हरेक दलको अन्तरविरोध एकै विचारका दुई धार

हरेक दलको अन्तरविरोध एकै विचारका दुई धार


bichar– इन्द्रबहादुर बराल
नेपालको राजनीतिक वृत्तमा प्रभावकारी उपस्थिति देखिएका प्रमुख दलहरूमा कुनै न कुनै रूपको अन्तरविरोध र अन्तरसङ्घर्षका धाँजाहरू प्रस्टसँगै उदाङ्गिएका छन् । यिनै अन्तरविरोध वा अन्तरसङ्घर्षलाई लिएर सम्बन्धित दलहरूमा आकाशै खस्यो वा धर्ती नै फाट्योजस्ता अनर्गल हल्लाहरू मच्चाएर आ–आफ्ना दलमा आफू हावी हुने प्रवृत्ति बढ्दो देखिन्छ । तसर्थ दलहरूमा हुने अन्तरविरोध या अन्तरसङ्घर्षको यथार्थता के हो भनी केलाउने प्रयास गरिनुपर्छ ।
वास्तवमा राजनीतिक दलमा देखिने अन्तरविरोध अर्थात् गुट–उपगुटभित्र राजनीतिक एवम् सैद्धान्तिक आधारहरू पनि विद्यमान छन् भन्नु अत्युक्ति नहोला । एक नदीको दुई किनारा सत्य हो, तर नदी त एउटै हो भनेजस्तै एउटा विचारका दुई धार स्वाभाविक हो तर त्यसको गन्तव्य एउटै हुनुपर्छ । एउटै गन्तव्यका लागि निश्चित गरिने मार्ग निर्धारणमा अलग सोच र दृष्टिकोण सहायक सिद्ध हुन सक्छ । एकै राजनीतिक सिद्धान्त र विचारमा फरक दृष्टिकोण, हेराइ र बुझाइबाट उत्पन्न हुने क्रिया र प्रतिक्रिया नै अन्तरविरोध वा अन्तरसङ्घर्षका कारकतत्व हुन् । यो यथार्थताबाट अलग भएर हेर्ने दृष्टिकोण वस्तुपरक हुन सक्दैन । जीवन र जगत्का हरेक पाटोलाई नियालेर हे-यौँ भने निश्चय पनि त्यहाँ अन्तरविरोध र अन्तरसङ्घर्षका प्रस्ट सङ्केत मिल्दछ । त्यसैले राजनीतिमा कागजमा जस्तो व्यवहारमा बिनारोकतोक फड्को मार्न सकिँदैन । अहिलेको राजनीतिक परिदृश्यमा प्रमुख भूमिका निर्वाह गर्ने दलहरू अन्तरविरोधको घेरादेखि बाहिर देखिँदैनन् । आफैँभित्र अन्तरविरोध र सङ्घर्षका चोटिला प्रहारको सामना गरिरहेकै छन् ।
सत्ता गठबन्धनका सबै दलहरू त्यही अन्तरविरोधको सिकार भइराखेका छन् । प्रमुख मानिएका दलभित्रका अन्तरसङ्घर्षका कारणहरूको खोजी हुन आवश्यक छ । हरेक दलभित्र उदार र परम्परावादी (जड) सोचहरूले डेरा जमाएर बस्ने गरेको पाइँदोरहेछ, यदि त्यसलाई सूक्ष्म रूपमा बुझ्ने कोसिस गरियो भने । जबसम्म हरेक विवाद र विमतिको गहिराइमा पुगिँदैन तबसम्म समस्याको जडमा पुग्न सकिँदैन । समस्याको गहिराइमा पुगेपछि समाधान त्यति जटिल र सहज हुँदैन । दलहरूका अन्तरविरोध र सङ्घर्षको सतही र आफ्नो स्वार्थअनुकूल व्याख्या गर्ने प्रवृत्ति नै अहिलेको प्रमुख समस्या हो भन्दा फरक नपर्ला । अन्तरविरोध र सङ्घर्षका स्रोतहरूलाई पत्ता लगाउनु नै समस्या