साढे २ बर्षमै सकियो ८.८ मेगावाटको रुदी ‘ए’ को निर्माण

साढे २ बर्षमै सकियो ८.८ मेगावाटको रुदी ‘ए’ को निर्माण


पछिल्लो दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको निर्माण कार्य धमाधम सम्पन्न हुने चरणमा पुगेका छन् ।

सरकारी स्वामित्व एवं लगानीका आयोजनाको निर्माण कार्यमा आशातित प्रगति नभइरहेको बेला निजी क्षेत्रले आक्रामक रूपमा आयोजना निर्माण सम्पन्न गर्न थालेका हुन् ।

केही दिन पहिले मात्रै लमजुङमा नै आयोजनास्थल रहेको २५ मेगावाट क्षमताको दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको थियो । यस्तै, दोलखामा आयोजनास्थल रहेको २५ मेगावाट क्षमताको सिङ्गटी जलविद्युत् आयोजनाको पनि सुरुङ निर्माण सम्पन्न भएको थियो ।

यसै क्रममा लमजुङ र कास्कीको सिमानामा पर्ने रुदी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ । स्थानीय रुदी खोलामा निर्माण गरिएको ८ दशमलव ८ मेगावाट क्षमताको सो आयोजना निर्माण सम्पन्न भएको हो ।

आयोजनाले १५ दिन नेपाल विद्युत् प्राधिकरणलाई परीक्षणको समय निःशुल्क विद्युत् दिएको छ भने एक महीनाभित्र व्यावसायिक विद्युत् उत्पादन थालिने आयोजनाले जनाएको छ । असोज २० गतेदेखि नहरमा पानी राखेर परीक्षण थालिएको छ। नेपाल विद्युत् प्राधिकरणसँग व्यावसायिक विद्युत् उत्पादन मिति (सीओडी) गत वर्षको असारमा नै तोकिएको थियो । तर निर्माण कार्यमा केही ढिलाइ भएपछि आयोजनाले व्यावसायिक उत्पादन मिति पर सारेको हो।

रुदी ‘ए’ जलविद्युत्को २०६९ माघ २८ गते विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो। निर्माण शुरु भएको दुई वर्ष पाँच महीनाको अवधिमा निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ। हिउँदको समय आठ रुपैयाँ ४० पैसा र बर्खायाममा रु ४ रुपैयाँ ८० पैसामा विद्युत् खरिद सम्झौता भएको हो।

एक अर्ब ५० करोड लागतमा आयोजना निर्माण भएको हो। २०७४ असार मसान्तभित्र सक्ने भनिए पनि ०७३ को असारमा बाढीपहिरोले निर्माणाधीन आयोजनामा क्षति पुर्याएपछि निर्माण अवधि लम्बिएको थियो। त्यसअघि भूकम्प र नाकाबन्दी साथै पहिरोले आयोजनाको निर्माण कार्य प्रभावित बनेका आयोजनाका प्रोजेक्ट म्यानेजर सरोज भट्टराईले बताए।

विद्युत्गृहमा ४ दशमलब ४ मेगावाटका दुई पेलटन टर्बाइन जडान गरिएको छ। अहिले इन्टेक र पेनस्टकमा पानी राखेर परीक्षण भइरहेको उनले बताए। लमजुङको क्व्होलासोंथर गाउँपालिका ५ सिङदीगाउँ र कास्कीको मादी गाउँपालिका–८ सिङदीबेसीमा आयोजनाको बाँध निर्माण गरिएको छ।

आयोजनामा ६ किलोमिटर लामो पेनस्टक पाइपमार्फत पानी हालिएको छ। मादी–९ बालुवाबोसीमा निर्माण गरिएको विद्युत् परीक्षण उत्पादन शुरु गरिएको छ। आयोजनाको सिभिलतर्फ हाइ हिमालय हाइड्रो कन्सट्रक्सन, हाइड्रो मेकानिकलतर्फ नर्थ हाइड्रो एण्ड इञ्जिनीयरिङ र इलेक्ट्रो मेकानिकलतर्फ तोशिबा प्लान्ट सिस्टम एण्ड सर्भिस कर्पोरेशनले काम गरेको छ।

आयोजानको प्रवर्द्धकमा विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट प्रालि रहेको छ। आयोजनामा प्रवर्द्धकको ३० प्रतिशत स्वपूँजी रहेको छ भने सानिमा बैंकलगायतले ७० प्रतिशत ऋण लगानी गरेका छन्।

प्रवर्द्धक कम्पनीले ६ दशमलव ६ मेगावाटको रुदी ‘बी’ जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ। उक्त आयोजनाको पावरहाउसको सिभिलतर्फको काम सकिएको छ।