यता छ । सरकारले युवालाई अनुदान, सहुलियत कर्जा र आवश्यक तालिम दिने हो भने स्वदेशभित्रै मुलुकका लागि आवश्यक पर्ने मासु उत्पादन गर्न सकिन्छ ।