समाधानको एक बाटो हो । यहाँ त पार्टीभित्र संस्थापन पक्षको सोच र फरक धारले ‘आफ्नै कुर्सी खोस्न आएको’ आँखाले हेर्दा अर्को पक्ष वा फरक धार असन्तुष्टजस्तो देखिन गई पार्टीमा विभाजनको खाडल बढ्दै गएको महसुस भएकोे पाइन्छ । तर, यथार्थतामा त्यस्तो होइन । एउटै विचार, एउटै सिद्धान्त र दर्शनमा विश्वास राख्नेहरूमा दुई धार हुनु भनेको एउटै नदीको दुई किनारा हुनु हो । सत्यलाई नकार्दा गन्तव्यमा पुग्न सम्भव हुँदैन । त्यसैले जसरी एउटै नदीका दुई किनारा बन्दछ त्यसैगरी राजनीतिमा एउटै सैद्धान्तिक, वैचारिक आधारमा निर्माण भएको दलमा दुई धार हुनु अत्यन्त स्वाभाविक हुन्छ । दुई धारको अन्तरसङ्घर्ष वा विरोधले दलमा निखारपन आउँछ भन्ने विश्वासको आधारमा पार्टीभित्रका अन्तरविरोध वा सङ्घर्षका धारलाई समायोजन गर्दै जाँदा पार्टीहरू आफ्नो गन्तव्यमा पुग्न धेरै समय लाग्दैन । पार्टीभित्रको अन्तरविरोधलाई हाउगुजी ठानियो भने मानिस आफ्नै छायाबाट तर्सेजस्तै हो । त्रसित मानसिकताले ग्रसित दल र तिनका नेताबाट मुलुकले निकास पाउन कठिन हुन्छ । तसर्थ यहाँ यत्ति मात्र भन्नु ठीक होला कि अब प्रमुख राजनीतिक दल र तिनका नेताहरू आफ्नै छायाबाट नतर्स । एउटा भनाइ छ– चन्द्रसँग चाँदनी र मानिससँग छाया धुव्रसत्य हो । त्यो सत्यले नेपाली राजनीतिकर्मीलाई पनि शिक्षा दिएकै हुनुपर्ने होइन र ?
हरेक राजनीतिक दलको गठनसँगै विघटनका नमीठा क्रम–उपक्रमहरू पनि निरन्तर चलिरहेका छन् । नेपालको सन्दर्भमा यो एउटा निरन्तर प्रक्रियाजस्तै भएको छ । पार्टीहरू गठन र विघटनको पछाडि निश्तित राजनीतिक एवम् सैद्धान्तिक आधार भेटिन्छ । पक्ष र विवक्षमा आउने सैद्धान्तिक बहस र विमर्शले पार्टीलाई नयाँ ऊर्जा थपेको हुन्छ र पार्टीहरू जीवन्त रहन्छन् । जीवन्त पार्टीमा वैचारिक, सैद्धान्तिक बहस र छलफलले अन्ततोगत्वा ‘वादे वादे जायते तत्ववोध’ हुनेमा कुनै शङ्कै रहँदैन । त्यसैले मानिस आउने–जाने गरी नै राख्दछन् । तर, स्थायी पार्टीहरू आफ्नै गतिमा क्रियाशील भइरहन्छन् । आजको दुनियाँमा मानिसलाई खानाले होइन विचारले निर्देशित गरिसकेको छ । त्यसैले खानाको राजनीति गर्नेहरू विस्तारै उदार र खुला अर्थनीतिको बाटो समात्न थाले । पेटका लागि राजनीति गर्नेहरूले के बुझे भने पुँजीको विकास खुला, उदार, प्रतिस्पर्धात्मक अर्थ राजनीतिले मात्र गर्न सक्छ भन्ने तथ्य ढिलै भए पनि बुझ्न थाले जुन खुसीको कुरा हो । चीनमा देङ स्यायो पिङले लिएको उदार अर्थनीति वरदान सावित भई विश्व राजनीतिमा झण्डै–झण्डै एकाधिकार जमाउन लागेको अमेरिकालाई चुनौती दिन सक्यो । चिनियाँ राजनीतिमा पक्कै पनि देङले ठूलै अन्तरविरोध वा सङ्घर्ष गर्नुपरेको थियो होला । तर, पार्टीहरूमा हुने अन्तरविरोध वा सङ्घर्ष भने रचनात्मक र निर्माणात्मक दिशामा अभिपे्ररित हुनुपर्दछ । सकारात्मक सोचका साथ पार्टीभित्रका अन्तरविरोधले अन्ततः पार्टीहरूलाई सुनिश्चित भविष्यतर्फ दिशानिर्देश गर्दछ । तसर्थ दलहरूमा अन्तरविरोध वा सङ्घर्ष एक नदीका दुई किनारा हुन् । जसरी एउटै स्रोतबाट बगिराखेका नदीहरूमा दुई किनारा हुन्छन् त्यस्तै एउटै राजनीतिक, सैद्धान्तिक एवम् वैचारिक धरातलबाट निर्माण भएका वा हुने दलहरूमा पनि दुई धार स्वाभाविक हुन्छ । त्यसकारण दुई धारलाई मिलाएर लाने क्षमता नेतृत्व वर्गले राख्न सक्नुपर्दछ । कुनै एक पार्टीमा तेस्रो धारको कल्पना गरियो भने त्यस्तो तेस्रो धार चमेरो धार हुन्छ र जता अवसर पायो त्यतै ढल्कने कुनै राजनीतिक सैद्धान्तिक अडान नभएको अवसरवादी गुटको रूपमा लिन सकिने झुण्डजस्तै हो । तसर्थ राजनीतिमा तेस्रो धार भन्ने हुँदैन, तेस्रो धारको भूमिका हदैसम्म भए संयोजनकारी मात्र हुनसक्छ र संयोजनकारी भूमिका निर्वाह गरेबापत पद र प्रतिष्ठासँग मोलतोल हुने गर्दछ । राजनीतिमा तेस्रो धार अवसरवादीहरूको च्याँखे थपाई मात्र हो । तसर्थ कुनै पनि राजनीतिक दलमा देखिने अलग धारले पार्टीभित्र अन्तरविरोध र अन्तरसङ्घर्ष गरिराखेको हुन्छ । त्यस्तो अन्तरविरोध र अन्तरसङ्घर्षमा राजनीतिक सैद्धान्तिकताले निर्देशित गरेको हुन्छ । तर, व्यवहारमा संस्थापन पक्षले अन्तरविरोधी एवम् अन्तरसङ्घर्षरत समूहलाई विभाजनकारी वा विखण्डनकारीको आरोप लगाएर आफ्नो बचाउ गरेको पाइन्छ । लोकतान्त्रिक शक्ति वा पार्टीले अन्तरविरोधलाई लोकतान्त्रिक विधि र प्रक्रियाबाटै आगामी चुनौतीलाई सामना गर्ने शक्ति सञ्चयको बाटो समात्नुपर्छ । शक्ति सञ्चयको निम्ति पार्टीहरूले जिम्मेवारीको बाँडफाँड योग्यता, क्षमता र इमानदारीका आधारमा उदारतापूर्वक हात माथि पार्नु एक मात्र विकल्प हो । त्यसमा पनि सत्ता गठबन्धनको प्रमुख घटकको प्रमुख नेता अझ बढी उदात्त चित्तले अनुपम उदाहरण बन्नुपर्दछ । अन्यथा राष्ट्रपतिको दायित्व निर्धारित समयमा पूरा नहुन पनि सक्छ । त्यसैले फरक विचारलाई सकारात्मक रूपमा ग्रहण गर्दै शक्ति सञ्चयको स्रोत बनाउनुपर्छ र विचारको विविधता एक नदीका दुई किनाराको वास्तविकताजस्तै बुझ्न जरुरी छ । जुन अत्यन्त स्वाभाविक हो ।